वि.सं.२०८१ जेठ ६ आइतवार

हत्कडी लगाउनु पर्ने अशोकबाट धिरजप्रतापले उल्टै चेक थापे !

प्रभुको शरणमा प्रहरी

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनविपरीत अशोक शेरचनलाई तेस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको प्रभु बैंकले केन्द्रीय अनुुसन्धान व्यूरो सीआईबीको छानविन प्रभावित पार्न प्रहरी कल्याण महाशाखा एवं प्रहरी कल्याण कोषसँग छात्रवृत्ति अक्षय कोषकाका लागि सम्झौता गरेको छ ।

याे पनि….

प्रभु बैंकविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले बैंकिङ कसुरमा छानविन गरिरहेको छ । लामो समय त्यो छानविनलाई लोभ एवं प्रभावमा पारेर ढाकछोप गरेको प्रभु तथा त्यसका कथित सीईओ शेरचनले अनुसन्धान पुरै प्रभावित पार्न अक्षय कोषको नाटक रचेका हुन् । उनको यो हर्कतले उच्च अदालत पाटनमा तेस्रो कार्यकालको नियुक्ति तथा बैंकिङ कसुरबारे परेको रिट समेतलार्इं प्रभावित पार्न खोजेको ठहर्छ । अन्तरिम आदेशको छलफलको अघिल्लो दिन छल गरेर फल प्राप्त गर्न अशोकले आफ्ना ससुराको लगानीमा सञ्चालित जानकी मेडिकल कलेजलाई दिइएको ऋणका कागजात पोलेका थिए ।

त्यो बेला उनले अन्तरिम आदेश रोक्न अनेक तिकडम् गरे । पैसा र शक्ति केन्द्रको आडमा उनले न्यायिक निर्णय समेत प्रभावित पारे । फलस्वरुप उच्चले रिट निवेदकको जिकिर अनुसार तत्काल केही नविग्रने भन्दै अन्तरिम आदेश दिन मानेन । तर, अन्तिम फैसलामा यसको निरुपण हुने आदेश भने उच्चले गरेको छ । यसको अर्थ प्रभुले मुद्दा जितेको होइन, मुद्दा अझै विचाराधीन छ । र, फागुन २४ लाई मुद्दाको पेशी नै तोकिएको छ ।

उच्चमा मुद्दा परेको थाहा पाएपछि सीआईबी तथा त्यसका हाकिम उत्तम सुवेदीले ‘सुको’ झरिहाल्छ कि भनेर लामो समय थन्काइएको फाइल उठाए । र, धूलो टक्टकाए । उपयुक्त मौका यहि हो भन्दै उनले प्रभुलाई छिर्के हाने । सीआईबी अर्थात् सुवेदीको मुख टाल्न प्रभुले १७ माघमा लिखित जवाफ बुझाएँ भनेर नाटक रच्यो । साथै यसबीचमा मोटै रकम सुवेदीको हात परेको प्रभुमा भित्रि हल्ला छ । र, यो कुरा उच्च अदालतसम्म पुगिसकेको छ । अर्को अचम्म के भने ? सीआईबीका हाकिम सुवेदी ठूला ‘माछा’हात लाग्ने मुद्दामा कसैलाई जानकारी दिँदा रहेनछन् । प्रभुको बैंकिङ कसुरबारेको छानविन प्रवक्ता सञ्जिव थापालाई समेत थाहा रहेन छ । उनले यसबारे आफुलाई कुनै जानकारी नरहेको खप्तड टिभीलाई बताए । सुवेदी भने कहिल्यै फोन उठाउँदैनन् ।

उल्लु प्रहरी
प्रहरी हेडक्वार्टरलाई नै उल्लु बनाउन सक्ने ‘सम्राट’ अशोक र ‘ईश्वर’ प्रभु कमजोर खेलाडी कहाँ हुन् ? र । ऐन कानून त पोलेर खाइदिए । राष्ट्र बैंकलाई घुँडा टेकाइदिए । हुँदा–हुँदा ‘सम्राट’ अशोक र ‘भगवान्’ प्रभु आफुलाई यतिसम्म दयालु देखाइरहेका छन् कि, मानौ अब नेपाल प्रहरीको तल्लो तहमा कार्यरत प्रहरी हवल्दार र जवानका छोराछोरीको भविष्य विधाता नै यि हुन् !

र, प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, प्रहरी कल्याण कोष र प्रभु बैंकबीच भएको सम्झौताको भत्तीगान गाउनेहरुको कमि छैन, यहाँ । नेपाल प्रहरीका चिफ’साव धिरज प्रताव सिंहको त्यसै प्रचण्ड प्रताप भएका छन् । उनको नाक फुलेर झण्डै सगरमाथाको चुचुरो झैँ भएको छ । मेरा बा ! २५ लाख रुपैयाँको अक्षय कोष स्थापना हुनु भनेको त नेपाल प्रहरीका छोराछोरीको ठूलो उपकार हुनु हो भन्ने लागेको छ, उनलाई । नलागोस् पनि किन ? धिरज प्रतापलाई प्रभुका सम्राट अशोकको भान्सामा हमेसा जो मेजमान पाक्छ । अनि यो अक्षय कोषको सम्झौताले अशोक नियुक्तिविरुद्धका रिट निवेदकलाई धिरजकै नाम लिएर थकाईएको कुरालाई पुष्टि गरिरहेको छ भने अशोक शक्ति केन्द्र धाएको तथा न्याय किनबेचमा उत्रिएको कुरालाई पनि थप बल पुगेको छ ।

कस्तो सम्झौता हो, यो ?

यो सम्झौता छलकपटको सम्झौता हो । यो कुरा धिरजप्रतापका सहयोगीले दिएको जानकारीबाटै पुष्टि हुन्छ । उनका अनुसार प्रभु बैंक र नेपाल प्रहरीबीच भएको छात्रवृत्ति अक्षय कोषस्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी समझदारीले हवल्दार तथा जवानका छोराछोरी लाभान्वित हुने छन् । हवल्दार र जवानका छोराछोरी सबैले छात्रवृत्ति पाउने भने होइनन् । त्यो मध्ये जेहन्दारलाई दिने भन्ने घोषणा मात्रै गरिएको छ । कस्तालाई दिने, त्यसको मापदण्ड के हुने ? र सिफारिस कसको चल्ने ? भन्नेबारे कुनै टुंगो नलाई सस्तो प्रचार मात्रै गरिएको देखिन्छ । त्यस कारण अहिलेलाई यो समझदारी चेक हस्तान्तरणको नाटक मात्रैमा सिमित छ ।
समझदारीपत्रमा नेपाल प्रहरीकोतर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र प्रभु बैंक लिमिटेडको तर्फबाट बैंकका मुख्य प्रबन्धक मञ्जय राज पाण्डेले हस्ताक्षर गरेका छन् । प्रभुको सहयोगले प्रफुल्ल प्रहरीले आफ्नै हेडक्वार्टरमै कार्यक्रम गरायो ।

विवादित अशोक शेरचनले प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत कै हैसियतमा अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गरे । यसलाई ठूलै उपलब्धि मानेका प्रहरी महानिरीक्षक सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततीलाई छात्रवृत्ति प्रदान गर्ने ‘सम्राट’ अशोकको कर्मलाई पुण्यको उपमा दिए ।

प्रहरीलाई यसअघि पनि सिसिटिभि जडान लगायत विभिन्न कार्यक्रममा प्रभुको आशिष लाग्दै आएको सुनाउँदै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमासमेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने भनी बैंकिङ कसुर गर्नेहरुसामुन्ने प्रहरी संगठनलाई निम्छरो तुल्याए ।

बैंकिङ कसुर गर्न माहिर एवं सस्तो प्रचामा रमाउने परिपाटीका शेरचनले नेपालको एउटा व्यवस्थित संगठन नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका सन्ततीलाई सहयोग गर्न पाएसँगै आफ्नो बैभव झन् बढेको सुनाए ।