वि.सं.२०८१ साउन १० बिहीवार

‘नाम: ‘रियल गोर्खा’, काम: ठग्ने’ : जनतामारा सहकारीका हर्कबहादुरका हर्कतको नालीबेली

आफैं सञ्चालक, आफ्नै श्रीमतीलाई ऋण र आफैं जमानी : कस्तो काइदा, ‘आफैँ झाँक्री आफैँ को नि के !’

अहिले सहकारी भन्यो कि मान्छेको त्यसै सिरिङ्गो तातिन्छ । त्यसमा पनि ठग्ने वा बचत कर्ताको रकम हिनामिना गरेर भाग्नेहरुको त मान्छेहरु नामै सुन्न चाहँदैनन् । त्यसरी बदमासी गर्नेहरुका कारण इमान र जमानले चल्ने संस्थाहरु समेत बदनाम् हुन पुगेका छन् । मान्छे ठग्नलाई अरु कुनै मेलो नपाएर सहकारीको खोल ओढ्ने महागठहरु अहिले पनि ठाडो शिर पारेर हिँडिरहेका छन्, असनमा छोडिएको साँढे जस्तै । तिनलाई ठेगान लगाउने र पाता पर्काउने माइकललाल कोही निस्किएनन्, अहिलेसम्म ।

सहकारीका माध्यमबाट गरिबी निवारण गर्ने भनेर राज्यले ऐन कानून ल्यायो । विभागीय मन्त्रालय नै खडा गरिदियो । सहकारी संस्थाको संर्वद्धन प्रवद्र्धनका लागि भनेर विभाग, डिभिजन आदि इत्यादि संरचना बनाइदियो । ति सबका सब अहिले बेकामे निस्किए । तिनले सिर्फ सहकारी खोल्नेहरुलाई साथ दिए । जनताबारे एकरत्ति पनि सोचेनन् । भटाभट दर्ताको प्रमाणपत्र बाँडे ।

दाँया–बायाँ, यता–उता कतै पनि हेरेनन् । हुक्का चिलिम्, अइरे गैरे । जुनसुकै नाममा पनि सहकारी खोल्ने लाइसेन्स दिए । तिनका सञ्चालक को हुन् ? तिनले के गर्छन् ? ति कहाँ बस्छन् ? तिनको तिनपुस्ते के हो ? तिनले के कति स्वार्थका लागि सहकारीको सहारा लिए ? यस्ता कुनै पनि प्रश्नको ख्याल नगरी सहकारीको भीड जम्मा पार्ने काम राज्यले गरिदियो । ऐन कानून र सामाजिक मूल्य मान्यतालाई सर्वोपरी ठानेर संस्था चलाउने शपथ खाएका सहकारीको लाइसेन्सधारी लुटेराहरु झन् के कम् ? राज्यले दिएको सुविधालाई ठगिको लाइसेन्स सम्झिए । अहिले त्यही लाइसेन्स देखाउदै देश दुनियाँलाई लुटिरहेका छन् ।

यदि त्यसो नहुँदो हो त, एउटा सिस्टमले चल्नु पर्ने सहकारीको यस्तो कन्तविजोग किन हुन्थ्यो ? सहकारीको साहु’महाजन भएर पनि भाग्दै किन हिँड्नु पर्दथ्यो ? यतिधेरै सहकारीहरु किन नाङ्गेझार हुन्थे ? दिनरात एक गरेर, दश नङ्ग्रा खियाएर, महिनौ पसिना चुहाएर आर्जेको दुई चार पैसा जम्मा गरेका बचतकर्ताले किन पु्र्पुरो समातेर बस्नु पथ्र्यो, हँ ? सहकारी कै बैमानीका कारण किन आत्महत्याको डोरो समात्नु पथ्र्यो ? यसको जवाफ छ, कसैसँग ? यहाँ आफ्ना पीडा भन्नलाई पनि सडकमा आगो लगाएर मर्नु पर्ने, निमुखाले ? अनि सहकारीका नाउँमा लुटपाट गर्ने सुकुलगुण्डाहरु खुलेआम घुम्ने ? यो त तरिका भएन नि !

केहि समय पहिले पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ आफ्नै दादागिरीले नाङ्गियो । अब यो पल्ट नाङ्गिने पालो हो, काठमाडौंको तीनकुनेमा ‘हेड अफिस’ बताउने रियल गोर्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको । खप्तडटिभीले तीन महिना लगाएर यसको प्रधान कार्यालय, सेवा कार्यालय तथा संचालकहरुको नालीबेली खोज्यो । तीनकुनेमा प्रधानकार्यालय अर्थात् हेड अफिस भन्ने गरेको रियल गोर्खाको रियालिटी बडा गज्जब रहेछ । झट्ट सुन्दा मान्छे मुर्छा पर्छन् भने, भित्र बुझ्दै जाँदा सिरिङ्गो तात्छ ।

यो पनि….

ठेला गाडा गुडाएर जीवन धान्नेहरु, साग बेचेर बच्चा पढाउनेहरु, ‘पैचो’ तथा पसल गरेर बचाएको रकम संकलन गरेर झ्वाम पार्ने तथा कमिसनको चक्करमा आफ्नो चित्त परेका एवं फर्जी व्यक्तिहरुलाई ऋण लगानी गर्ने सहकारीको नाम चाँहि ‘रियल गोर्खा’ । अरे ! वाह, रियलको ‘रिल’ धन्दालाई मान्नै पर्छ । ‘रियल गोर्खा’का अध्यक्ष हर्क कठायत मानवीय मूर्तिका हिसाबले चाँहि वास्तविक होलान् । तर, उनीभित्र हुनुपर्ने मानवीयता भने शून्य भइसकेको देख्छन्, बचतकर्ताहरु । झुठको त बाउ हुन्, उनी ।

डोटी जिल्लाबाट काठमाडौं पसेर काठमाडौं कै नागरिकलाई बेवकुफ बनाउन सक्ने उनी आफुलाई साह्रै धूर्त ठान्छन् । र, तीनकुनेमा प्रधान कार्यालय भएको सहकारीलाई जोरपाटी र भक्तपुरको राधेराधेसम्म विस्तार गरेर आफ्नो बठ्याइँ वा धूर्ततालाई केही हदसम्म पुष्टी गरेकै हुन्, कठायतले । तर, उनको त्यो बठ्याइँ धेरै समय टिक्न सकेन । केही गरि छोपिएन उनको लाज, धोती फुस्किहाल्यो । मिडियालाई अफर दिँदा समेत बिचरा उनको इज्जत छोपिएन । कठै बरी लैलै नि !

हेरौँ खप्तडटिभीलाई उनले गरेको अफर

नियत खराब भएपछि कसको के लाग्छ र ? भीरबाट लड्ने गाइलाई रामराम भन्लान् मान्छेले, काँध थाप्न पक्कै जाँदैनन् । यतिबेला कठायतलाई त्यस्तै भएको छ । प्रधान कार्यालयको नाम मात्रै छ । कार्यालय छैन । त्यसका हाकिम र कर्मचारी बचतकर्ताको लगानी हिनामिना गरेर गुमनाम छन् । हुँदा–हुँदा जोरपाटीको सेवा कार्यालय पनि धरापमा छ । बचतकर्ताहरु दैनिक धर्ना दिन आउँछन् । सेवा कार्यालयमा एकदुई थान कर्मचारी बाहेक अरु कसैलाई भेट्दैनन् ।

घण्टौँ तिनै कर्मचारीसँग आफ्नो तीतो पोख्छन्, रित्तो फर्किन्छन् । बचतकर्ता यसरी दिनहुँ बर्बाद भइरहेका छन् । तर, अध्यक्ष कठायत अफिसमा आउनु त के कसैको फोनसम्म पनि उठाउँदैनन् । कहिले काँही त कर्मचारीबाट समेत सम्कर्कविहिन हुन्छन् । कर्मचारीको बयान अनुसार पुससम्म धरमर धरमर गरेर संस्था चलिरहे कै थियो । माघबाट सब थोक भताभु्ङ्ग, लथालिङ्ग भयो । अनि सञ्चालक र जिम्मेवार कर्मचारीहरु बचतकर्तालाई छल्न अनेकन् जुक्ति लगाउन थाले ।

मूली नै ‘मूलासाग’परेपछि अरु लुक्नु कुन् नौलो कुरा भयो र ? जो अगुवा उही बाटो ह*गु*वा भएपछि बाँकीकाले त त्यही सिको गर्ने भइहाले नि ! कठायतले सहकारीको नाममा धेरै थरी तिकडम् गरेको भन्ने थुप्रै प्रमाण भेटेको छ, खप्तडटिभीले । काठमाडौं उपत्यकामा सहकारी चलाउने हो भने सञ्चालकको काठमाडौं मै घर वा जग्गा चाहिने नियम छ । तर, उनले कपनमा घर छ, भनेर ढाँटे । पहिले थियो, अहिले बेचे पनि भन्न भ्याए । उनकै संस्थामा काम गर्नेहरु र उनलाई नजिकबाट चिन्ने बचतकर्ताले दिएको जानकारी अनुसार कपनमा त उनको डेरा मात्रै रहेछ ।

अर्कोतिर उनले राज्यको आँखामा छारो हालेर कर्मचारीलाई आलंकारिक अर्थात् नाम मात्रको बोर्ड पदाधिकारी बनाएका रहेछन् । भक्तपुरको सेवा कार्यालयमा हाल कर्जा अधिकृत रहेका सञ्जय कार्कीलाई उनले कोषाध्यक्ष तोकेका छन् । सञ्जय आफु आलंकारिक कोषाध्यक्ष मात्रै भएको बताउँछन् । र, आफुलाई कार्यकारी कुनै भूमिका नरहेको जिकिर गर्छन् ।

कोषाध्यक्ष/सञ्जय कार्की

उता प्रधान कार्यालयमा म्यानेजर रहेका अनित राई समेत बोर्ड पदाधिकारी छन् । जो अहिले आफै सञ्चालक भएर आफ्नै श्रीमती तथा नरनातालाई ऋण दिलाई, जमानी बसेर पनि एक सुक्को नतिरी फरार छन् । अनि बोर्डमा अन्य सदस्यहरु कहाँ के ? भन्ने थाहापत्तो छैन ।

प्रधान कार्यालयका म्यानेजर /अनित राई

अचम्म के भने कर्मचारीलाई बजारबाट पैसो उठाउने तरिका मात्रै सिकाइएको देखिन्छ । उनीहरु ललाई फकाई, लोभ प्रलोभ अनेक तरिकाले बजारबाट पैसो ल्याउँछन् । त्यसरी एउटै संकलकले करोडमाथि रकम बजारबाट उठाएको देखिन्छ । तर, त्यसको हिसाब किताब भने उनीहरुलाई थाहा छैन अरे ! बचतकर्तालाई दिने जवाफ पनि छैन । गज्जब छैन न त ? अगुवा, भगुवा भएका छन् ।

पहिल्यै लोन तथा अग्रिम तलब लिएर घरमा आराम गरिरहेका कर्मचारीहरु ‘हामको कुच नहीँ पता’ अर्थात् हामीलाई केही थाहा छैन, सिवाय केही शब्द निकाल्दैनन् । यसले संकलकलाई बजारबाट उठाउने तरिका मात्रै सिकाइएको हो वा उनीहरुलाई झुठ बोल्ने तालिम नै दिइएको हो, छुट्याउन कठिनाई छ । अनि आफैं बजारबाट पैसो उठाएर ल्याउने, आफै हिनामिना गर्ने र आफ् आफैँ कुटाकुट गर्ने ‘खासीयत’ भएका कर्मचारीहरु मै’मत्ता भई हिँडिरहेका छन् ।

तीनकुनेमा त भाडै नतिरेर सबैजना फरार भइहाले । जोरपाटीमा पनि कर्जा अधिकृतलाई कुन व्यक्तिले कति र कसरी कर्जा लिएको भन्ने थाहा छैन । मार्केटिङमा काम गरिरहेको व्यक्तिलाई कर्जाको जिम्मा दिइएको छ । बजारको सुपरभाइजरलाई म्यानेजर भन्न लगाइएको छ । तर, वास्तवमा जोरपाटीमा कुनै म्यानेजर वा मेकानिजम छैन । ऋण लिने को हुन् ? कहाँ बस्छन् ? हामीलाई थाहा छैन, सब थोक हर्क सरलाई थाहा छ, भन्छन् कर्मचारीहरु । उनीहरुका हर्क सरले चाहिँ अनुहार देखाउदैनन् । बाहिरबाहिरै म ठूलो रकम भएका बचतकर्तालाई जग्गा मिलाएर सेटल गर्दै छुँ भन्छन् । उनी एकै निमेषभरमा कहिल्यै चितवन त, कहिले काठमाडौं र कहिले इटहरी पुग्छन् । जादुगर जस्तोः एकछिन् अघि चितवन भनेको मान्छे, क्षणभर मै काठमाडौंस्थित सहकारी विभागमा प्रकट हुन्छन् ।

कति झुठ बोल्न सकेका, आफु जस्तो, कर्मचारी पनि उस्तै । ठ्याक्कै हल मिलेका । भक्तपुरको राधेराधेमा रहेको सेवा कार्यालयकी म्यानेजर पुजनी श्रेष्ठ झुठ बोल्नलाई झन् माहिर । उनको त कुरै छोडौं । अनित राई, सञ्जय कार्की र हर्क कठायत उनको सम्पर्कमा हुँदा पनि उनले सम्पर्क भएको छैन भन्दै धेरै दिन ढिपी गरिन् । अन्ततः उनको झुठ बाहिरियो । उनकै श्रीमान् जग्गाको कारोबार गर्न पटक–पटक हर्क कठायत भा’ठाउँ जानेआउने गर्दा रहेछन् । त्यो कुरा आफ्नै मुखले आइतबार बचतकर्तासामु भनिन् ।

म्यानेजर पुजनी श्रेष्ठ

आइतबार जोरपाटीमा बचतकर्ता र कोषाध्यक्ष तथा कर्मचारीबीच हात हालाहालको अवस्था सिर्जना भयो । आफुहरुको लगानी हिनामिना गरेर सञ्चालक तथा कर्मचारीहरु फरार भएको भन्दै निकै आक्रोशित बनेका बचतकर्ताले आइतबार जोरपाटी कार्यालय मै पदाधिकारी तथा कर्मचारीलाई थुन्न खोजेपछि आफ्नो बचाउ गर्न कर्मचारीले प्रहरी समेत बोलाए ।

अन्तमा बचतकर्ता झुठा आश्वासन बोकेर घर फर्किए । बचतकर्ताले आफुहरुलाई कुनै एउटा निधो दिन भन्दै बारम्बार भनेपनि कठायत टोलीले अटेरी गरिरहेको छ । र, कठायत स्वयं केटकेटी पाराले हल्का जवाफ दिइरहेका छन्, ‘ठूला बचत कर्तालाई जग्गा मिलाउँछु, थोरै बचत भएकाहरुलाई लोन उठाएर दिन्छु ।’ तर, उनले यसो भनेको वर्ष दिन वितेपनि केही लछारपाटो लगाउन सकेका छैनन् । यो त उनको बचतकर्तालाई छल्ने जुक्ति मात्रै हो ।


जनताको पैसा खाएर कुलेलम ठोके पनि मेरा नेता र ‘खल्तीका पत्रकार’ले बचाउँछन् भन्ने उनलाई अहिले पनि ठूलो भ्रम छ । यदि त्यसो हो भने उनले त्यो भ्रम तुरुन्त तोडे हुन्छ । नभए उनका नेताको समेत भित्रि पोल खुल्न सकेण्ड नलाग्ला । बचतकर्ता एवं पीडितको आग्रहमा समाचार संकलन गर्न पुगेका पत्रकारलाई उनले देखाएको लोभ र धम्कीले पनि उनको असली अनुहार झल्काउँछ । हर्कबहादुर जुन दुलोमा लुकेर यस्ता हर्कत गरिरहेका छन्, त्यो उनको भावि जीवनका लागि अन्त्यन्त हानिकारक छ । र, तुरुन्त बचतकर्ताका समस्या समाधान नगरे हर्कबहादुर’टोलीको सात पुस्तासम्मले दुःख पाउने पक्का छ ।

रियल गोर्खाको… थप रियालिटी अर्को श्रृंखलामा