वि.सं.२०८१ जेठ ६ आइतवार

अभियुक्तहरुको कब्जामा (क्रा*न्ति*का*री) : फरार सिंह प्रहरीको आँखैअघि रसिया उड्लिन ?

सुशासनको ठुल्ठुला गफ हाँक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठको पार्टी भने अस्तव्यस्त छ । पार्टीको सबैभन्दा ठुलो र सक्रिय मानिएको जनवर्गीय संगठन अखिल (क्रान्तिकारी) नै अभियुक्तहरुको कब्जामा छ । हुनलाई उक्त संगठनमा दुई सय हाराहारीमा पदाधिकारी छन् तर आधा भन्दा बढी सपथ नै खान नपाई क्याम्पस क्याम्पसमा अतिथि बन्दै हिंडेका छन् ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी

कार्यकारी मानिएको अध्यक्ष र महासचिवमा बदनाम पात्रहरुको हालीमुहाली छ । अध्यक्ष पञ्चा सिंहको १५ वर्षअघि २६ फागुन २०६५ मा भएको हत्याको एउटा घटना पुनः बिउँझिएको छ ।

कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । भलै सिंह त्यसलाई राजनीतिक रंग दिन खोजेर संगठनका इकाईसम्मलाई आफ्नो बचाउमा विज्ञप्ति निकाल्न लगाई रहेकी छिन । हेडक्वार्टरले फोन नै उठाउन छाडेपछि गुटका सुरुका नेता समातेर बालुवाटार पुगेपछि मुद्धा मिलाउन तारतम्य बनाएको बुझिन्छ ।

प्रहरीले यसअघि जिल्ला अदालतबाट १३ साउन २०७९ मा पक्राउ पुर्जी लिएको थियो । उनलाई फरार अभियुक्त भन्दै धेरै मिडियाले समाचार बनाईरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी लक्ष्मण शाहीका अनुसार १५ वर्षअघिको उक्त हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका कालीकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएकी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंह, सोही ठाउँका ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सिंह निकटहरु भने यसलाई नारायणकाजी श्रेष्ठको षडयन्त्र देख्छन । केहिले सामाजिक संजाल फेसबुकमा सिंहले जनयुद्ध लडेको नारायणकाजीले नलडेको भनेर समेत लेख्न भ्याए । खैर सिंह रसियामा हुन लागेको युवाहरुको सम्मेलनमा जाने तयारीमा रहेको बुझिन्छ । मार्च १ देखि ७ सम्म हुन लागेको उक्त कार्यक्रममा सहभागी हुन संगठनको लागि आएको ३ वटा फ्री टिकट मध्ये एउटा आफ्नो लागि सुरक्षित गरेको निकट स्रोत कै भनाई छ । फरार सिंहलाई नारायणकाजी प्रशासनले विमानस्थलबाट समात्छ कि समात्दैन हेर्न बाँकी छ ।

अखिल (क्रान्तिकारी) का अर्का हाई प्रोफ़ाईल अभियुक्त हुन महासचिव दिपेश पुन, पुर्व उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा । उनको नाम देशका ठुला सबै काण्डमा आउँछ तर पक्राउ कतै पर्दैनन् । भुटानी शरणार्थी, सुन तस्करी वा सहकारी ठगी । देशका कुनै पनि बदनाम प्रकरणमा सधै नाम जोडिएर आउने एउटा नाम हो दीपेश पुन ।

शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तद्वय इन्द्रजित राई र सन्दीपले अनुसन्धानका क्रममा दीपेशको पनि नाम लिएका थिए । दीपेशमाथि अनुसन्धान नभएको अर्को विषय हो– सुनतस्करी । माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल चिनियाँ गिरोहसँग मिलेर सुन तस्करी गरेको अभियोगमा पुर्पक्षका क्रममा कारागारमा छन् । गिरोहका नाइके दावा छिरिङसँग पटक पटक फोन संवाद भएको समेत आधारमा अनुसन्धान गरी राहुललाई प्रहरीले पक्राउ गरेको हो । तर, लगातार फोन संवाद गरेको प्रमाण भेटिए पनि दीपेशमाथि भने गम्भीर अनुसन्धान भएन ।

सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दीपेशसँग सोधपुछ गरेको थियो । पक्राउ परेका तस्करसँग आफ्नो सम्पर्क रहेको दीपेशले स्विकारेका थिए । अनुसन्धान क्रममा दीपेश र सुनतस्कर दावा छिरिङसँग उनको सम्बन्ध रहेको समेत स्थापित भइसकेको छ । हाल फरार रोल्पाकी अमला रोका र पुर्पक्षमा जेलमा रहेका चिनियाँ तस्कर दावा छिरिङसँग आफ्नो सम्पर्क र चिनजान रहेको विषय दीपेशको ‘बयान कागज’ मै उल्लेख छ ।

दीपेशमाथि अनुसन्धान हुनुपर्ने पछिल्लो विषय हो– सहकारी ठगीे । सदस्य तथा बचतकर्ता नै नरहेका दीपेशले पोखराको सूर्यदर्शन सहकारीबाट गैरकानुनी रूपमा ऋण लिएको पुष्टि भएको छ । जीबीकै आडमा सूर्यदर्शन सहकारीबाट दीपेशले ‘पुलेसो कर्जा’ शीर्षकमा ५० लाख लिएको देखिन्छ । पुलेसो कर्जा शीर्षकमै लामिछानेले पनि सूर्यदर्शन सहकारीबाट १ करोड रुपैयाँ लिएको विषय अनुसन्धानकै क्रममा छ । रवि लामिछानेजस्तै दीपेश पनि सूर्यदर्शन सहकारीका बचतकर्ता होइनन् । गैरबचतकर्ताले सहकारीबाट ऋण लिनै पाउँदैनन् । सहकारीका गैरसदस्य पुनको कर्जा खाता नम्बर ‘११६–०००३०७१’ बाट दीपेशले ०७४ असोज २५ मा ५० लाख रुपैयाँ ऋण लिएको पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

यी बाहेक अन्य थुप्रै काण्डमा पनि दिपेश चर्चित छन् जस्तै राजनारायण पाठकको घुस काण्ड । तर, प्रचण्डमा सिंह र पुनलाई कारबाही गर्न सक्ने हुत्ति देखिन्न किनभने यी दुई प्रचण्डका हर्ताकर्ता जनार्दन र वर्षमानका हर्ताकर्ता हुन् ।