वि.सं.२०८१ कात्तिक २८ बुधवार

दल विभाजनविरुद्ध सर्वोच्चमा रिट

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजन गरी गएका नेताहरुले गठन गरेको नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

यादवलेआज निर्वाचन आयोग र जसपा नेपाल छाडेर नयाँ दल गठनमा सहभागी भएका सांसदहरुलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

यादवले नयाँ दल दर्ता अवैधानिक रहेको भन्दै दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश पनि माग गरेका छन् ।

नयाँ दल दर्ताका लागि राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीमा केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्यको समर्थन चाहिनेमा संघीय संसदको ४० प्रतिशत सदस्य पुगे पनि केन्द्रीय समितिका ४० प्रतिशतले नयाँ दललाई समर्थन नगरेको यादवको जिकिर छ ।

‘म निवेदक अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिमा कुल ४०६ सदस्य रही रहेको र विपक्षी आयोगले नै सो संख्यालाई मान्यता दिएको अवस्थासमेत रहीरहेको अवस्थामा ४०६ सदस्यको ४० प्रतिशतले हुन आउने सदस्य संख्या अर्थात् १६३ जना केन्द्रीय समितिको अनिवार्य संलग्नता हुनुपर्दछ । जुन नभएको कारणबाट पनि गैरकानुनी रहेको छ’, रिटमा भनिएको छ । यो मुद्दा सर्वोच्च अदालतमा २ जेठमा सुनुवाइ हुनेछ ।