वि.सं.२०८१ असोज १ मंगलवार

‘चोरलाई चौतारो’ : शक्ति केन्द्रको आडमा वदनाम् जागृतिलाई बझाङमा ठूला योजनाको ठेक्का

डडेल्धुरामा ढिलासुस्ती गरेकाे भन्दै कारबाहीका लागि सिफारिस

बझाङमा विवादित छवि बनाएको निर्माण कम्पनीको नाम हो, जागृति निर्माण सेवा । ठाउँ–ठाउँमा ठेक्का लिएर अलपत्र पार्नेको सूचीमा पनि यो पहिलो नम्बर मै छ । ढिलासुस्तीको त कुरै नगरौँ ।

मापदण्ड पूरै पोलेर खाएको भन्दै कानूनी रुपमा डामिएको यो कम्पनीको हातखाली भने छैन । ठूला–ठूला योजनाका ठेक्का अहिले पनि यसैको कब्जामा छ । बझाङका ठेकेदार गगन रोकायाले आफ्नो व्यवसायको उत्तराधिकारी बनाएका छन्, छोरा पुस्कर रोकायालाई । उनले आफ्नो अनुहारमा आफैँले पूरै कालो पोतेपछि छोराको नाममा कम्पनी सारे । छोरा झन् के कम ? बाउ भन्दा बहत्तर निस्किए ।

अहिले जागृति निर्माण सेवाको एकल सेयर धनी तथा सञ्चालक हुन्, पुस्कर रोकाया । बझाङमा निर्माणाधीन सडकदेखि सार्वजनिक भवन निर्माणमा जागृति निर्माण सेवा कै रजगज छ । यो आर्थिक वर्षमा मात्रै करिब एक अर्ब लागतका ठूला विकासे योजना जागृति निर्माण सेवा कम्पनीले नै होल्ड गरिरहेको छ ।

जागृति निर्माण सेवाले यो आर्थिक वर्ष बझाङमा मात्रै ६ वटा ठूला विकासे योजना हत्याएको छ । जयपृथ्वी सडक खण्ड अन्तरगत लिमदेखि चैनपुरसम्म स्तरोन्नति, (लागत करिब २२ करोड) बित्थडचिर गाउँपालिकामा १५ शय्याको अस्पताल, (लागत १५ करोड), केदार स्यूँ गाउँपालिकाको १५ शय्या अस्पताल (लागत १७ करोड), छविसपाथिभेरा गाउँपालिकाको १० शय्या अस्पताल, (लागत १२ करोड), थलारा गाउँपालिका भवन, (लागत करिब ७ करोड), मष्टा गाउँपालिकाको पार्क निर्माण, (लागत करिब ३ करोड)लगायत योजनाको ठेक्का जागृतिले पाएको छ ।

यस्तो छ जागृति निर्माण कम्पनीको बदनाम पृष्ठभूमि, कैलालीमा ८ लाख जरिवाना

आर्थिक वर्ष २०७५–०७६ मा सडक तथा पुल निर्माणको काममा ढिलासुस्ती गर्ने ११ निर्माण कम्पनीहरू कारबाहीमा परेका थिए । सडक डिभिजन कञ्चनपुरले कैलालीको खगोरी खोलामा पुल निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै जागृति निर्माण सेवालाई ८ लाख ४३ हजार ५ सय २ जरिवाना गरेको थियो ।

एक वर्षभित्र बनाउनु पर्ने पानकोट पुलमा ७ वर्ष

तस्वीर : प्रताप ओली

२०७२ मा ठेक्का भएर २०७३ असार मसान्त भित्र बनिसक्नुपर्ने यो पुल विभिन्न बहानामा निर्माण कार्य रोकिँदै आएको थियो । पुरानो ठेक्का र डिजाइन परिर्वतन गरेर सात वर्षपछि यो पुलको निर्माण कार्य भएको थियो । पुल निर्माण हुन नसक्दा वर्षौअघि निर्माण भएका सडकहरू पनि बेकामे थिए ।

२०७२ बैशाखमा तत्कालीन जिल्ला विकास समितिको ६ करोड ७८ लाखको लागतमा ठेकेदार कम्पनी निलगिरी निर्माण सेवा र जागृति निर्माण सेवाले संयुक्तरूपमा पुल निमार्णको जिम्मेवारी पाएका थिए ।

डडेल्धुरामा ढिलासुस्ती गरेको भन्दै कारबाहीका लागि सिफारिस

आर्थिक वर्ष २०७५–०७६ मा डडेल्धुरामा रडुवा–बडम पुल निर्माणको जिम्मा लिएको बझाङ्गको जागृति निर्माण सेवाले काममा ढिलासुस्ती गरेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कारबाहीका लागि गृह मन्त्रालयमा पत्राचार गरेको थियो ।

अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने रडुवा–बडम खोलाको पक्की पुल निर्माणका लागि २०७१ सालमा सम्झौता भएको थियो । २०७३ सालमा निर्माण सम्पन्न गरिसक्नु पर्ने पुल कारबाहीका लागि सिफारिस भएपछि करिब ३ वर्ष अलपत्र पारेर २०७६ मा बन्यो ।

जयपृथ्वी राजमार्गमा खाल्डैखाल्डा

तस्वीर : मकरराज धामी

जयपृथ्वी राजमार्गको बागथला–चैनपुर सडक खण्डको अधिकांश ठाउँको पिच कामै नलाग्ने गरी बिग्रेको छ । सकडमा भएका ठूला–ठूला खाल्डा र बर्खाको समयमा खाल्डामा पानी जमेपछि यो राजमार्गमा यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपरिरहेको छ ।

राजमार्गको बागथलादेखि चैनपुरसम्मको ४५ किलोमिटरमा विभिन्न ठाउँमा लाल्डैखाल्डा छन् । सडक मर्मतका लागि करोडौं पैसा खर्च भए पनि सडकको अवस्था भने जस्ताको त्यस्तै छ । विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा कालोपत्रे गरिएको सडक खण्ड हस्तान्तरण नगर्दै बिग्रेको थियो ।

जयपृथ्वी राजमार्गको विभिन्न खण्डमा जागृति निर्माण सेवा, ग्वाल्लेक निर्माण सेवा र जलजला निर्माण सेवाले सडक स्तरोन्नतिको ठेक्का लिएका छन् । यसबारे निर्माण कम्पनीका सञ्चालक रोकायालाई सोध्न पटक–पटक टेलिफोन गर्दा उनले रिसिभ गरेनन् । चौतर्फी विवादास्पद र बदनाम पृष्ठभूमि भएको जागृति निर्माण सेवाले कसरी पाउँछ ठूला ठेक्का ? जागृतिका ‘बाहुबली’ सञ्चालक रोकाया को हुन् ? यी प्रंसग थाहा पाउन अर्को श्रृङ्खला कुर्नु पर्ने हुन्छ ।