नख्खु कारागारबाट जेलर स्वयं सहभागी भएर सात जनाको टोली काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार पुगेपछि कारागार व्यवस्थापन र कैदीबन्दीको ओहोरदोहोरलाई लिएर प्रश्न उठेको छ ।
आज दिउँसो करिब १३:१५ बजे नख्खु कारागारबाट नयाँ ब्लकका चौकीदार नृप राउत, डीआरसी ब्लकका चौकीदार उज्ज्वल खत्री, नाइके सुरज खड्गी, सीआरसी ब्लकका चौकीदार रोबिन शाही, प्रहरी नायव निरीक्षक प्रेम शर्मा तथा कारागार प्रशासनका लेखा अधिकृत माधवमणि पौडेल र गोविन्द खतिवडासहितको टोली केन्द्रीय कारागार पुगेको हो ।
उक्त टोलीमा नख्खु कारागारका जेलर दीर्घराज उपाध्यायसमेत आफैं सहभागी थिए । टोली केन्द्रीय कारागार किन गयो भन्नेबारे प्रश्न उठेपछि जेलर उपाध्यायले भने यसलाई नियमित ‘अन्तर-जेल भ्रमण’का रूपमा व्याख्या गरेका छन् ।
उनकाअनुसार केही दिनअघि केन्द्रीय कारागारबाट टोली नख्खु आएको थियो । त्यसैको निरन्तरताका रूपमा नख्खुबाट आफूहरू केन्द्रीय कारागार गएको उनको भनाइ छ ।
‘हाम्रो अन्तर–जेल कसरी भिजिट हुन्छ भनेर गएको हो । अस्ती उहाँहरू आउनुभएको थियो, आज हामी नै गएका हौं,’ जेलर उपाध्यायले भने । उनले केन्द्रीय कारागारको अवस्था, व्यवस्थापन र त्यहाँको कार्यप्रणालीबारे हेर्न तथा बुझ्नका लागि भ्रमण गरिएको बताए ।
तर, भ्रमणमा चौकीदार तथा नाइकेहरूलाई समेत किन लगियो भन्ने प्रश्नमा उपाध्यायले कारागारको आन्तरिक व्यवस्थापन कैदीबन्दीबाटै हुने भएकाले उनीहरूलाई पनि सहभागी गराइएको बताए ।
‘के कस्तो छ भनेर हेर्न, बुझ्न गएको हो । आन्तरिक व्यवस्थापन कारागारभित्रका कैदीहरूले नै गर्ने भएकाले नाइके तथा चौकीदारहरूलाई पनि लगेको हो,’ उनले भने, ‘यसमा सबैजना जानुपर्ने हुन्छ ।’ उनका अनुसार सुरक्षा कमान्ड पनि एउटै भएकाले टोली एकसाथ गएको हो ।
जेलर उपाध्यायको यो भनाइअनुसार भ्रमणको उद्देश्य केन्द्रीय कारागारको व्यवस्थापन, सुरक्षा तथा आन्तरिक सञ्चालनबारे बुझ्नु हो । तर, यही भ्रमणले केही गम्भीर प्रश्न भने उब्जाएको छ ।
अन्तर–जेल भ्रमणको औपचारिक प्रक्रिया के हो ?
सबैभन्दा पहिले प्रश्न उठेको छ- एक कारागारबाट अर्को कारागारमा टोली पठाउँदा त्यसको औपचारिक प्रक्रिया के हो ?
नख्खुबाट केन्द्रीय कारागार पुगेको सात सदस्यीय टोलीमा जेलरदेखि प्रहरी, लेखा अधिकृत, चौकीदार र नाइकेसम्म सहभागी छन् । यति ठूलो र मिश्रित टोलीलाई एकैपटक अर्को कारागारमा लैजानुपर्ने आवश्यकता के थियो भन्ने प्रश्नको स्पष्ट जवाफ आवश्यक देखिन्छ ।
अझै महत्वपूर्ण प्रश्न लिखित आदेश वा पत्रसँग जोडिएको छ । उक्त भ्रमणका लागि औपचारिक पत्र, आदेश वा स्वीकृति थियो कि थिएन भन्ने विषयमा कारागार प्रशासनले स्पष्ट पार्नुपर्ने देखिन्छ । यदि लिखित आदेशबिना केवल मौखिक निर्देशनमा टोली गएको हो भने त्यसको प्रशासनिक आधार के थियो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।
जेलर उपाध्यायले भने भ्रमणलाई सामान्य अन्तर–जेल अवलोकनका रूपमा व्याख्या गरेका छन् ।
तर, अन्तर–जेल भ्रमण नियमित अभ्यास हो भने यसको अभिलेख, अनुमति, उद्देश्य र भ्रमणपछि तयार हुने प्रतिवेदनबारे समेत सार्वजनिक रूपमा स्पष्टता आउनुपर्ने देखिन्छ ।
प्रश्न त्यतिबेला गम्भीर बन्यो, जब सेन्ट्रल जेलमा ‘प्रभावशाली’ कैदी छन्
नख्खुबाट भएको यो भ्रमणलाई लिएर चासो बढ्नुको अर्को कारण केन्द्रीय कारागारमा रहेका केही आर्थिक रूपमा प्रभावशाली कैदीबन्दी हुन् ।
विशेषगरी दीपक भट्ट र शंकर अग्रवालजस्ता आर्थिक हैसियत भएका व्यक्तिहरू केन्द्रीय कारागारमा रहेको अवस्थामा नख्खुबाट जेलर, चौकीदार, नाइके, प्रहरी र प्रशासनिक कर्मचारीसहितको टोली एकैपटक त्यहाँ पुग्नु संयोग मात्रै हो कि यसको कुनै विशेष प्रशासनिक कारण छ भन्ने प्रश्न उठेको छ ।
यसलाई उनीहरूकै कारण टोली गएको निष्कर्षमा पुग्न भने सकिँदैन । त्यसको कुनै प्रमाण सार्वजनिक भएको छैन । तर, उनीहरू केन्द्रीय कारागारमा आएपछि मात्रै यस्ता अन्तर–जेल गतिविधि किन आवश्यक परे भन्ने प्रश्नको जवाफ खोजिनु स्वाभाविक देखिन्छ ।
उच्च् स्रोतकाअनुसार दिपक भट्ट र शंकर अग्रवाल त्यहाँ गएपछि चहलपहल बढ्न थालेको छ। अर्बपति व्यपारीको छवि बनाएका उनीहरुको पैसाको कारण त्यहाँ चहलपहल बढेको बताइन्छ।
विशेषगरी कारागारभित्र आर्थिक रूपमा बलिया कैदीबन्दीले अन्य कैदीभन्दा फरक सुविधा पाउने गरेको आरोप बेलाबेला सार्वजनिक हुने गरेको पृष्ठभूमिमा यो भ्रमणलाई सामान्य रूपमा मात्र हेर्दा पनि प्रश्न अनुत्तरित रहन्छ ।
कारागारभित्र ‘विशेष सुविधा’को पुरानो विवाद
कारागार प्रशासनले कैदीबन्दीको सुरक्षा र सुधारलाई प्राथमिकता दिनुपर्ने हो । तर, पछिल्ला केही घटनाले कारागारभित्र सुरक्षाकर्मी र कैदीबीचको सम्बन्ध, कैदीलाई दिइने सुविधा तथा कारागारबाट बाहिर लैजाने प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन् ।
यसको पछिल्लो उदाहरण केन्द्रीय कारागार सुन्धाराकै घटना हो ।
उपचारका लागि अस्पताल लैजाने भन्दै एक कैदीलाई प्रहरी कर्मचारीले होटलमा पुर्याएर मासु र बियर खुवाउनुका साथै युवतीसँग समय बिताउन दिएको घटना सार्वजनिक भएको थियो ।
घटना जेठ १ गतेको भएको बताइएको थियो । ठगी कसुरमा कारागारमा रहेका अनुप भण्डारीलाई ढाडको उपचारका लागि सामाखुसीस्थित अस्पताल लैजाने भन्दै प्रहरी कर्मचारीले कारागारबाट बाहिर निकालेका थिए । तर उनलाई सामाखुसीस्थित दीप सागर गेस्ट हाउसमा पुर्याइएको र त्यहाँ मासु, बियर तथा युवतीसँग समय बिताएको विवरण प्रहरीको आन्तरिक छानबिनमा समेत आएको थियो ।
कैदी भण्डारीलाई प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकले लगेका थिए । छानबिनपछि उनीहरूमाथि गम्भीर लापरबाही भएको निष्कर्ष निकालिएको र दुवैलाई सेवाबाट बर्खास्त गरिएको थियो।
याे पनि…
केन्द्रीय कारागारका कैदी होटलमा: उपचारको बहानामा बियर, मासु र महिलासँग ३ घण्टा
अर्थात्, कारागारबाट कैदी बाहिर लैजाने विषयमा प्रहरीकै संलग्नतामा नियमविपरीत गतिविधि भएको एउटा घटना छानबिनबाटै पुष्टि भएर कर्मचारीमाथि कारबाहीसमेत भइसकेको छ ।
नेटवर्क’बारे खप्तडटिभीले खुलासा गरेकाे
यही बिषयमा खप्तडटिभीले “अस्पताल लैजान अनुमति, तर कैदी पुगे होटलमा; सुरक्षा ड्युटीमा गम्भीर लापरबाही” शिर्षकमा समाचार प्रकाशित गरेपछि प्रहरीमा हलचल मचिएकाे थियाे ।
उक्त समाचारमा स्रोतलाई उद्धृत गर्दै केन्द्रीय कारागारका केही प्रभावशाली कैदीबन्दी तथा चौकीदार, मुख्य नाइके, नाइके, भाइनाइके र सहनाइकेलाई प्रहरीको ‘वान्टन’ गाडीमा राखेर महिला कैदी रहेको स्थानमा लैजाने र भेटघाट गराउने गरेको आरोप सार्वजनिक गरिएको थियो ।
त्यस समाचारमा यस्तो भेटघाटका लागि रकम लिने गरेको आरोपसमेत स्रोतले लगाएको थियो । बरु, तत्कालीन केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंले महिला र पुरुष कारागारबीचको दूरीका कारण गाडी प्रयोग भएको हुनसक्ने बताएका थिए ।
उनका अनुसार कारागार प्रशासनको स्वीकृतिमा श्रीमान्–श्रीमती वा एउटै परिवारका सदस्य रहेका कैदीबन्दीबीच मानवीय आधारमा भेटघाटको व्यवस्था हुनसक्छ । तर पैसा लिएर भेट गराउने कुरा हल्लामात्र भएको उनको दाबी थियो ।
पुराना घटना
नख्खु कारागारबाट जेलर आफैंको नेतृत्वमा चौकीदार, नाइके, प्रहरी तथा प्रशासनका कर्मचारी केन्द्रीय कारागार पुगेका छन् । जेलरका अनुसार उनीहरू अन्तर–जेल भ्रमणका लागि गएका हुन् ।
तर, त्यही केन्द्रीय कारागारमा विगतमा कैदीलाई नियमविपरीत होटलमा लगिएको घटना सार्वजनिक भएको छ । त्यही कारागारसँग सम्बन्धित महिला–पुरुष कैदी भेटघाटको ‘नेटवर्क’बारे स “सुन्धारा केन्द्रीय कारागारमा १७, १२ र ९ वर्षदेखि एउटै प्रहरी : सरुवा भएर पनि किन गएनन् ?” शिर्षकमा समेत समाचार प्रकाशित गरेपछि तीन जना प्रहरीकाे सरूवा समेत भएकाे थियाे ।
सुन्धारा केन्द्रीय कारागारमा १७, १२ र ९ वर्षदेखि एउटै प्रहरी : सरुवा भएर पनि किन गएनन् ?
यसै कारण अहिलेको भ्रमणले सामान्य प्रशासनिक भ्रमणभन्दा परका प्रश्नसमेत जन्माएको हो । यदि यो नियमित अन्तर–जेल भ्रमण हो भने यसको स्पष्ट कार्ययोजना के थियो ? टोलीमा चौकीदार र नाइकेलाई किन सहभागी गराइयो ? उनीहरूले के अवलोकन गरे ? भ्रमणपछि के निष्कर्ष निकालियो ? र यसका लागि लिखित आदेश वा अनुमति थियो कि थिएन ?
यी प्रश्नको जवाफ नआएसम्म ‘अन्तर–जेल भ्रमण’ भन्ने एउटा वाक्यले मात्रै सबै शंका मेटिँदैन ।
सामाखुसी महिला काण्ड : एआईजी ईश्वर कार्कीको भूमिकामाथि बढ्दो शंका






























