वि.सं.२०८३ असार २२ सोमवार

एपीएफ स्कुलको खाताबाट व्यक्तिगत खातासम्म ! इन्स्पेक्टर कल्पना पक्राउ

कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा भएको आर्थिक अनियमितता प्रकरणमा सशस्त्र प्रहरी बल (एपीएफ) की इन्स्पेक्टर तथा विद्यालयकी लेखा प्रमुख कल्पना गुरुङ पक्राउ परेकी छन्।

गुरुङसँगै उनका साथी लीला लामा पनि पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौं जनाएको छ। उनीहरूलाई शनिबार काठमाडौंको ठमेल क्षेत्रबाट पक्राउ गरिएको स्रोतले जनाएको छ।

प्राप्त जानकारीअनुसार विद्यालयको आर्थिक कारोबारमा गम्भीर अनियमितता भएको उजुरी परेपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन अघि बढाएको थियो। सोही क्रममा प्राप्त विवरणका आधारमा सशस्त्र प्रहरीको पत्राचारपछि काठमाडौं जिल्ला प्रहरी परिसरले दुवै जनालाई पक्राउ गरी ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा विद्यालयको बैंक खातामा जम्मा हुनुपर्ने रकम व्यक्तिगत बैंक खातामा राखिएको र त्यसको दुरुपयोग गरिएको आरोप छ।

विगत चार वर्षको अवधिमा करिब साढे ४ करोड रुपैयाँ व्यक्तिगत खातामार्फत चलाइएको आशंका गरिएको छ। यद्यपि, उक्त रकमको वास्तविक अवस्था, दुरुपयोग भएको परिमाण तथा कानुनी जिम्मेवारीबारे अनुसन्धानबाट मात्रै अन्तिम निष्कर्ष आउनेछ।

इन्स्पेक्टर गुरुङ लामो समयदेखि एपीएफ स्कुलको लेखा शाखामा कार्यरत रहेकी थिइन्। सशस्त्र प्रहरी नायव निरीक्षक (सई) हुँदा लेखा शाखामा जिम्मेवारी सम्हालेकी उनी इन्स्पेक्टरमा बढुवा भएपछि पनि निरन्तर सोही जिम्मेवारीमा रहेकी थिइन्। एउटै संवेदनशील शाखामा लामो समयसम्म कार्यरत रहनुले पनि छानबिनको दायरा फराकिलो बनेको स्रोतको भनाइ छ।

यस घटनामा इन्स्पेक्टर गुरुङको मात्र नभई अन्य केही अधिकारीहरूको पनि संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ।

विशेष गरी कल्याण महाशाखामा कार्यरत लेखापाल डीएसपी महेन्द्र हमालमाथि पनि अनुसन्धान केन्द्रित गरिएको स्रोतको दाबी छ।

उनीमाथि विद्यालयमा भएको भनिएको आर्थिक अनियमितताबारे जानकारी हुँदाहुँदै पनि सम्बन्धित निकायलाई समयमै जानकारी नगराएको आरोप लागेको छ। यद्यपि, उनीविरुद्ध हालसम्म कुनै कसुर प्रमाणित भइसकेको छैन।

एपीएफ स्कुलको सञ्चालन सशस्त्र प्रहरीको कल्याण कोषअन्तर्गत हुने भएकाले विद्यालयको आर्थिक अनुशासन र पारदर्शितामाथि प्रश्न उठेको छ। यस घटनाले कल्याण कोषको खर्च व्यवस्थापन, आन्तरिक लेखा परीक्षण प्रणाली तथा आर्थिक निगरानी संयन्त्रको प्रभावकारितामाथि समेत बहस सुरु भएको छ।

यसअघि पनि २०८२ साल मंसिर महिनामा विद्यालयको रासन व्यवस्थापनमा अनियमितता भएको आरोप लगाउँदै विभिन्न सरकारी निकायमा उजुरी परेको थियो। त्यसबेला उठेका प्रश्नहरूको प्रभावकारी सम्बोधन हुन नसकेको आरोपसमेत सार्वजनिक हुँदै आएको छ।

स्रोतका अनुसार पक्राउ परेका दुवै जनामाथि बैंकिङ कारोबार, आर्थिक अभिलेख, भौचर, भुक्तानी प्रक्रिया तथा सम्बन्धित खाताहरूको विस्तृत परीक्षण भइरहेको छ। आवश्यक परे अन्य व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याइने जनाइएको छ।

यस प्रकरणले सशस्त्र प्रहरीअन्तर्गत सञ्चालित शैक्षिक संस्थाहरूको आर्थिक पारदर्शिता, आन्तरिक नियन्त्रण प्रणाली र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ।