वि.सं.२०८१ जेठ ६ आइतवार

सिन्सियरबाट कसरी लुटिए ऋणिहरु ? को–को भए तहसनहस ? (श्रृंखलावद्ध खोज)

घरघरमा सहकारी, गुण्डाकाे भकारी..!

गरिबी निवारणको अचुक उपाय भनेर मुलुकभर सहकारीको बाढी लगाइदियो, सरकारले । यस्तो बेथिति होला भन्ने चाँहि जानेन । काठमाडौं उपत्यकाको त के कुरा ? टोलटोल मात्रै होइन घरघरमा सहकारी छन् । तर, ति सहकारीले गरिबी निवारणमा टेवा गर्नुको साटो नवधनाड्यहरु जन्माए ।

ठग लुटेराहरुलाई झन् शक्तिशाली बनाए । अहिले पनि सहकारी चलाउनेहरु मध्ये अधिकांश चलाखि गरेर आ–आफ्नै भकारी भर्न व्यस्त छन् । बचतकर्ता र ऋणीहरुको कहिल्यै उत्थान भएन र यिनले साससम्म फेर्न पाएका छैनन् ।

प्रहरीले गुण्डा नाइके भन्ने गरेका एकाध व्यक्तिहरु कथित इन्काउन्टरमा मारिएपछि मान्छेहरुलाई गलत भ्रममा पारियो, अब गुण्डाराज सकियो भनेर । त्यसो होइन रहेछ, उनीहरुको स्थानान्तरण वा रुपान्तरण भएको रहेछ । हिजो सामूहिक आक्रमण गर्ने, खुँडा हान्ने, डकैती गर्ने र विभिन्न असुलीका धन्दा चलाउनेहरुले सहकारी तथा वित्तीय संस्थाको बर्को ओढेर धन्दा जारी नै राखेका रहेछन् । प्रहरीले भन्ने गरेका गुण्डाहरु त सहकारीमा पो पसेछन् । यसको रहस्योद्घाटन बल्ल भएको छ ।

काठमाडौं उत्यकामा मीठा र आकर्षक नारा राखेर खोलिएका केही सहकारीहरुको लुट धन्दाले प्रहरीले भन्ने गरेको गुण्डाराजलाई पनि चक्मा दिनसक्छ । खप्तड टिभीको खोजबाट यस्ता धेरै रहस्यहरु क्रमशः पर्दाफास हुँदैछन ।

केही समय पहिले बहुचर्चाको विषय बनेका कुलेश्वरको गौतमश्री र सोल्टीमोडको सिभिल सहकारीले सर्वसाधारण लुटेको फेहरिस्त यहाँ भनिरहनु परेन । त्यसैगरी लालीगुराँस सहकारी हुँदै युनिटी काण्डसम्म पनि सबैलाई विधितै छ । त्यत्रो बेइज्जत हुँदा पनि सहकारीहरु सुध्रिएका रहेनछन् । नभन्दै पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड को–अपरेटिभ लिमिटेडको ब्रह्मलुट बाहिरिएको छ । त्यसैगरी भक्तपुरको जगाती र काठमाडौंको तीनकुनेमा केन्द्रीय कार्यालय राखेर जनता ठगिरहेका सहकारीको पनि पोल खुल्दै गएको छ ।

गरिखाने वर्गलाई ऋणको पासोमा पारेर विल्लीबाठ लगाएको सिन्सियरले यस वर्ष मात्रै आफ्नो २३औँ वर्षगाँठ मनायो । ससाना केही सञ्चारमाध्यममा वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको र सिन्सिरको नामै काफी रहेको भनी हर्षबढाइँका समाचार आए । सत्यलाई मिथ्याले छोप्न सिपालु सिन्सियरका सञ्चालकलाई अहिलेलाई अहिले पनि भ्रम छ, खास पत्रकारिता यहि नै हो भनेर । बिचरा, ति सञ्चारमाध्यम ! तिनलाई के थाहा ? ट्याक्सीका लागि ऋण दिएको सिन्सियरले कतिको उठिबास लगायो ? कतिलाई बौलाहा बनायो ? कतिलाई जेल कोच्यो ? सिन्सियरका कार्यकारी सञ्चालक राजेश खड्का उनको भक्तीगानलाई मात्रै समाचार मान्दा रहेछन् ।

र, खप्तड टिभीलाई पनि त्यस्तै प्रकारले समाचार लेखे राम्रो हुने तथा सम्बन्ध बढ्ने लोभ देखाएथे ।

त्यति मात्रै होइन, भनेको नमाने प्रहरी प्रशासन लगाएर पाता पर्काउने तथा जे पनि गर्न सक्ने भन्दै धम्कीपूर्ण म्यासेज गरेका छन्, पटक–पटक ।

काभ्रेका केदार ढुंंगाना अहिले पनि नख्खु कारागारमा छन् । उनीसँग असुल्नु असुलेर अन्तिममा जेल कोच्यो, सिन्सियरले । रोपनीका रोपनी जग्गा खाइदिएपछि एक जना पूर्व प्रहरी बौ*ला*ए । उनको दिमागि हालत ठीक छैन । ४ सय ट्याक्सी भएका एक जना रिकन्डिसन व्यवसायी सिन्सियरको ऋण तिर्दा तिर्दै टाट पल्टिएर भुमिगत भए ।

त्यति मात्रै होइन, १७–१८ वर्षदेखि मानसिक रोगको औषधि सेवन गरिरहेका एक जना ट्याक्सी धनीलाई अर्कैले लिएको ऋणमा फसाइदियो, सिन्सियरले । भन्ने हो, भने नेटवर्किङ धन्दाको जालो भन्दा कम छैन, सिन्सियरको ठगि प्रकरण ।

याे पनि…..

सिन्सियरका कार्यकारी सञ्चालक खड्काले आफुहरु अहिलेसम्म नियम कानूनअनुसार चलेको र कुनै पनि ठाउँमा नचुकेको जिकिर गरिरहेका छन् । तर, उनले खप्तडटिभीसँग झुट बोलेका रहेछन् भन्ने कुरा यो, सेयर प्रमाणपत्रले थप पुष्टि गरिदियो ।

सिन्सियरले ऋण दिनु अघि दिएको सेयरको प्रमाणपत्र

ऋण दिनेबेलामा सिन्सियरले यसरी सेयर दिएको थियो । तर, अहिलेसम्म त्यसको कुनै हिसाब किताब छैन । हुँदा हुँदा यो प्रमाणपत्र दिइएका सेयरधनीले ऋण नै तिर्न नसकी ट्याक्सी गुमाए । अचम्म के भने ? २५ हजारका दरले वर्षदिनसम्म किस्ता बुझाउँदा सावा जम्मा २ हजार घटेको हिसाब सुनेपछि चक्कर खाएर ढलेका थिए, यो प्रमाणपत्रधारी सेयरधनी ।

कार्यकारी सञ्चालक खड्काले चिल्ला कुरा गर्दै, ‘हाम्रो व्याजदर भनेको १६, साढे १६ प्रतिशत मात्रै हो । र, सेवा सुल्क पनि हामीले ऋण लिँदा मात्रै लिएका छौँ, पटक–पटक सेवा शुल्क लिएको भन्ने कुरा गलत हो’ भनेथे । तर, त्यसो होइन रहेछ, २५ हजारका दरले किस्ता बुझाउँदा पनि वर्षको ३ लाख रुपियाँ हुन आउँछ ।

वर्षदिनमा सावा जम्मा २ हजार घट्यो भन्दा अचम्म होइन त ? किन नहुनु र अचम्म ? ‘६–६ महिनामा लोन नविकरण गर्नु पर्छ भन्दै अनेक हिसाब किताब जोडेर लोन त अर्को वर्ष झण्डै दोब्बर हुन लाग्यो अनि के गर्नु हजुर, घाटा खाएर ट्याक्सी बेचें । ट्याक्सी बेचेर पनि मुक्ति पाइँन । सिन्सियरको लुतो अहिले पनि चिलाइरहेकै छ’ ति पीडितले खप्तडटिभीसँग भने ।

यो घटनाक्रमको सारसंक्षेप मात्रै हो । सिन्सियर नामको अजिङ्गर सोझा साझालाई आहारा बनाएर कसरी कुस्त भएको रहेछ ? भन्ने नालीबेली अर्को श्रृंखलामा….(पीडित र प्रमाणसहित)

‘सिन्सियरबाट पीडितहरुको संख्या सय होइन हजारमा रहेको भन्न खुल्न आएका कारण सम्पर्कमा आउनका लागि सार्वजनिक रुपमै अपिल गर्दछौँ ।’ -प्रधान सम्पादक 
सम्पर्कका लागि (वाट्सप, भाइबर नम्बर) ९८४८६४००९०, email- khaptadtv.com@gmail.com, https://www.facebook.com/khaptadtv