वि.सं.२०८१ वैशाख २६ बुधवार

जिउदै मान्छेलाई ईट्टा भट्टामा पाेल्ने आलमलाई जन्मकैद

अहिले कारागारमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको सजाय सुनाइएको छ ।

काठमाडाै । ईट्टाभट्टामा पाँच जना मान्छेलाई जिउदै जआलमलाई जन्मकैद (२० वर्ष) को फैसला भएकाे हाे ।

जिल्ला अदालत रौतहटले आज उनलाई जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिएका छन् ।

पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए । नेपाली कांग्रेसका नेता आलम लामाे समयदेखि जेलमै रहेका छन् ।

२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको साविक गाविसको राजपुर फरहदवा वडा नम्बर ४ मा आलमका काका शेख इद्रिसको गोठमा बम बनाउँदै गर्दा विस्फोट भएको थियो । उक्त बिस्फोटमा परी मृत्यु भएका स्थानीय पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएकामा आलमले घाइते अवस्थामै रहेका उनीहरूलाई इटाभट्टामा जिउँदै जलाएको अभियोगपत्रमा उल्लेख छ ।

सरकारले मुद्दा दर्ता नै नगरेपछि सर्वोच्च अदालतको निर्देशनात्मक आदेशबाट उक्त घटनाको पुनः अनुसन्धान हुँदै २०७६ कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा ‘विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुर’ मा मुद्दा दर्ता भएको थियो ।

रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले २०७६ साल कात्तिक २९ गते आलमसहित पक्राउ परेका व्यक्तिहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।