पर्सा प्रहरीले वीरगञ्जस्थित क्यासिनोबाट पालिका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ ।
क्यासिनोमा जुवा खेलिरहेका ४ जना र क्यासिनाोमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाउने कार्यमा संलग्न ४ गरी ८ जनालाई शनिबार राति (भदौ २०) पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार खुवा खेल्ने कार्यमा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव, चन्दन सहनी, ओम प्रकाश बैठा र प्रदिप पौडेललाई पक्राउ गरिएको छ ।
पौडेल पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रहेको बताइएको छ।
यस्तै, क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा क्यासिनोका कर्मचारीहरु विजयकुमार पटेल, दिनेशकुमार पटेल, जयदेव साह र प्रदेशी साहलाई पक्राउ गरिएको प्रवक्ता मल्लले जानकारी दिए ।
उनले जारी गरेको विज्ञप्तिअनुसार भदौ २० गते राति करिब १०ः३० बजे वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली प्रवेश गरी जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले टोली परिचालन गरिएको थियो ।
































