प्रहरी प्रधान कार्यालयले काजमा रहेका वा सरुवा–बढुवा भई अन्यत्र पदस्थापना भइसकेका प्रहरी कर्मचारीलाई यथाशीघ्र आ–आफ्नो दरबन्दीमा हाजिर हुन निर्देशन दिए पनि नेपाल पुलिस स्कुल साँगा काभ्रेपलान्चोकले अवज्ञा गरेको छ ।
आईजीपी दानबहादुर कार्कीले प्रहरीमा आन्तरिक सुदृढीकरण ल्याउने तयारीस्वरुप अन्यत्र दरबन्दी भएका प्रहरीलाई यथाशीघ्र फिर्ता रवाना गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिए पनि त्यसको अझै पालना भएको छैन।
राजनीति र सोर्सफोर्स भएका र हाकिमलाई चाकडी गर्न सक्नेलाई थमौती गर्ने र नसक्नेलाई दरबन्दीमा फिर्ता गरेर भेदभावपूर्ण कार्य गर्ने गरेको आरोप डीएसपी दिप्ती कार्कीमाथि छ ।
कार्यक्षमतामा अत्यन्तै कमजोर मानिने पुलिस स्कुलका डीएसपी कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी दरबन्दी भई नेपाल पुलिस स्कुल काभ्रेपलाञ्चोकमा झण्डै १० वर्षदेखि कार्यरत रहेका वरिष्ठ सई भगवान कार्की र सिन्धुली दुधौली तालिम केन्द्र दरबन्दी भई सोही स्कुलमा हवल्दार मेजरको रुपमा कार्यरत वरिष्ठ हवलदार गणेश केसीलाई काखी च्याप्दै आएको गुनासो रहेको छ ।
हवल्दार मेजर र सुवेदार मेजर चलाउन सक्ने अन्य कुनै पनि प्रहरी अधिकारी नभएको र सिनियर उनीहरू नै रहेको भन्दै तोकिएको दरबन्दीमा रमाना गर्न डिएसपी कार्की स्वयंले नै मानिरहेका छैनन् ।
१० वर्षदेखि हवलदार मेजर र सुवेदार मेजर बस्दैआएका दुवैलाई डीएसपी कार्कीले थमौती दिइरहेकी छिन् ।
तालुकदार कार्यालयहरुबाट पटकपटक विभागीय निर्देशन दिँदा समेत डीएसपी कार्कीले प्रहरी प्रधान कार्यालयको निर्देशनलाई रद्दीको टोकरीमा हालेकी छिन् ।
जबकी सोही पुलिस स्कुल सांगामा कार्यरत वरिष्ठ हवल्दारद्वय सिताराम शाक्य, मनिक बहादुर थापा, हवल्दार रमा भण्डारी, निर्मला घिमिरे, जवान निर्मला कठायतलाई केही महिना अघि रमाना गरिएको थियो ।
तर, डीएसपी कार्कीले भने लामो समयसम्म हवल्दार मेजर र सुवेदार मेजर चलाउदै आएका उनीहरूलाई संरक्षण गर्दै आइरहेको छ ।
याे पनि पढ्नुहाेस्..
सुन्धारा केन्द्रीय कारागारमा १७, १२ र ९ वर्षदेखि एउटै प्रहरी : सरुवा भएर पनि किन गएनन् ?
डीएसपी कार्कीले न दरबन्दी फिर्ता गर्न सके, न आन्तरिक ड्युटीमा नै खटाए । जबकि, काजमा बसेका र अन्यत्र दरबन्दीका प्रहरी कर्मचारीलाई रमाना गर्न प्रहरी प्रधान कार्यालयले बारम्बार परिपत्र गर्दै आइरहेको छ ।
डीएसपी कार्कीले आनाकानी गर्दै आफ्नो दरबन्दी भएका कार्यालयमा प्रहरी कर्मचारीलाई हाजिर हुन नदिएर अन्याय गरिरहेको देखिन्छ ।
यस विषयमा डीएसपी दिप्ती कार्कीको प्रतिक्रिया लिन खप्तडटिभीले ९८५१२८१६९९ नम्बरमा सम्पर्क गर्ने प्रयास गरेको थियो। तर, फोन नउठेकाले उनको आधिकारिक धारणा समेट्न सकिएन। सम्बन्धित प्रहरी अधिकारीको प्रतिक्रिया प्राप्त भएमा त्यसलाई समेत प्रकाशन गरिनेछ।
प्रहरी प्रधान कार्यालयको निर्देशन, नेपाल पुलिस स्कुल साँगाको जनशक्ति व्यवस्थापन तथा लामो समयदेखि काजमा रहेका भनिएका कर्मचारीको अवस्थाबारे थप छानबिन र आधिकारिक विवरण सार्वजनिक हुनुपर्ने आवश्यकता देखिएको छ।
संगठनभित्रको अनुशासन र प्रशासनिक पारदर्शिता कायम गर्न काजमा रहेका सबै कर्मचारीको विवरण सार्वजनिक गर्दै दरबन्दीअनुसार परिचालन गर्नुपर्ने मागसमेत उठ्न थालेको छ।































