वि.सं.२०८३ भदौ २५ बिहीवार

देश जलाइएको त्यो दिन

देश जलाइएको त्यो दिन,
आकाशले पनि कालो वस्त्र पहिरिएको थियो,
हावामा बारुदको गन्ध मात्र थिएन ।
आमाको मुटु चिरेर निस्किएको
एउटा निस्सासिएको सुस्केरा थियो।
सडकमा आगो बलिरहेको थियो,
तर त्यो आगोभन्दा तातो
युवाहरूको आँखामा जमेको प्रश्न थियो।

कसैको हातमा फूल हुनुपर्ने थियो,
कसैको हातमा किताब र कलम
तर समयले तिनै कोमल हातमा
विद्रोहको मशाल थमाइदियो।
जेन्जी पुस्ता चिच्याइरहेको थिएन मात्र,
ऊ त वर्षौँदेखि थिचिएको
आफ्नो मौनताको चिहान भत्काउँदै थियो।

त्यो दिन सडकमा केवल टायर जलेनन्,
कति आमाका सपना जले,
कति बाबुका भरोसा खरानी भए,
कति आँखाले भोलिको उज्यालो खोज्दा खोज्दै
धुवाँभित्र आफ्नै देश हराएको देखे।
ढलेका ढुङ्गा र फुटेका सिसाभन्दा गहिरो थियो
त्यो दिन मानिसको हृदयमा परेको चिरा।

सिंहदरबारका अग्ला पर्खालहरूभन्दा बाहिर
एउटा अर्को नेपाल उभिएको थियो।
भोक, बेरोजगारी र निराशाले थिचिएको,
तर अझै मर्न नचाहेको नेपाल।
उसले सोध्यो।
“मेरो पसिनाले बनेको देशमा
मेरो भविष्य किन यति पराइ भएको छ?”

जेन्जीको त्यो आवाज
हावामा हराएको कुनै क्षणिक हुंकार थिएन,
त्यो त इतिहासको ढोकामा
रगतले लेखिएको एउटा दस्तावेज थियो
“हामीलाई दया होइन, अधिकार चाहिन्छ;
हामीलाई भाषण होइन, भविष्य चाहिन्छ।”
त्यो आवाज सुन्न नसक्ने कानहरूलाई
समयले एक दिन कठोर फैसला सुनाउनेछ।

देश जलाइएको त्यो दिन
हामीले केवल खरानी देखेनौँ,
खरानीभित्र एउटा नयाँ बिहानको बीउ पनि देख्यौँ।

अब फेरि देश नजलोस्
न युवाको सपना, न आमाको आँसु, न भविष्यको आशा।
आगो बलोस् भने अन्यायको अन्त्यका लागि बलोस्,
र नेपालको आकाशमा
अब धुवाँ होइन
नयाँ पुस्ताको उज्यालो सपना उडोस्।