लुम्बिनी प्रदेशको बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खगेन्द्र सुनारविरुद्ध विभिन्न समयमा सार्वजनिक शान्ति, स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार तथा विद्युतीय कारोबारसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढेको विवरण खप्तडटिभीले फेला पारेको छ।
प्राप्त विवरणअनुसार सुनारको जन्म २०४७ जेठ २ गते दैलेखमा भएको हो। उनका पिता कमानसिं सुनार हुन्। उनी दैलेखको नारायण नगरपालिका–२, भैसेखोरका स्थायी बासिन्दा रहेको विवरणमा उल्लेख छ।
सार्वजनिक शान्तिविरुद्धको कसुरमा २० हजार धरौटी
सुनारविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा २०८० असार ३ गते सार्वजनिक शान्तिविरुद्धको कसुरसम्बन्धी मुद्दा दर्ता भएको विवरण छ।
उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालय सुर्खेतले २०८० असार ११ गते उनलाई रु. २० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको उल्लेख छ।
स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहारको आरोप
त्यसैगरी, २०८१ असार ७ गते सुर्खेतको गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा सुनारविरुद्ध मुद्दा चलेको विवरण छ।
उक्त घटना ‘स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात’ शीर्षकमा मुद्दाका रूपमा अघि बढाइएको बताइएको छ। सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको विवरणमा उल्लेख छ।
फेसबुक पोस्ट र लाइभलाई लिएर विद्युतीय कारोबारको मुद्दा
सुनारविरुद्ध विद्युतीय कारोबारसम्बन्धी अर्को कानुनी विवाद पनि अदालतसम्म पुगेको छ।
अधिवक्ता मनीषा गौतमले सुनारले सामाजिक सञ्जाल फेसबुक पोस्ट तथा लाइभमार्फत आफूलाई अपमानजनक तथा आपत्तिजनक भाषा प्रयोग गरेको आरोप लगाउँदै विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीको मागसहित २०८२ साउन २ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियोे।
मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०८२ साउन ५ गते प्रहरीलाई सुनारलाई पक्राउ गर्न अनुमति दिएको थियो।
त्यसपछि सुनार २०८२ कात्तिक १३ गते अदालतमा उपस्थित भई बयान दिएका थिए।
सोही दिन बयान तथा थुनछेक बहसपछि न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले उनलाई रु. ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको विवरणमा उल्लेख छ।

































