वि.सं.२०८१ कात्तिक २८ बुधवार

सम्भावनायुक्त खेल पर्यटन : लगानी सम्मेलनमा किन उपेक्षा ?

हिजो बिदाई गरिएको वर्ष २०८० नेपाली खेलकुदका लागि थोरै सफलता तथा धेरै निराशाका साथ सम्पन्न भएको छ। हामी नयाँ वर्ष २०८१ लाई स्वागत गर्न अग्रसर छौ।

यो वर्ष नेपालले सहभागिता जनाएको सबै भन्दा प्रमुख खेल चीनमा भएको एसियाली खेलकुद नै हो। प्रतियोगितामा नेपाली कराते खेलाडी एरिका गुरुङले रजत पदक जित्न सफल भइन् भने नेपाली कबड्डी टोली कास्य पदक जित्न सफल भयो। टिम गेममा नेपालले एसियाली खेलकुदमा पाएको त्यो नै पहिलो पदक हो।

एसियाली खेलकुदका लागि भएको कराँते खेलको छनोटको क्रममा हलमा कुटाकुट नै भएको थियो। नेपाल ओलम्पिक कमिटीको मनोमानी २०८० मा पनि कायम रह्यो। नेपाल ओलम्पिक कमिटीको नेतृत्वदायी तहमा रहेका पौडी, टेबल टेनिस, फेन्सिङ, ब्याडमिन्टन, एथलेटिक्स र टेनिसका साथै लामो समय ओलम्पिक कमिटीको नेतृत्व गरेको जिम्न्यास्टिक लगायत खेलको साधारण सभा हुन सकेको छैन।

नेपालले दुई वर्षपछि हुने टी–२० विश्वकपको ढोका खोल्यो। यो सबैभन्दा गर्विलो अवसर हो। नेपाली क्रिकेटले पहिलोपटक एसिया कप खेल्यो भने टी–२० आईमा तीन सयभन्दा बढी रनको स्कोर खडा गर्यो। नेपालको यू–१९ टोलीले पनि यही वर्ष विश्वकप खेल्यो। त्यसअघि टोलीले प्रिमियर कप खेल्दै एसिया कपमा समेत अनुभव लिने मौका पायो।

वर्षभर नेपाली क्रिकेट चलायमान हुँदा अलराउण्डर दीपेन्द्र सिंह ऐरीले दुर्लभ विश्व कीर्तिमान कायम गरे। अर्का क्रिकेटर सन्दीप लामिछानेले पनि टी–२० खेलमा सर्वाधिक विकेट लिँदै विश्व कीर्तिमानमा आफ्नो नाम राख्न सफल भए।

एरिका गुरुङले करातेका लागि पहिलो रजत पदक दिलाउँदा व्यक्तिगत स्पर्धामा पदक जित्ने दोस्रो खेलाडी बनिन्। यही वर्ष उनले अमेरिकामा भएको यूएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण र रजत पदक जितिन्।

पारा तेक्वान्दोमा पलेशा गोबर्धन पेरिस पारालिम्पिक गेम्समा छनोट भइन्। एथलेटिक्समा सन्तोषी श्रेष्ठले बंगलादेशको ढाकामा भएको हाफ म्याराथनमा स्वर्ण जित्दै डेब्यु म्याराथनमा नै स्वर्ण पदक जित्न सफल भइन्।

यो वर्ष महिला फुटबलमा साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपमा आमन्त्रित टोलीका रुपमा सहभागी राष्ट्रिय महिला फुटबल टोली रजत पदक जित्न सफल रह्यो।

फरवार्ड सावित्रा भण्डारी साम्बाले ५३ गोलको कोशेढुङगा पार गर्दै दक्षिण एसियाकी सर्वाधिक गोलकर्ताको रुपमा आफूलाई दर्ज गरेकी छन्।

साम्बा युरोपियन लिग खेल्न इजरायल पुगिन्, फ्रान्सको लिग खेल्दै नेपालबाट शीर्ष डिभिजनको युरोपियन लिग खेल्ने पहिलो महिला खेलाडी बनिन्।

खेलभन्दा अन्य कुराले अखिल नेपाल फुटबल संघ (एन्फा) तातिरह्यो। आन्तरिक विवाद हुँदै भ्रष्टाचार र पदाधिकारीको विदेश भ्रमणसम्मका विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाइरहे। नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला खेल्न अयोग्य हुँदा पुरुष फुटबल टोलीले फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको खेल बहराइनको मैदानमा खेल्न बाध्य भयो।

क्रिकेटको सन्दर्भमा कुरा गर्दा बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको सहकार्यमा बहुप्रतिक्षित गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माणको लागि ठेक्का लागेको छ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद सम्मान कार्यविधि २०८० जारि गरेको छ । सरकारले घोषणा गर्ने तर खेलाडीले नपाउने पुरष्कार रकम पाउन सुरु गरेका छन् । प्रचुर सम्भावना भएको खेलकुद क्षेत्रलाई सरकारले बुझ्नै सकेन, निजी क्षेत्र पनि अलमलमै रहेको भान भने अबको केहि दिनपछि सुरु हुन लागेको लगानी सम्मेलनले दिने छ ।

सरकारले आगामी वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्दै छ । जसमा १२८ परियोजना शो-केसमा छन् । तर लगानीको प्रचुर सम्भावना भएको खेलकुद क्षेत्रको भने एउटा पनि परियोजना समावेश छैनन् । जबकि खेलकुदलाई ठूला-ठूला पूर्वाधारको खाँचो छ । तर अझै पनि खेल क्षेत्र उद्योग बन्न सक्छ भन्ने सोच नेतृत्व र निजी क्षेत्रमा देखिएको छैन । सरकार कानमा तेल हालेर निदाएको छ !

नेपालले तेस्रोपटक लगानी सम्मेलन गर्दै छ । तर खेलकुद पनि देशको आर्थिक समृद्धिको महत्त्वपूर्ण हिस्सा हो भन्ने हेक्काचाहिँ न सरकारलाई भएको छ र निजी क्षेत्रलाई नै । पछिल्लो समय क्रिकेटको क्रेज अत्यधिक छ । त्रिवि क्रिकेट मैदान दर्शकको क्षमता नथेग्ने स्थितिमा पुगिसकेको छ । विराटनगर, भैरहवा, वीरगन्ज, धनगढीलगायत सहरका पूर्वाधार अधुरै छन् । मूलपानीस्थित क्रिकेटको तल्लो मैदान सरकारको लगानीमा निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सम्पन्न भएको छैन । दशरथ रंगशालाको विकल्प नहुँदा राष्ट्रिय फुटबल टिम होम गेम पनि विपक्षीकै मैदानमा खेल्न विवश छ ।

खेलाडी र प्रशिक्षकको क्षमतालाई अभिवृद्धि गर्दै प्रोत्साहन कार्यक्रमलाई प्रत्येक नीति तथा कार्यक्रममा समावेश गरिएको हुन्छ तर त्यसको प्रभावकारी कार्यन्वयन कुनै वर्ष पनि भएको देखिन्छ । खेलकुदमैत्री वातावरण निर्माणमा सहजीकरण गरिदिँदा धेरै उपलब्धि हासिल हुन सक्ने अवस्था छ । त्यसमा नेपालका प्रशासक तथा नेताहरूको ध्यान पुगेको पाइँदैन ।

स्थानीय स्तरसम्म पुगेको राष्ट्रपति रनिङ सिल्ड झारो टार्ने हिसाबले मात्र सञ्चालन भएको छ । त्यसलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्नेतर्फ ध्यान जानुपर्छ । खाली स्थानमा खेल पार्क, ग्राम निर्माण गर्ने र निःशुल्क रूपमा बालबालिकादेखि वृद्धासम्म खेलकुदमा सहभागी गराउन सकेको खण्डमा सामाजिक परिवेशसमेत निर्माण हुनेछ । आशा छ सरकारले खेल पर्यटन मार्फत राष्ट्रिय समृद्धिको लक्ष्य पुरा गर्ने छ।

(लेखक घिमिरे अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य हुन् !)