सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएर हाल जेल जीवन बिताइरहेका सिभिल सहकारी तत्कालीन अध्यक्ष इच्छाराज तामाङको मुद्दा मिलाउन कानुन व्यवसायी रुद्र पोखरेलसँग २ करोड रुपैयाँ डिल गरेपछि विवादमा मुछिएका न्यायाधीश राजकुमार कोइरालाको जागिर जोगिएको छ।
न्यायपरिषद्को आइतबार बसेको बैठक अन्य दुईजना विवादित न्यायाधीशहरू नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेको छ। तर २ करोड घूसको अडिओ सार्वजनिक भएर छानबिननमा तानिएका न्यायाधीश कोइरालालाई परिषद्ले सचेत गराउँदै निगरानीमा राख्ने निर्णय गरेको हाे।
इच्छाराजको मुद्दा मिलाउन कानुन व्यवसायी रुद्र पोखरेलसँग २ करोड डिल गरेको अडिओ २०७९ असोजमा बाहिरिएको थियो।
पोखरेलसँग घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि न्यायाधीश कोइरालाले तत्कालीन अवस्थामा स्पष्टीकरण दिँदै आफ्नो बचाउ गरेका थिए। कोइरालाले त्यस फोनवार्ताको न्याय परिषद्बाट छानबिन माग गरेका थिए।
अन्य दुईजना न्यायाधीश जागिरबाट बर्खास्तीमा पर्दा कोइरालालाई भने न्यायपरिषद्ले निगरानीमा राख्दै सचेत गराउने निर्णय लिएको हो।
के थियो प्रकरण ?
काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि भएको घूस लेनदेनबारेको अडिओ २०७९ असोज ८ गते सार्वजनिक भएको थियो।
१० मिनेटको उक्त अडिओमा कानुन व्यवसायी पोख्रेल र कोइरालाबीच न्यायाधीश इच्छाराजलाई छुटाउनेबारे मोलमोलाइ गरिएको थियो।
उक्त अडिओमा पोख्रेलले इच्छाराजलाई १० करोड रूपैयाँ धरौटीमा छुटाउन प्रस्ताव गर्ने र काम मिलाए बापत आफूले दुई करोड रूपैयाँ दाबी गर्ने बताएका थिए।
अडिओमा न्यायाधीश कोइराला घूस लिएर तामाङलाई छुटाउने फैसला गरिदिन राजी भएको सुन्न सकिन्थ्यो।
त्यसबेला न्यायाधीश कोइरालासँग घूस डिल गरेको अडिओ सार्वजनिक भएको आरोप लागेपछि अधिवक्ता पोखरेलले छानबिन माग गरेका थिए।
उनले नेपाल बार एशोसिएसन र बार काउन्सिलबाट हुने छानबिनमा उचित र पर्याप्त सहयोग गर्न तयार रहेको उल्लेख गरेका थिए।
उनले त्यसबेला आफूलाई नेपाल बार एशोसिएशनको सदस्यका हैसियतले कुनै पनि गतिविधिमा सहभागी नहुने बताएका थिए।
दुई न्यायाधिशले किन जागिरबाट हात धोए ?
न्याय परिषद्को बैठकले लामो अनुसन्धानपछि उच्च अदालत र जिल्ला अदालतका एक/एक न्यायाधीशलाई पदबाट बर्खास्त गर्न सिफारिस गरेको छ।
आइतबार बसेको परिषद्को बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेको हो। त्यस्तै परिषद्ले जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराएको छ।
प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उक्त निर्णय लिएको हो। उनीहरुमाथि लामो समयदेखि अनुसन्धान भइरहेको थियो।
विगतमा तत्कालीन प्रधानन्यायाधीश दीपककुमार कार्कीको समयमा केही न्यायाधीश कारबाहीमा परेका थिए। कार्कीकै समयदेखि न्यायाधीशहरुमाथि गम्भीर छानविन चलेको थियो। पछिल्लो समय तीन न्यायाधीशहरु थपलिया,निरौला र कोइराला छानविनमा थिए।
उनीहरुमाथि परेको उजुरी, उनीहरुले गरेका विवादित फैसला र अन्य विवरणहरुको अध्ययनपछि परिषद्ले दुई न्यायाधीशलाई बर्खास्त गर्ने र एकलाई सचेत गराउने निर्णय लिएको हो। अर्का न्यायाधीश पशुराम भट्टराई पनि छानबिनमा परेका थिए। उनले बीचमा राजीनामा दिएर उन्मुक्ति पाएका थिए।