धनुषाको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले स्थानीयवासी तथा व्यापारीलाई दादागिरी शैलीमा दुख दिन थालेको समाचार यसअघि नै खप्तडटिभीले सार्वजनिक गरेको छ।
मेयर महेन्द्र महतोले दादागिरी, अदालतकाे पनि अवहेलना गर्दै (आदेशसहित)
दादागिरी शैलीमा स्थानीयलाई दुःख दिने, कमिसन बिना कुनै काम नगर्ने तथा क्रसर उद्योगीको आडमा शक्ति प्रदर्शन गर्ने समाचार सार्वजनिक भएपछि अहिले फेरि उनको विगतदेखि वर्तमानसम्मका गतिविधिमाथि प्रश्न उठ्न थालेको छन्।
प्रहरीले गुण्डा नाइके भन्ने गरेका एकाध व्यक्तिहरु कथित इन्काउन्टरमा मारिएपछि मान्छेहरुलाई गलत भ्रममा पारियो, अब गुण्डाराज सकियो भनेर । त्यसो होइन रहेछ, उनीहरुको स्थानान्तरण वा रुपान्तरण भएको रहेछ । हिजो सामूहिक आक्रमण गर्ने, खुँडा हान्ने, डकैती गर्ने र विभिन्न असुलीका धन्दा चलाउनेहरुले राजनीतिक शक्तिको आडमा धन्दा जारी नै राखेका रहेछन् । यसका एक पात्र मेयर पनि हुन् ।
स्थानीय स्रोतहरूका अनुसार मेयर महतो गाउँमा पहिले “टोले गुण्डा” को रूपमा चिनिने व्यक्ति रहेको आरोप छ। पछि काठमाडौं आएपछि उनी गुण्डागर्दी समूहसँग नजिकिएको तथा २०५२ साल वैशाख ११ गते काठमाडौं परिसरमा सार्वजनिक अपराध सम्बन्धी मुद्दा समेत चलेको थियाे।
उनी आफूलाई शक्तिशाली पहुँच भएको व्यक्तिका रूपमा प्रस्तुत गर्दै स्थानीयलाई धम्क्याउने गरेको आरोप समेत छ।
स्रोतका अनुसार उनले गाउँमा आफू नेपाल प्रहरीको डीएसपी स्तरको व्यक्ति भएको भन्दै धाकधम्की दिने गरेका छन्। यद्यपि, उनी काठमाडौं महानगरपालिकामा सई पदबाट डीएसपीसम्म पुगेका ब्यक्ति हुन् ।
उनी महानगरको प्रहरी हुर्दा राजधानीका होर्डिङ बोर्ड व्यवसायी तथा कालीमाटी तरकारी तथा फलफूल बजार क्षेत्रबाट समेत रकम असुली गर्ने गरेको आरोप लागेको थियो ।
अवैध नदी उत्खनन र क्रसर उद्योगीसँग मेयर महतोको एकदमै घनिष्ट सम्बन्ध छ। यसको पुष्टी उनको फोनकलको रेकर्ड लिस्टबाट थाहा हुन्छ ।
अहिले पनि औरही खोला तथा बसी खोलामा ढुंगा, गिटी र बालुवा उत्खनन भइरहेको छ। उक्त भिडियो खप्तडटिभीसंग सुरक्षित छ ।
घर अगाडिकै औरही खोलाबाट अवैध उत्खनन भइरहेकोमा विरोध गर्दा दिलीप भनिने ओमप्रकाश महतोको क्रसर सञ्चालकहरुले २०७६ पुस २५ मा हत्या गरेका थिए । महतोको हत्या प्रकरणपछि पनि त्यही क्षेत्रमा क्रसर उद्योगीहरूको प्रभाव कायम रहेको छ।
स्रोतका अनुसार मेयर महतोले तिनै क्रसर व्यवसायीहरूको आर्थिक सहयोगमा चुनाव जितेका थिए र अहिले पनि उनीहरूको संरक्षणमा स्थानीयमाथि दबाब सिर्जना गरिरहेका छन्।
स्थानीय स्रोतले दाबी गरे अनुसार, मेयरको विरोध गर्ने व्यक्तिलाई “ठाउँको ठाउँमै सिध्याउन सक्ने” खालको संजाल आफूसँग रहेको भन्दै धम्की दिने गरिएको आरोप छ।
यसले स्थानीयमा भयको वातावरण सिर्जना भएको बताइन्छ। कतिपय स्थानीयले नगरपालिकामा सिफारिस पत्रदेखि विकास योजनासम्म कुनै पनि काम बिना पैसा नहुने गुनासो गरेका छन्। उनले सिँचाइ, खानेपानी र मठमन्दिरको सन्दर्भमा बजेट विनियोजन, योजना कार्यान्वयनका लागि कमिसन अनिवार्य लिने गरेको आरोप छ ।
नगरपालिकामा आफन्तवाद मौलाएको आरोप पनि मेयर महतोमाथि लागेको छ। आफ्ना नातागोता तथा निकटका व्यक्तिलाई मात्रै करार सेवामा जागिर दिएको भन्दै स्थानीय युवाहरू आक्रोशित छन्। “योग्यता होइन, पहुँच र नाता हेरेर जागिर बाँडिएको छ,” एक स्थानीय युवाले गुनासो गरे।
निर्वाचनका बेला समेत उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदातालाई चामलका बोरा वितरण गरेको आरोप छ।
निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनको लागि आचारसंहिता लागू गरेको भए पनि त्यसको खुलेआम उल्लंघन गरेका थिए मेयरले।
मेयर महतोको राजनीतिक जीवन पनि विवादरहित छैन। नेपाली कांग्रेस धनुषाको क्षेत्रीय समितिले उनलाई पार्टी अनुशासन विपरीत गतिविधि गरेको भन्दै ६ वर्षका लागि निष्कासन गर्न सिफारिस गरेको थियो। कांग्रेस क्षेत्रीय सचिव बुधेश्वर महतोले विस्तारित बैठकमार्फत यस्तो निर्णय भएको जानकारी दिएका थिए।
यता जेन्जी आन्दोलनकर्ताले मेयर महतोको घरमा आगजनी गरेको घटना समेत चर्चामा आएको थियो। त्यस घटनापछि स्थानीय स्तरमा उनको कार्यशैलीप्रति झन् तीव्र असन्तोष देखिएको बताइन्छ।
स्थानीय नागरिक समाज तथा अधिकारकर्मीहरूले भने मेयर महतोमाथि उठेका सम्पूर्ण आरोपको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। “यदि आरोप सत्य हुन् भने कानुनी कारबाही हुनुपर्छ, झुटा हुन् भने तथ्यसहित जनतालाई स्पष्ट पारिनुपर्छ,” एक अधिकारकर्मीले बताए।
दिनहुँ मदिरामा लठ्ठ रहने मेयरकाे घटनाक्रम र नालीबेली अर्को श्रृंखलामा….सम्पादक

मेयर महेन्द्र महतोले दादागिरी, अदालतकाे पनि अवहेलना गर्दै (आदेशसहित)





























