वि.सं.२०८३ जेठ १४ बिहीवार

स्न्यापच्याट–इन्स्टाग्राममा भिडियो फैलिएपछि बाहिर आयो भक्तपुर काण्ड

भक्तपुरको मध्यपुर थिमी क्षेत्रमा एक किशोरीमाथि यौन दुर्व्यवहार भएको तथा घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमार्फत फैलाइएको आरोपमा तीन जना नाबालकविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ । जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले बाल अदालतमा सामूहिक यौन दुर्व्यवहार र विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरेपछि घटना सार्वजनिक भएको हो ।

अनुसन्धानअनुसार घटनाको सुरुवात माघ २०८१ मा भएको देखिएको छ । मुख्य आरोपितले किशोरीलाई आफ्नो घरमा बोलाएर दुर्व्यवहार गरेको तथा त्यसक्रममा मोबाइलमा भिडियो रेकर्ड गरेको आरोप छ । पीडित पक्षले डर र मानसिक दबाबका कारण तत्काल घटना बाहिर ल्याउन नसकेको जनाएको छ ।

प्रहरी अनुसन्धानमा उक्त भिडियो पछि दबाब सिर्जना गर्न प्रयोग गरिएको उल्लेख गरिएको छ । केही समयपछि पुनः किशोरीलाई अर्को स्थानमा बोलाइएपछि त्यहाँ अन्य दुई जना समेत उपस्थित रहेको र उनीहरूमाथि सामूहिक रूपमा दुर्व्यवहार गरेको अभियोग लगाइएको छ ।

घटनामा संलग्न भनिएका अर्का युवक सलोन श्रेष्ठमाथि पनि छुट्टै दुर्व्यवहारको आरोप लागेको छ । अनुसन्धान अधिकारीहरूका अनुसार उनको विस्तृत विवरण संकलनको काम जारी छ ।

प्रहरीका अनुसार घटनासँग सम्बन्धित भिडियो स्न्यापच्याट र इन्स्टाग्राममार्फत अन्य व्यक्तिहरूसम्म पुगेको पाइएको छ । भिडियो विद्यालयसम्म पुगेपछि शिक्षकहरूले विद्यालय प्रशासन र अभिभावकलाई जानकारी गराएका थिए । त्यसपछि मात्रै घटनाबारे औपचारिक उजुरी प्रक्रिया अघि बढेको बताइएको छ ।

शिक्षकहरूले गोपनीयता कायम राख्दै अभिभावकलाई जानकारी गराएको अनुसन्धानमा उल्लेख गरिएको छ ।

अभियुक्तहरूविरुद्ध यौन दुर्व्यवहारसँगै विद्युतीय कारोबार ऐनअन्तर्गत पनि कारबाहीको माग गरिएको छ । सामाजिक सञ्जालमार्फत भिडियो फैलाएर पीडितलाई मानसिक पीडा र सामाजिक असर पुर्‍याएको आरोपसमेत लगाइएको छ ।

प्रचलित कानुनअनुसार नाबालिगमाथि यौन अपराध गरेको ठहर भए कैद तथा जरिवानाको व्यवस्था रहेको छ । आरोपितहरू नाबालिग भएकाले कानुनअनुसार उनीहरूलाई वयस्कको तुलनामा फरक सजाय व्यवस्था लागू हुन सक्ने बताइएको छ ।