वि.सं.२०८१ साउन ४ शुक्रवार

राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको उपाधि विजय र समीक्षालाई

विजय लिम्बु र समीक्षा राईले छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको उपाधि जितेका छन् । फ्रिस्टायल बेस्ट रन स्पर्धाको पुरुषमा विजय तथा महिलातर्फ समीक्षा पहिलो भएका हुन् ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ बसन्त राई दोश्रो तथा गजेन्द्र बर्देवा तेश्रो भए । महिलामा स्वाति श्रेष्ठ दोश्रो तथा अर्लिन लामा तेश्रो स्थानमा रहे । पुरुष, महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

रविभवनस्थित नाथम कलेजमा शनिबार भएको प्रतियोगिताका विजेतालाई संघीय सांसद् शोभिता गौतम, आयोजक संघका अध्यक्ष अच्यूत खनाल, महासचिव सत्य थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

प्रतियोगिताको पुरुषमा १ सय ५० तथा महिलामा ४० गरी १ सय ९० खेलाडी सहभागी थिए । शुक्रबार खेलाडीको छनोट प्रतियोगिता भने सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा भएको थियो । त्यसबाट पुरुष महिलामा समान १०–१० खेलाडी फाइनल चरणलाई छनोट गरिएको थियो ।

काठमाडौंमा राष्ट्रिय प्रतियोगिता भएको यो तेश्रो पटक हो । बाँकीका तीन संस्करण पर्यटकीय नगरी पोखरामा भएको थियो ।