पूर्व मिस नेपाल उषा खड्गीले एसएलसीको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर हरिखेतान बहुमुखी क्याम्पसमा भर्ना भएको खुलासा भएको छ ।
यस बिषयमा खप्तड टिभीले २०८३ वैशाख १० गते “पूर्वमिस नेपाल खड्गीकाे नक्कली शैक्षिक प्रमाणपत्र भेटियो (प्रमाणसहित)” शीर्षकमा समाचार प्रकाशित गरेकाे थियाे ।
हरिखेतान बहुमुखी क्याम्पस वीरगन्जमा भर्ना हुँदा माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल एन्ड इन्टरमिडियट एजुकेसन उत्तर प्रदेश, भारतबाट हाईस्कुल पास गरेको शैक्षिक प्रमाणपत्र खड्गीले पेस गरेकी थिइन् ।
पूर्वमिस नेपाल खड्गीकाे नक्कली शैक्षिक प्रमाणपत्र भेटियो (प्रमाणसहित)
उक्त प्रमाणपत्रमा उषा कुमारी खड्गीले भारतको गोरखपुरस्थित सहरी क्षेत्रमा रहेको वि.एस.जे. हाईस्कुलबाट विद्यालय तहको अध्ययन पूरा गरेको उल्लेख छ । प्रमाणपत्र अनुसार सन् १९९३ मा उषाले बोर्ड अफ हाईस्कुल एन्ड इन्टरमिडियट एजुकेसन उत्तर प्रदेशको परीक्षामा द्वितीय श्रेणीमा हाईस्कुल परीक्षा पास गरेको देखिन्छ ।

उषाले परीक्षा उत्तीर्ण गरेको भनिएको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल एन्ड इन्टरमिडियट एजुकेसनको क्षेत्रीय कार्यालय वाराणसी–२९१००२ ले सन् १९९३ को हाईस्कुल परीक्षामा उषा कुमारी खड्गी नाम गरेको कुनै पनि विद्यार्थी नरहेको खप्तडटिभीले प्रमाण फेला पारेकाे छ ।
हरिखेतान क्याम्पसमा उषा खड्गीले बुझाएको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशको १९९३ को परीक्षा उत्तीर्ण प्रमाणपत्र र मार्कसिट तथा माइग्रेशन सर्टिफिकेट (प्रव्रजन प्रमाणपत्र) लगायतका कागजातमा उषा कुमारी खड्गीको रोल नम्बर १६६२३८ उल्लेख गरिएको छ ।
उक्त रोल नम्बर भएको व्यक्ति आफ्नो कार्यालयको रेकर्डमा नरहेको क्षेत्रीय कार्यालय वाराणसीले जनाएको हो ।
सन २०२६ मे ३० तारिखको पत्रमार्फत माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल एन्ड इन्टरमिडियट एजुकेसनको क्षेत्रीय कार्यालय वाराणसीले आफ्नो कार्यालयको हाईस्कुल इन्टरमिडियटसम्बन्धी शैक्षिक अभिलेखमा उषा कुमारी खड्गीको नाम र १६६२३८ रोल नम्बर दुवै नरहेको स्पष्ट पारेको छ ।
सन २००० को मिस नेपालमा सहभागी हुँदा उषाले आफ्नो शैक्षिक योग्यता बी.ए. उल्लेख गरेकी थिइन् । सोही शैक्षिक योग्यताका आधारमा उनले मिस नेपाल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाएकी हुन् ।
मिस नेपाल प्रतियोगितामा प्रतिस्पर्धी बन्न प्लस टु उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान रहेको छ । यसरी हेर्दा उषा खड्गीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर प्रतियोगितामा सहभागी भई मिस नेपाल बनेको स्पष्ट भएको छ ।
यस बिषयमा उषासंग टेलिफोन मार्फत कुरा गर्दा बाेल्न मानिन्न । उक्त कल रेकर्डिङ अडियाे खप्तडटिभीसंग सुरक्षित छ : सम्पादक






























