सिन्सियर सेभिङ एण्ड को–अपरेटिभ लिमिटेडको २३ वर्षदेखिको ठगी धन्दा पर्दाफास भएसँगै दुई हजार बढी बचतकर्ता र ६ सय सेयर होल्डरको लगानी जोखिममा परेको छ ।
बचतकर्ताले एक लाखदेखि ६ करोड रुपैयाँसम्म बचत गरेको भेटिएको छ । सिन्सियरका अधिकांश बचतकर्ता उपत्यकाभित्रका छन् । उपत्यका बाहिरका सर्वसाधारणले समेत यसमा बचत गरेका छन् । सिन्सियरले मँहगो ब्याजमा कर्जा लगानी गर्छ भन्ने धेरैलाई थाहा छ । तर, व्यक्ति हेरेर २२ देखि ३६ प्रतिशतसम्म ब्याज असुल्ने सिन्सियरको अहिले झन् मति भ्रष्ट भएको छ । नाम सिन्सियर, काम बेवकुफ । सहकारी ऐन २०७४ ले बचत र ऋणको व्याजदरबीचको अन्तर ६ प्रतिशत भन्दा बढी हुने छैन भनेर किटानै गरेको छ । ऐन कानूनको कसलाई के मतलब ?
कर्जा दिँदा सिन्सियरले दुई प्रतिशत सेवाशुल्क लिई नै हाल्छ । र, ऋणीहरुले वर्षैपिच्छे कर्जा नवीकरण गर्नै पर्ने बाध्यता बनाएको छ । सेयर, गाडी र घरजग्गा धितो राखेर एक करोड रुपैयाँ कर्जा दियो भने सिन्सियरले १० लाख रुपैयाँ ठाडै घुस खान्छ ।
त्यहाँका तीन हर्ताकर्ताले वर्षौंदेखि जनताको पैसामा रजाँइ गर्दै आएका छन् । ति हुन्, अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मिरा कर्माचार्य ।
सोझा साझा नागरिकका नाउँमा उनीहरुले अनेक तिकड्म गर्छन् । उद्देश्य हुन्छ, जसरी पनि लुट्ने । उनीहरुले फकाई फुल्याई मन्जुरीनामा, औँठाछाप तथा दस्तखत गर्न लगाउँछन् । र, कर्जाको तमसुकमा पनि त्यसै परिपाटीले दायाँ बायाँ च्याप्न लगाइन्छ ।
५० लाख कर्जा लिनेको तमसुकमा सुरुमै ५५ लाख उल्लेख गरिएको हुन्छ । जहाँ ऋणीको आँखा सजिलै छलिन्छ । कानूनले मञ्जुरीनामा लेखिएको विषयमा आफू सन्तुष्ट भए मात्र दायाँ बायाँ च्याप्ने वा दस्तखत गर्न भन्छ । सिन्सियरका सञ्चालकको बल्छिमा सोझै पर्नेहरु अधिकांश अक्षर नचिन्ने सोझासाझा नै छन् ।
मञ्जुरीनामामा ‘तीन किस्ता नतिरे मेरो धितो लिलाम गर्नुस् । म कँहीकतै उजुरी गर्दिन भनी लेखिएको हुन्छ । सिन्सियरले कारोबार शुरु गरेको २३ वर्ष भएको छ । यद्यपि, सिन्सियरले ऋणीको तीन पुस्ते सूचना राष्ट्रियस्तरको पत्रपत्रिकामा प्रकाशन गर्ने पनि गरेको छैन । सहकारी ऐन २०७४ ले अर्काको हानी नोक्सानी गर्ने उद्देश्यले नगरे वा नभएको झुटो कुरा गरे वा भएको हो भनी वा मिति, अङ्क वा व्यहोरा फरक पारी सहीछाप गरी गराई कागजात बनाई वा बनाउन लगाई
जालसाजी गरेवा गराएमा हदैसम्मको कारबाही हुने भनेको छ । सिन्सियरका लुटेराहरुलाई खोई कारबाही ?
ऋणीको धितो लिलाम गर्नुअघि ३५ दिने कर्जा तिर्ने म्याद दिँदै पत्रिकामा प्रकाशित गर्नुपर्ने प्रावधान छ । तर, अहिलेसम्म सिन्सियरले ऋणीको नाममा ३५ दिने सूचना निकालेको रेकर्ड भेटिँदैन । सिन्सियरले अगाडि नै नेपाली कागज वा फोटोकपी पेपरमा औँठाछाप र दस्तखत गर्न लगाएको हुन्छ ।
तीन किस्ता नतिर्नेबित्तिकै सिन्सियरले खाली पेपरमा जसरी पनि आफुमाथि पर्ने गरी लेख्छ । तीन किस्ता नतिर्नेबित्तिकै रोक्का गरेको धितोबाट ऋणीको अधिकार हटाएर सिन्सियरले आफ्नो धितो सकार्ने गरेको छ । मालपोत कार्यालयमा ऋणीलाई लगेर सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र धितो आफ्नो नाममा ल्याउनुपर्नेमा सिन्सियरले त्यस्तो गर्दैन ।
मालपोत कार्यालयले समेत मञ्जुरीनामा पत्रकै आधारमा धितो सिन्सियरको जिम्मा लगाइदिन्छ । पछि ऋणीले साँवाब्याज तिर्छु, धितो फुक्का गरिदिनु भन्दा पनि सिन्सियरले गर्न मान्दैन । सिन्सियरको सबैभन्दा धेरै लगानी थोत्रा, कबाडी र पूराना ट्याक्सीमा गरेको छ । यातायात ऐन, २०४९ मा उल्लेख भएअनुसार यातायात कार्यालयमा दर्ता भएका सार्वजनिक वा निजी सवारी, बैंक तथा फाइनान्स र सहकारीले लिलाम गर्न पाँउदैन । सवारी त्यसरी कहिल्यै लिलाम गरिँदैन । लिलाम गर्ने अधिकार वित्तीय संस्थालाई छैन । सरकारले लिलाम गरेको खण्डमा मात्र त्यस सवारी साधनको दर्ता खारेज हुन्छ ।
तर, ट्याक्सी धितो राखेर कर्जा लिएका ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै सिन्सियरले ट्याक्सी तानिहान्छ । यहाँ पनि सिन्सियरले पहिल्यै आफूमाथि पर्ने काम गरिसकेको हुन्छ । ‘तीन किस्ता नतिरे मेरो ट्याक्सी तान्नुस्’ भनेर सिन्सियरले ऋण लिनुअघि नै मञ्जुरीनामा गराइसकेको हुन्छ ।
गुण्डा लगाएर सिन्सियरले ट्याक्सी तान्छ र केही दिन लुकाएर राख्छ । खाली पेपरमा लेख्छ, ‘म नभए पनि ट्याक्सी सिन्सियरको नाममा पास गरिदिनुहोला । यो दाँया बाँयाको औँठाछाप मेरो हो । हस्ताक्षर पनि मेरो हो ।’ ऋणी उपस्थित नै नगराई यातायात कार्यालयको ढड्डाबाट सिन्सियरले आफ्नो नाममा कायम गर्दछ ।
त्यसपछि त्यही ट्याक्सी अर्कोलाई बेच्ने वा त्यसै प्रकारले अर्कोलाई ऋणको भारी बोकाउने काम हुन्छ । एउटाको पेटमा लात हानेको सेकेण्ड भरमै अर्कोलाई ऋणको साङलो हाल्ने सिन्सियरले तुरुन्तै अर्कोसँग पनि सेवाशुल्क लिन्छ । उ एउटै ट्याक्सी घुमाएर पटक–पटक कमाउँछ ।
कति ट्याक्सी चालक वा ट्याक्सी व्यवसायलाई अझै पनि सरकारी नियम थाहा छैन । उनीहरु गाडी त चलाउँछन् तर सार्वजनिक वा निजी सवारी साधन लिलाम हुँदैन । यो विषयमा उनीहरु अन्जान छन् । गाडी लिलाम गर्नुपरे दर्ता नै खारेज गर्नुपर्छ । जुन अधिकार वित्तीय संस्थालाई छँदै छैन । अनि ऋणीको आँखामा धुलो झोक्दै सिन्सियरले लिलाम गरेको प्रष्टिकरण दिन्छ । सिन्सियरले स्थापनाकालदेखि नै ट्याक्सीमै लगानी गरेको छ ।































