वि.सं.२०८२ कात्तिक १ शनिवार

अहिलेको परिस्थिति सम्हाल्न सक्ने व्यक्ति पूर्व आईजीपी खनाल हुन सक्ने भन्दै जेनजी समुहमा चर्चा

हालको राजनीतिक अनिश्चितता र अस्थिरताबीच अन्तरिम सरकारको सम्भावित नेतृत्वका लागि पूर्ब प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको नाम जेनजी (जनन्याय समूह) भित्र चासोको विषय बनेको छ।

जेनजीका अभियन्ताहरुले वर्तमान संकटलाई सम्हाल्न सक्ने, स्वच्छ छवि बोकेको र सबै पक्षसँग संवाद गर्न सक्ने व्यक्तिको आवश्यकता रहेको भन्दै पुर्ब आईजीपी खनाल उपयुक्त विकल्प हुन सक्ने धारणा राखेका छन्।

खनालले प्रहरी महानिरीक्षकका हैसियतले सुरक्षा व्यवस्थापनदेखि अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा प्रहरी प्रशासनलाई आधुनिक प्रविधिमुखी बनाउन ठोस कदम चालेका थिए।

२०६२/६३ को जनआन्दोलनताका काठमाडौं उपत्यकाको सुरक्षा कमान्ड सम्हाल्दा उनले आन्दोलनलाई तुलनात्मक शान्तिपूर्ण ढंगले अवतरण गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आजसम्म सम्झना गरिन्छ।

अन्तर्राष्ट्रिय स्तरमा पनि खनालको अनुभव उल्लेखनीय छ।

उनले संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा ३ वर्ष सेवा गरेका थिए भने अन्तर्राष्ट्रिय अपराध नियन्त्रण संगठन (Interpol) बाट समेत पुरस्कृत भएका छन्।

नेपालमा सुशासन र भ्रष्टाचार नियन्त्रणका पक्षमा सार्वजनिक रुपमा आवाज उठाउँदै आएका खनाल हालैको जेएनजी आन्दोलनसँगै खुलेर ऐक्यबद्धता जनाउँदै आएका छन्।

यहीँ कारण, भ्रष्टाचारविरुद्धको दृढ अडान र व्यवस्थापन क्षमताका कारण उनलाई अन्तरिम सरकारको सम्भावित नेतृत्वमा युवामाझ चासो बढेको देखिन्छ।

यद्यपि, खनाल आफैंले यसबारे औपचारिक टिप्पणी गरेका छैनन्।

तर राजनीतिक वृत्त र नागरिक समाजमा उनको नाम गम्भीर छलफलमा आउन थालेको देखिन्छ।