वि.सं.२०८२ कात्तिक १ शनिवार

एमाले सांसद जानकी ऐर (बम) को आर्थिक लेनदेन अडियो सार्वजनिक

सुदूरपश्चिम प्रदेशसभाकी सांसद तथा नेकपा (एमाले) की सचेतक जानकी ऐर (बम) को एक व्यक्तिसँग आर्थिक लेनदेन गरेको अडियो सार्वजनिक भएपछि राजनीतिक वृत्तमा हलचल मच्चिएको छ।

सार्वजनिक अडियोमा ऐरले नेपाल आर्मीमा भर्ती गराइदिने भन्दै एक सर्वसाधारणसँग रकम माग गरेको स्पष्ट सुनिन्छ।

अडियोमा सांसद ऐरले आफ्नै स्वरमा एक व्यक्तिलाई “काम मिलाइदिन्छु, पैसा चाहिन्छ” भनी रकमको आग्रह गरिरहेको सुनिन्छ। यो अडियो सार्वजनिक भएसँगै नेकपा (एमाले) भित्र समेत आन्तरिक आलोचना सुरु भएको छ भने सामाजिक सञ्जालमा सर्वसाधारणको चर्को आक्रोश देखिएको छ।

सांसद ऐर, जो २०७९ सालको प्रदेशसभा निर्वाचनमा समानुपातिक (खस आर्य) कोटाबाट प्रदेश सांसद बनेकी थिइन् । अघिल्लो माओवादी आन्दोलनमा भूमिगत राजनीतिमा समेत सक्रिय थिइन्। उनले ०६१ देखि ०७३ सम्म माओवादी राजनीतिमा विभिन्न तहमा काम गरेकी थिइन्। ०७४ सालमा पुरर्चौडी नगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि एमालेमा सक्रिय भएकी ऐर अहिले नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यसमेत हुन्।

भ्रष्टाचारको जरो झनै गहिरिँदै

प्रदेशभित्रैको शक्तिशाली नेतृबाटै आर्मी भर्तीजस्तो संवेदनशील विषयमा पैसाको लेनदेन भएको पुष्टि हुने अडियो सार्वजनिक भएपछि भ्रष्टाचार र भागबण्डाको चरम उदाहरण प्रस्तुत भएको भन्दै आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा धेरैले सांसद ऐरको तत्काल राजीनामा माग गरेका छन्।

“नागरिकको करबाट तलब भत्ता खाने सांसदले आफ्नै पदको दुरुपयोग गर्दै बेरोजगार युवाबाट पैसा असुल्ने काम गर्नु दुःखद मात्रै होइन, आपराधिक हो,” स्राेतले भन्याे ।

यस प्रकरणमा हालसम्म नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी वा केन्द्रीय स्तरबाट औपचारिक धारणा सार्वजनिक भइसकेको छैन। तर पार्टीका केही नेताहरूले व्यक्तिगत रूपमा सामाजिक सञ्जालमा घटनाको भर्त्सना गरेका छन्।

नेकपा एमाले बैतडी जिल्ला कमिटीका एक सदस्यले नाम नखुलाउने शर्तमा भने, “हामीले पनि अडियो सुनेका छौं, पार्टीले यसको छानबिन गर्नुपर्छ। यस्तो प्रवृत्ति स्वीकार्य हुन सक्दैन।”

प्रहरी अनुसन्धान माग

सुदूरपश्चिममा विभिन्न विद्यार्थी र नागरिक समूहहरूले सांसद जानकी ऐरको अडियो प्रकरणमा स्वतन्त्र छानबिनको माग गरेका छन्। कैलालीमा स्थानीय युवाहरूले विरोध प्रदर्शन गर्दै ऐरको तत्काल बर्खास्ती र अडियोको सत्यता पुष्टि गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

भ्रष्टाचारविरुद्धको संकल्प खोक्रो सावित ?

जनप्रतिनिधि भएर सार्वजनिक मंचमा भ्रष्टाचारविरुद्ध संकल्प लिने सांसद ऐरको स्वर नै पैसाको लेनदेनमा सुनिएपछि प्रदेश सरकार र संसदकै नैतिकतामा प्रश्न उठेको छ। ऐरले आफ्नो पाँच वर्षीय कार्यकालको लक्ष्यमा ‘भ्रष्टाचार उन्मूलन र पारदर्शिता’लाई प्राथमिकता दिने बताएकी थिइन्।

तर अहिले यस्तै कार्य गर्ने व्यक्तिले त्यही मूल्य र आदर्शको मजाक उडाएको जनगुनासो छ।

ऐरको पक्षबाट कुनै स्पष्टीकरण आएन

अडियो सार्वजनिक भइसकेपछि सांसद जानकी ऐरको तर्फबाट कुनै प्रतिक्रिया वा आधिकारिक वक्तव्य सार्वजनिक भएको छैन। खप्तडटीभीले पटक–पटक सम्पर्क गर्दा उनले फाेन रिसिभ गर्नुभएन । उनका नजिकका नेताहरूले पनि यस विषयमा बोल्न मानेनन्।

 

प्रदेशस्तरका सांसदहरूमाथि जनताको भरोसा घट्दै गएको बेला सांसद ऐरजस्तो नेतृबाट यस्ता गतिविधि हुनु जनताको आशा र विश्वासमाथिको चोट हो।

अब यो देख्न बाँकी छ, प्रदेश सरकार, नेकपा एमाले र सांसद स्वयं यस घातक प्रकरणलाई कसरी सम्बोधन गर्छन्।

यस्तो छ अडियोमा

जानकी एर बम : हल्लो ।
अर्का व्यक्ति: नमस्कार हजुर ।
बम : नमस्कार, के छ्न हालखबर,कता हो?
अर्का व्यक्ति: उम्म,ठिक छ्न, हजुर का,आराम छौँ ?
बम : उम्म ठिकै छु ।
व्यक्ति: त्यो भाइको भोलि लिखित हो।
बम : लिखितमा अलि तयारी गरेर जानू भन्नू, लिखितमा केही लाग्दैन ।
व्यक्ति: उम्म।
बम : पछि कपी चेक गर्दा नाम दिइदिउला ।
व्यक्ति: केही सकिँदैन त?
बम : अह्ह, सकिँदैन
व्यक्ति: त्यही त कसरी हुन्छ ? पहिला पनि त्यसै भयो, अहिले पनि त्यसै भए कसरी हुन्छ ?
बम : लेखितमा के गर्न सकिन्छ, केही गर्न सकिँदैन ।
व्यक्ति: उम्म, आर्थिक कुरा चाहिँ अझ गर्ने थिए ।
बम : नाइ नाइ लिखितमा केही सकिदैन, मैले मेजर सापलाई भनेकी हु,लिखित दिनुस भन्यो, नाम चाहिँ पठाइ सकेकि छु मेजर सापलाई ।
व्यक्ति: त्यही त हजुरले भनी दिए एक पहिला दिई सकेको छु, एक अझ थपिदिने थिए,भोलि पर्सि सम्म हाली दिने भए भन्ने भनाइ हो ।
बम : हैन पहिला लिखित आफैले गर्नुपर्छ भन्या छन मेजर सापले निक्लीहाला यो पाली तयारी गरेकै होला यो पाली त ।
व्यक्ति: यो पाली ननिक्ले त यतिबेला सम्म १ लाखको ब्याज स्याज तिरेको पनि ती बिचराको त्यस्तै भन्दै छ्न ननिक्ले अप्ठेरो हुन्छ ।
बम : उम्म ।
व्यक्ति: ब्याज धेरै भयो अब गाली गर्ने हुन ।
बम : लिखित त तपाइँलाई थाहै छ, भन्न सकिन्न केही नम्बर यता उता गर्न सकिन्छ अरु त्यस्तो केही हुन सकिँदैन ।
व्यक्ति : उम्म , मेजर साप हुन त त्यस्तो भने को हुन भन्ने?

संक्षिप्त विश्लेषण:

यो संवाद कुनै सरकारी वा प्रतिस्पर्धात्मक नियुक्ति/परीक्षा प्रक्रियासँग सम्बन्धित देखिन्छ। “लिखितमा केही गर्न सकिँदैन”, “पछि कपी चेक गर्दा नाम दिइदिन्छु”, “आर्थिक कुरा गर्ने थिएँ” जस्ता अभिव्यक्तिहरूले सन्देह उत्पन्न गर्छन् कि कुनै प्रकारको सेटिङ (सहज पहुँच वा भ्रष्टाचार) को प्रयास भइरहेको छ।