वि.सं.२०८१ जेठ ६ आइतवार

यस्ताे छ एकता बुद्धको ठगी धन्दा.!

गरिबी निवारणको अचुक उपाय भनेर मुलुकभर सहकारीको बाढी लगाइदियो, सरकारले । यस्तो बेथिति होला भन्ने चाँहि जानेन । काठमाडौं उपत्यकाको त के कुरा ? टोलटोल मात्रै होइन घरघरमा सहकारी छन् । तर, ति सहकारीले गरिबी निवारणमा टेवा गर्नुको साटो नवधनाड्यहरु जन्माए ।

ठग लुटेराहरुलाई झन् शक्तिशाली बनाए । अहिले पनि सहकारी चलाउनेहरु मध्ये अधिकांश चलाखि गरेर आ–आफ्नै भकारी भर्न व्यस्त छन् । बचतकर्ता र ऋणीहरुको कहिल्यै उत्थान भएन र यिनले साससम्म फेर्न पाएका छैनन् ।

प्रहरीले गुण्डा नाइके भन्ने गरेका एकाध व्यक्तिहरु कथित इन्काउन्टरमा मारिएपछि मान्छेहरुलाई गलत भ्रममा पारियो, अब गुण्डाराज सकियो भनेर । त्यसो होइन रहेछ, उनीहरुको स्थानान्तरण वा रुपान्तरण भएको रहेछ । हिजो सामूहिक आक्रमण गर्ने, खुँडा हान्ने, डकैती गर्ने र विभिन्न असुलीका धन्दा चलाउनेहरुले सहकारी तथा वित्तीय संस्थाको बर्को ओढेर धन्दा जारी नै राखेका रहेछन् । प्रहरीले भन्ने गरेका गुण्डाहरु त सहकारीमा पो पसेछन् । यसको रहस्योद्घाटन बल्ल भएको छ ।

काठमाडौं उत्यकामा मीठा र आकर्षक नारा राखेर खोलिएका केही सहकारीहरुको लुट धन्दाले प्रहरीले भन्ने गरेको गुण्डाराजलाई पनि चक्मा दिनसक्छ । खप्तडटिभीको खोजबाट यस्ता धेरै रहस्यहरु क्रमशः पर्दाफास हुँदैछन ।

केही समय पहिले बहुचर्चाको विषय बनेका कुलेश्वरको गौतमश्री र सोल्टीमोडको सिभिल सहकारीले सर्वसाधारण लुटेको फेहरिस्त यहाँ भनिरहनु परेन । त्यसैगरी लालीगुराँस सहकारी हुँदै युनिटी काण्डसम्म पनि सबैलाई विधितै छ । त्यत्रो बेइज्जत हुँदा पनि सहकारीहरु सुध्रिएका रहेनछन् । नभन्दै पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड को–अपरेटिभ लिमिटेडको ब्रह्मलुट बाहिरिएको छ । त्यसैगरी भक्तपुरको जगाती र काठमाडौंको तीनकुनेमा केन्द्रीय कार्यालय राखेर जनता ठगिरहेका सहकारीको पनि पोल खुल्दै गएको छ ।

त्यस्तै गरी बुनेपा-९ एकता बस्तीमा सञ्चालित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ब्रह्मलुट बाहिरिएको छ ।

कानुनी प्रकिया अनुसार छानविन समितिले पुस पहिलो हप्ताबाट छानविनकाे सुरु गरेर प्रतिवेदन पेश गर्नुपर्ने थियो । प्रारम्भिक सुनुवाइमा अहिलेसम्मको काम हेर्दा एकता बुद्ध बचत तथा ऋण सहकारीबाट उपलब्ध गराउने कागजात पाउन ढिला भएकोले काम अगाडी नबढेको समितिको जवाफ छ ।

अहिले पनि एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्य समिति सदस्यहरुहरु मध्ये अधिकांश चलाखि गरेर आ–आफ्नै भकारी भर्न र पीडित बचतकर्ताहरुलाई कहिले सहकारी सञ्चालकका छलफल भनेर त कहिले कार्य सम्पादन गर्ने सञ्चालकको अनुपस्थिति भनेर समय अवधि बढाउन बाहेक अरु विकल्प दिने मनोसयमा छैनन् ।

सहकारी सस्थापक बीचको आर्थिक हिनामिना र अन्तरिक संस्थागत किचलोले गर्दा पीडित बचतकर्ताहरु मारमा परेका छन् ।

राष्ट्रिय सहकारी महासंघ नेपालले सम्पत्ति बेचेर भएपनि ऋण तिर्न सहकारीका सञ्चालकलाई निर्देशन दिएको छ । तर, अहिले सम्मपनि एकताले कुनैपनि चासाे देखाएकाे छैन्।