वि.सं.२०८३ साउन ४ सोमवार

रिता पौडेलले ‘ब्ल्याकमेल’ गरी ७९ लाख असुलेको आरोप, पीडित पक्षद्वारा प्रहरीमा जाहेरी

टिकटकबाट चिनजान, मुद्दामा फसाइदिने धम्की देखाएर ७९ लाख असुलेको आरोप

सामाजिक सञ्जाल आजको युगको शक्तिशाली माध्यम हो । नेपालमा फेसबुक, ट्विटर, टिकटक र इन्स्टाग्राम जस्ता प्लेटफर्मले सूचना प्रवाह, मनोरञ्जन र सम्पर्कको आधार मात्र नभई समाजसेवा, जनचेतना र सहयोगको भावनालाई पनि तीव्र बनाएका छन् । तर यसको अर्को पाटो उत्तिकै चिन्ताजनक छ- भावनात्मक ब्ल्याकमेलिङ, सामाजिक दबाब र सामाजिक अभियन्ताको नाममा हुने ठगी । सामाजिक सञ्जालको सकारात्मक प्रभावसँगै भावनात्मक ब्ल्याकमेलिङको समस्या पनि बढ्दो छ ।

यस्तैक्रममा टिकटकमार्फत चिनजान भएकी एक महिलाले प्रेम सम्बन्धलाई आधार बनाएर मुद्दामा फसाइदिने धम्की दिँदै ७९ लाख रुपैयाँ असुलेको आरोपसहित प्रहरी वृत्त कालिमाटीमा जाहेरी दर्ता भएको छ।

वैदेशिक रोजगारीका लागी विदेशमा रहेका युवकतर्फबाट उनकी पत्नीले मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएकी हुन्।

जाहेरीमा लमजुङ मध्यनेपाल नगरपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्दै आएकी ३३ वर्षीया रिता पौडेललाई मुख्य आरोपित बनाइएको छ। साथै, सन्दीप कुमार सारदा र हेमन्त गोल्छाको समेत मिलेमतो रहेको दाबी गरिएको छ।

जाहेरीअनुसार, करिब डेढ वर्षअघि टिकटकमार्फत ति युवक र रिता पौडेलबीच चिनजान भएको थियो।

पौडेलले आफू नेपाल प्रहरीमा कार्यरत रहेको परिचय दिँदै सम्बन्ध विस्तार गरेकी र विभिन्न व्यक्तिगत तथा सेवासम्बन्धी समस्या देखाएर विदेशमा समेत पुगेको उल्लेख छ।

आईजीपीको नाम लिएर काठमाडौंमा प्रभाव जमाएको आरोप, रिता पौडेल विवादमा

पीडित पक्षका अनुसार, विदेशकाे बसाइका क्रममा दुवैबीच सहमतिमै शारीरिक सम्बन्ध भएको थियो।

त्यसपछि नेपाल फर्किएपछि पनि उनीहरूबीच सम्पर्क कायम रहेको र नेपालमा भेट हुँदा समेत सहमतिमै सम्बन्ध भएको दाबी गरिएको छ।

तर, पछि रिता पौडेलले जबर्जस्ती करणी लगायतका मुद्दामा फसाइदिने, विदेश जान नदिने तथा जेल हालिदिने धम्की दिँदै रकम माग्न थालेको जाहेरीमा उल्लेख छ। धम्कीका कारण सुरुमा नगद रकम दिएको र त्यसपछि नागरिकता तथा मोबाइल बैंकिङको पहुँचसमेत दिन बाध्य बनाइएको पीडित पक्षको दाबी छ।

जाहेरीमा विदेश फर्किएपछि पनि ह्वाट्सएप र टिकटकमार्फत निरन्तर धम्की दिँदै विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाइएको उल्लेख छ। पीडित पक्षका अनुसार बैंकिङ प्रणाली तथा नगदमार्फत ति युवकबाट ४७ लाख रुपैयाँ र परिवारका अन्य सदस्यबाट थप ३२ लाख रुपैयाँ गरी कुल ७९ लाख रुपैयाँ असुलिएको दाबी गरिएको छ।

खप्तडटिभी समाचार प्रभाव : आईजीपीको नाम लिएर धाकधम्की दिने रिता पौडेल पक्राउ

जाहेरीमा आरोपितहरूले एक निजी कम्पनीको बैंक खातामा समेत रकम जम्मा गराएको उल्लेख गर्दै त्यसको बैंक विवरण प्रहरीलाई उपलब्ध गराइएको जनाइएको छ। साथै, पीडितको नागरिकता र अन्य कागजात आरोपितकै नियन्त्रणमा रहेको दाबी गरिएको छ।

पीडित पक्षले घटनामा संलग्न सबैमाथि अनुसन्धान गरी कानुनी कारबाही गर्न, असुलिएको ७९ लाख रुपैयाँ फिर्ता गराउन तथा पीडितका कागजात बरामद गरी फिर्ता दिलाउन माग गरेको छ।

जाहेरीमा रिता पौडेल हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा रहेको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएको पनि उल्लेख गरिएको छ।

प्रहरीले जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ। यद्यपि, जाहेरीमा लगाइएका आरोपहरू अनुसन्धान तथा अदालतबाट पुष्टि हुन बाँकी छन्।

अनुसन्धान र अदालती प्रक्रियामा पीडितको पहिचान गोप्य राखिएकाे छ : सम्पादक