नागरिकको सुरक्षाका लागि दिनरात खटिने प्रहरी संगठनभित्रै मानसिक तनाव र आत्महत्याका घटना चिन्ताजनक रूपमा देखिन थालेका छन्।
पछिल्लो ६ आर्थिक वर्षमा ४८ जना प्रहरी कर्मचारीले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएपछि प्रहरी संगठनभित्रको कार्यदबाब, मानसिक स्वास्थ्य समस्या र पारिवारिक तनावबारे गम्भीर बहस सुरु भएको छ।
नेपाल प्रहरीको तथ्यांकअनुसार आत्महत्या गर्नेमा सबैभन्दा बढी प्रहरी जवान रहेका छन्।
उक्त अवधिमा २४ जना प्रहरी जवानले आत्महत्या गरेका छन्। त्यस्तै प्रहरी सहायक हवलदार, हवलदार, प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तहसम्मका कर्मचारीले पनि आत्महत्या गरेका छन्।
आर्थिक वर्ष २०७६/७७ मा ४ जना प्रहरीले आत्महत्या गरेका थिए भने २०७७/७८ मा ८ जना, २०७९/८० मा ७ जना, २०८०/८१ मा ७ जना र २०८१/८२ मा सबैभन्दा धेरै १४ जना प्रहरी कर्मचारीले आत्महत्या गरेका थिए। चालु आर्थिक वर्षमा मात्रै हालसम्म ८ जना प्रहरीले आत्महत्या गरिसकेका छन्।
ड्युटी समय, निरन्तर कार्यदबाब, सीमित बिदा, पारिवारिक दूरी, माथिल्लो तहको दबाब र मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको अभावले समस्या झन् जटिल बन्दै गएको छ।
बाहिरबाट अनुशासित र बलियो देखिने प्रहरी संगठनभित्र व्यक्तिगत तनाव, आर्थिक समस्या, सम्बन्ध विच्छेद र डिप्रेसनका समस्या मौन रूपमा बढिरहेको छ।
यता प्रहरी संगठनभित्र जागिर छाड्ने प्रवृत्ति पनि बढ्दै गएको छ।
५ हजारभन्दा बढी प्रहरी कर्मचारीले स्वैच्छिक अवकाश लिएको तथ्यांक छ।
विशेषगरी तल्लो दर्जाका कर्मचारीहरू अन्य क्षेत्रमा राम्रो अवसर खोज्दै प्रहरी सेवा छाड्ने गरेका छन्।































