वि.सं.२०८१ साउन १० बिहीवार

मानव बेचबिखनको आरोपमा पक्राउ

मानव बेचबिखनको आरोपमा रुपन्देहीको तिलोत्तमाका एक होटल सञ्चालकसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा रहेको हेटल हेभनका सञ्चालक तुलसीराम पराजुली र पूजा बिक रहेका छन् ।

दुई वर्षदेखि फरार रहेका पराजुली र बिक केही दिन अघि पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

२०७६ सालमा बुटवलको चौराहामा वेल्कम रेष्टुरेण्ट सञ्चालन गरेका पराजुलीले कामदारको रुपमा पूजा बिकलाई राखेका थिए ।

पूजाको सहयोगमा अन्य युवतीलाई पनि यौन व्यवसायमा लगाएको आरोपमा उनीहरुविरुद्ध उजुरी परेको थियो ।

बुटवलमा हालैमात्र सरुवा भई आएका प्रहरी नायब उपरीक्षक थापाले पराजुलीविरुद्ध परेको मानव बेचबिखनविरुद्धको उजुरीको फाइल अनुसन्धानका लागि अगाडि बढाएपछि उनीहरू पक्राउ परेका हुन् ।