वि.सं.२०८३ भदौ ३ बुधवार

प्रहरी सहायक हवल्दार शाही २५ लाख काण्डमा पक्राउ

नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार कृष्ण शाही  २५ लाख रुपैयाँ लुटपाट गर्ने प्रयास गरेको आरोपमा पक्राउ परेका छन्। शाही उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेको पाइएको छ।

प्रहरी वृत्त महाराजगञ्जको टोलीले शाहीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो। उनीसँगै सिन्धुपाल्चोकका अर्का एक व्यक्ति पनि पक्राउ परेका छन्।

स्रोतका अनुसार पक्राउ परेकाहरूले नक्कली सुन देखाएर रकम लुटपाट गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नक्कली सुन खल्तीबाटै देखाएर पीडितलाई झुक्याउँदै रकम लुट्ने उद्देश्य रहेको प्रहरी स्रोतको भनाइ छ।

प्रहरीका अनुसार उक्त घटनामा चार जनाको समूह संलग्न रहेको देखिएको छ। तीमध्ये दुई जना पक्राउ परेका छन् भने अन्य दुई जना फरार छन्।

पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले फरार रहेका दुई जनाको खोजीसमेत तीव्र बनाएको जनाएको छ।