वि.सं.२०८३ साउन ३ आइतवार

विद्यार्थी बोक्ने सैनिक महाविद्यालयको गाडीमा फोहोर संकलन, स्थानीयवासी झुक्किए

विद्यार्थी बोक्ने सैनिक विद्यालयको गाडीमा फोहोर, कसले दियो अनुमति ?

नेपाली सेना कल्याणकारी कोषद्वारा सञ्चालित स्वयम्भूस्थित बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको विद्यार्थी ओसारपसारमा प्रयोग हुने गाडी आज बिदाको दिन एक जना आर्मीकै घर बनाउदा घरबाट निस्केको  फोहोर संकलन गर्न प्रयोग गरिएको घटना सार्वजनिक भएपछि सम्बन्धित निकायको निर्णय प्रक्रिया, स्वास्थ्य मापदण्ड र संस्थागत जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ।

स्राेतका अनुसार विद्यालयको नाम र लोगो अंकित गाडी बस्तीभित्र पुगेर फोहोर संकलन गरिरहेको देखिएपछि सुरुमा विद्यार्थी लिन आएको ठानिएको थियो। तर केहीबेरमै गाडी फोहोरले भरिएको देखिएपछि वास्तविकता बाहिर आएको हो।

घटनाले एउटा सामान्य प्रश्न होइन, संस्थागत जिम्मेवारीको प्रश्न उठाएको छ।

विद्यार्थी ओसारपसारका लागि छुट्याइएको सवारीसाधनलाई फोहोर व्यवस्थापनमा प्रयोग गर्ने निर्णय कुन आधारमा गरियो? त्यसका लागि लिखित कार्यादेश थियो कि थिएन? वा यो निर्णय मौखिक आदेशमै सीमित थियो?

विद्यालय भनेको अनुशासन, सरसफाइ र सार्वजनिक उत्तरदायित्व सिकाउने संस्था हो। त्यही संस्थाको सवारीसाधनलाई फोहोर बोक्न प्रयोग गरिनु व्यवस्थापनको सामान्य निर्णय मात्र हो कि, मापदण्डप्रतिको लापरबाही? सम्बन्धित निकायले यसको स्पष्ट जवाफ दिनुपर्ने देखिएको छ।

अर्को गम्भीर प्रश्न स्वास्थ्य सुरक्षासँग जोडिएको छ। फोहोर संकलनमा प्रयोग भएको गाडी पुनः विद्यार्थी ओसारपसारमा प्रयोग हुने हो भने त्यसअघि के कस्तो सरसफाइ र डिसइन्फेक्सन प्रक्रिया अपनाइन्छ? त्यसको अभिलेख छ? अभिभावकलाई जानकारी दिइन्छ? यी प्रश्नको उत्तर सार्वजनिक हुन जरुरत छ।

सार्वजनिक बिदा भएकाले विद्यार्थी नभएको तर्कले पनि सबै प्रश्नको समाधान गर्दैन। विद्यालयको आधिकारिक पहिचान बोकेको सवारीसाधन कुनै पनि वैकल्पिक प्रयोजनमा प्रयोग गर्दा स्पष्ट कार्यविधि, पारदर्शिता र उत्तरदायित्व आवश्यक हुन्छ। अन्यथा संस्थागत सम्पत्तिको प्रयोगबारे अनावश्यक आशंका र अविश्वास पैदा हुनु स्वाभाविक हुन्छ।

घटनापछि सामाजिक सञ्जालमा व्यापक आलोचना सुरु भएको छ। धेरैले छुट्टै फोहोर संकलन सवारीको व्यवस्था गर्न नसकी विद्यार्थी बोक्ने गाडी प्रयोग गर्नु व्यवस्थापकीय कमजोरी भएको टिप्पणी गरेका छन्। कतिपयले भने यस्तो अभ्यासले विद्यालयको गरिमा र सार्वजनिक विश्वासमा असर पार्ने बताएका छन्।