वि.सं.२०८१ जेठ ७ सोमवार

विद्युतीय ट्याक्सी प्रकरण : ‘कमिसनले सांसदको दिमाग खराब’ (भिडियोसहित)

कानूनी कुरा भने अर्कै

नेपालीमा एउटा उखानै छ, ‘आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङ्मा जुम्राको शंका गर्ने’ । हाम्रा शासक तथा नीति निर्माताहरुले यो उखान पटक–पटक चरितार्थ गरेका छन् । भरखरै एक जना स्वतन्त्र सांसदले पनि यो उखान दुरुस्तै उतारे ।

याे पनि पढ्नुहाेस्…

अदालतको बेन्चमै आइपुग्छन् विचौलिया, न्यायमूर्तिले पीडितलाई देख्दैनन् सुन्दैनन्

मन्त्री र प्रधानमन्त्रीहरु इमानदार नभएको तथा भ्रष्टाचारमा लिप्त भएको भनी कड्किने सांसद हुन्, डा. अमरेसकुमार सिंह । आगामी आर्थिक वर्षको बजेटमाथि चलिरहेको छलफलका क्रममा सर्लाही ४ बाट स्वतन्त्र सांसदका हैसियतले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने डा. सिंहले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट खन्याउने गरेको आरोप लगाए । आफ्नो निर्वाचन क्षेत्रमा भएको बजेट समेत साटसुट्टै काटेर योजना अलपत्र पारेको गुनासो गरेका उनी एकाएक बागमती प्रदेश सरकारले ल्याएको विद्युतीय ट्याक्सी सञ्चालनको मापदण्डतिर हानिए ।

उनले संघको विभागीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गरिरहेका मन्त्री प्रकाश ज्वालातर्फ संकेत गर्दै, ‘भौतिक पूर्वाधार तथा यातायातमन्त्री जी यहीँ हुनुहुन्छ । उहाँले नयाँ भ्रष्टाचारको लागि चाँजोपाँजो मिलाउँदै हुनुहुन्छ ।’ चिउँडोमा हात लगाई गम्भीर भई मन्त्री ज्वाला सांसद सिंहको सम्बोधनतिर घोत्लिए । सांसद सिंह अझ अघि बढेर भन्छन्, ‘बागमती प्रदेश सरकारले इलेक्ट्रिक भेहिकल ट्याक्सी प्रयोग गर्ने निर्णय गरेकामा पहिलेदेखि जुन चौधरी ग्रुपको ट्याक्सी चलिरहेको थियो । त्योसँग मिलेमतो गरेर फेरि पेट्रोलडिजेल कै ट्याक्सी चलाउने प्रपन्च गरिरहनु भएको छ ।’

सांसद सिंहले वाक्य पनि राम्ररी नटुंग्याई ‘पैसा बुझिसकेको र निर्णय गर्न मात्रै बाँकी रहेको’भनी गोलमोटोल आरोप लगाउँछन् । फेरि उनी झोंकिएर के तपाईहरु भ्रष्टाचार गर्नकै निम्ति मन्त्री, प्रधानमन्त्री बन्नुहुन्छ ? भन्ने प्रश्न गर्छन् । योजना काटे पनि कम्तिमा भ्रष्टाचार नगर्नुस् भनी सुझाव समेत दिन्छन्, सांसद सिंह ।

हेरौँ सांसद सिंहले प्रतिनिधि सभामा गरेको सम्बोधन

सांसद सिंहलाई बागमती प्रदेश सरकारले ल्याएको मापदण्ड र त्यसअघि यातायात व्यवस्था विभागले जारी गरेको मापदण्डबारे दुई कौडीको ज्ञान रहेनछ । अर्कोतिर उनले लामो संघर्षपछि पीडित व्यवसायीलाई उच्च अदालतले गरेको न्यायप्रति कुनै संवेदनशीलता नअपनाएको देखियो । दाँया बायाँ कतै हेर्नु छैन, पीएचडी डाक्ट’साबलाई बोल्न पाए भइहाल्यो ।

अर्कालाई भ्रष्टाचार एवं सुशासनको कक्षा दिन रुचाउने डाक्ट’साबले त्यो कुरा के, किन र कसरी बकेका रहेछन्, भन्ने पोल खुल्न धेरै बेर कुर्नै परेन । संघीय संसदको गेटमा उनी खप्तडटिभीको क्यामेरामा क्याप्चर भइहाले । खप्तडटिभीसँगको प्रतिक्रियामा उनले के बोले पत्तो पाएनन् । तर, हामीले तथ्यलाई जस्ताको त्यस्तै भिडियोमा राखेका छौँ ।

हेरौँ, उनले खप्तडटिभीसँग बोलेको भिडियो

यो भिडियोमा उनले आफु संघीय सांसद हुँ भन्ने कुराको हेक्का समेत नराखेर बागमती प्रदेश सरकारले ल्याएको मापदण्ड नै ठीक भनेका छन् । जसरी उनले विद्युतीय सवारी नै अबको विकल्प हो भनेर ठोकुवाका साथ भन्न सके त्यसरी विद्युतीय सवारी भित्र्याउनका लागि रचिएको असली कथा र त्यसका पटकथाकारबारे भन्न सकेनन् । कुरा गर्दै जाँदा, हामीले प्रश्न नसोध्दै ‘टाटा’शब्द उनको मुखबाट फुत्त निस्किन्छ । जब बागमती प्रदेश सरकारले टाटालाई मात्र लाभ हुने गरेर ऐन, नियम र मापदण्ड जारी गरेका कारण संघ सरकारले कानूनतः नयाँ मापदण्ड जारी गर्न लागेको कुरा झिकियो, अनि डा. सिंह हडबडाउँछन् । र, सवाल जवाफबाट भाग्न खोज्छन् ।

जसरी उनले भिडियोमा बागमती प्रदेश सरकारले पेट्रोलियम पदार्थको आयात कम गर्न, वातावरणमैत्री विद्युतीय सवारी सञ्चालन गर्न तथा मुलुकमै उत्पादन भएको विद्युत खपत गरेर व्यापार घाटा कम गर्न बागमती प्रदेश सरकारले कानून ल्याएको जिकिर गरे । त्यस अनुसारले बागमती प्रदेश सरकारले मापदण्ड जारी गरेको कुनै कोणबाट ठहरिँदैन । बरु, उसले पहिले चलिआएका सवारीलाई विना विकल्प विस्थापित गरेर कुनै अमुक विक्रेताका गाडीलाई स्थापित वा विक्रिवितरण गर्न चाहेको ठहर्छ ।

अनि, टाटाले ऐन र मापदण्ड बनाउन प्रदेश सरकार र कर्मचारीलाई प्रभावित पारेको कुरा आएपछि डा. सिंह संसद भवन परिसरबाट हतारहतार भागे । नभन्दै उनी ‘टाटा’कै नेक्सन ईभी चढ्दा रहेछन् । उनको असलीयत ठाउँको ठाउँ पत्ता लागिहाल्यो । भाग्दै गरेका डा. सिंहको टाटा नेक्सन संघीय संसद भवनको पश्चिमी गेट पुग्दा नपुग्दै खप्तडटिभीको क्यामेरामा कैद भयो ।

यहि हो, उनले चढ्ने गरेको टाटा नेक्सन ईभी

यत्ति कुरा बाहिर आइसकेपछि पनि अब डा. सिंहले मन्त्री र प्रधानमन्त्रीले मात्रै भ्रष्टाचार गरे भन्न सुहाउँछ ? अर्कालाई धारेहात लाउँदै गर्दा आफ्नो अनुहार पनि एक पल्ट ऐनामा हेर्नु पर्ला कि, कसो माननीय ज्यू ? तपाईँबारे यत्ति कुरो जानीसकेपछि पनि सांसदलाई संसदमा चर्कीचर्की बोल्ने उर्जा कहाँबाट आउँदो रहेछ भन्ने कुराको थप प्रमाण देखाइरहनु पर्ला र ?

के हो ? गोलचक्कर
अध्ययन गर्दै जाँदा ‘जो चोर, उसैको ठूलो स्वर’ भन्याजस्तो । यो मापदण्ड बनाउने अधिकार र दायित्व संघ सरकार कै ठहर्छ । त्यसको अर्थ यातायात व्यवस्था विभागले चाँहि होइन । तर, गरियो त्यस्तै । मापदण्ड मन्त्रालयले बनाउनु पर्ने थियो । तर, विभाग साँढे पल्टिएर विगतमा आफैँ मापदण्ड बनाएको देखिन्छ , (२०७६–०८–२ मा)  । उच्च अदालतको उत्प्रेषणयुक्त आदेशले त्यही बोल्छ ।

हेरौँ, उच्च अदालत पाटनले परक फरक मितिमा विपक्षीहरुका नाममा जारी गरेका उत्प्रेषणका आदेश

कुरो यत्ति सपाट हुँदा हुँदै मन्त्री, कर्मचारी र सांसदहरु आफैँ जान्ने अर्थात्ओ ‘भर सिन्सेटिभ’ हुन खोज्छन् । यहाँनेर विभागले बनाएको मापदण्ड त कानूनविपरीत ठहरियो भने प्रदेशले मापदण्ड जारी गर्ने र कार्यान्वयनमा जाने कुरा झन् गलत भयो ।

कमिसन नडकार्नुस् माननीय ज्यू
अदालतले गरेका आदेश पनि नमान्ने, व्यवसायी तथा उपभोक्ताका कुरा पनि नसुन्ने र कमिसन कै बोलवाला चल्ने हो भने कसरी देश चल्ला ? जसरी यातायात व्यवसायीका नेता, केही व्यवसायी तथा कानून व्यवसायीहरु विक्री भए त्यसरी ऐन, कानून तथा नीति निर्माणको तहमा बसेका सांसदहरु विक्ने हो भने आम जनतामाथि कति अन्याय होला, त्यसको अलिकति पनि अड्कल छ ? सांसद ज्यू !

तपाईँलाई थाहा छैन भने एक पल्ट, ‘डोलनाथ खनाल नेतृत्वको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ, काठमाडौं महानगरपालिका, रामकृष्ण अधिकारीको स्वरोजगार यातायात प्रा.लि., किरण खड्काको कलंकीमाई सार्वजनिक ग्यास माइक्रो समन्वय समिति, तोयानाथ पोखरेलको स्मार्ट सिटी ट्याक्सी सर्भिस प्रालि र ज्योति बानियाँको उपभोक्ता हित संरक्षण मञ्च नेपाल’ कमिसनमा चुर्लुम्म भई मापदण्ड बनाएको यो दस्तावेज हेर्नुस्, माननीय ज्यू ।

संसद तपाईहरुको कमिसनको मोलमोलाई गर्ने थलो होइन । नागरिकको सार्वभौम थलो हो । जहाँ जनप्रतिनिधिले निष्पक्ष तथा निःस्वार्थ जनताका समस्या उठान गर्छन् । र, सरकारसँग त्यसको समाधान माग्ने गर्दछन् । न कि तपाइँले जस्तो चाप्लुसी र कमिसनको मोलमोलाई गर्ने ठाउँ होइन, संसद । यस्तो पवित्र थलोमा कमिसनको मोलमोलाई चल्नु हितकर हुँदैन । जनमतको अवमूल्यन हुन्छ । र, त्यसरी जनमतको अवमूल्यन गर्नेलाई जनता आफैँले ठेगान लगाउँछन् । यत्ति चेष्टा तपाईँलाई पक्कै हुनुपर्ने हो ।

खप्तडटिभी डटकमबाट प्रकाशित थप समाचार