वि.सं.२०८१ जेठ ७ सोमवार

खप्तडटिभी दोस्रो वर्षमा : ‘नियामक एवं राज्यतहबाट गरिने कचिङ्गल बन्द गरियोस्’

समाचार लेख्दा समेत प्रधान सम्पादकमाथि सामूहिक आक्रमण

खप्तडटिभी डटकमले गौरवमय पहिलो वर्ष पूरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ । अंग्रेजी पात्रो अनुसार ९ मार्च २०२२ अर्थात् आजकै दिन खप्तडटिभी डटकमको जन्म भएको हो । ९ मार्चलाई हामीले स्थापना दिवसका रुपमा स्थापित गरेका छौँ । वर्ष दिनको अन्तरालमै खप्तडटिभी डटकमले अनपेक्षित उचाई हासिल गरेको खुसीयाली साँट्दै प्रथमतः पाठक वर्गप्रति सादर नमन ।

यो यात्राका दौरान अनेकन् चुनौति एवं घुम्तिहरु छिचोल्नका निमित्त सल्लाह, सुझाव दिनुहुने तथा प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्नुहुने प्रवुद्धवर्ग, सहकर्मी, साथीभाई तथा सुभेच्छुकहरुलाई विशेष आभार । पहिलो एक वर्षमा खप्तडटिभी डटकमले जनचासोका विषय उठान गर्नुका साथै मुलुकमा व्याप्त महाव्याधिका रुपमा रहेका विकृति, बेथिति, भ्रष्टाचार एवं अत्याचारविरुद्ध सशक्त रुपमा समाचार सामग्री प्रकाशन प्रसारण गरेको व्यहोरा पुनः सबै सामु अनुरोध गर्दछौँ ।

उदाहरणकै रुपमाः खप्तडटिभीको समाचार प्रभाव कै कारणकब्जा गरी घर कम्पाउण्ड बनाइसकेका सरकारी जग्गा फिर्ता भए भने, नेपाल सरकारको पूर्व मन्त्री भएर पनि सरकारी जग्गा हडपेर भोगचलन गरिरहेको पर्दाफास भयो । राजनीतिक पहुँच एवं शक्ति केन्द्रका आडमा पदीय दुरुपयोग गरी महाठगि गर्ने एवं सामाजिक विकृति फैलाउने कयौँ ‘कलंक’हरुको वास्तविक चित्र आम पाठकसामु ल्याउन सक्यो, खप्तडटिभीले ।

कथित अमुृक भनिने एवं मूलधारका सञ्चारमाध्यम भनेर फोस्रो गफ दिनेहरुसामुन्ने खप्तडटिभी डटकम खोजमूलक सामग्री प्रस्तुत गर्ने हकमा रत्तिभर पनि विचलित भएन । खप्तडटिभी डटकमले उठान गरेका विषयहरु कोही अधुरा छैनन् भने टुंगोमा पुग्न बाँकी रहेका विषयबारे गहन अध्ययन भइरहेको समेत पाठक वर्गलाई जानकारी गराउँदछौँ । नागरिक पत्रकारिता अर्थात् ‘सिटिजन जर्नालिज्म’लाई अंगिकार गरेको खप्तडटिभीका विषयवस्तुहरु जस्ताको त्यस्तै कपि गरेर विभिन्न न्यूजपोर्टलले प्रकाशन गरेका थुप्रै उदाहरण छन् ।

तर, खप्तडटिभी डटकमले अन्य सञ्चारमाध्यम एवं न्यूजपोर्टले उठाएका विषयवस्तुको परनिर्भरता कहिल्यै बोकेन । यो बीचमा खप्तडटिभीले थुप्रै कठिनाई झेलेको छ । अर्काको प्रगतिमा आँखा गाड्ने नेपाली समाजको नाकैमुनि यस न्यूज पोर्टलका सम्पादक प्रहरी हिरासतमा छन् । अनि, आचारसंहिताका सबैजसो विधि, पद्दति परिपालना गरेर समाचार लेख्दा समेत प्रधान सम्पादकमाथि सामूहिक आक्रमण भएको समेत धेरै हप्ता वितेको छैन ।

साथमा दुःखको कुरा !, नेपाली आमसञ्चारमाध्यमको नियमन एवं सुपरीवेक्षणको जिम्मा पाएको प्रेस काउन्सिलले समाचारको तथ्य जाँचै नगरी निवेदकले गरेको जिकिर एवं निवेदन व्यहोराको आधारमा पटक–पटक चिठी पठाउने तथा टेलिफोनबाट थर्काउने कचिङ्गलबाट मुक्त हुन सकिएको छैन । नियामक एवं राज्य तहबाट गरिने यस्ता कचिङ्गल दोहोरीरहनु राम्रो हुँदैन । बन्द गरियोस् ।

वदलिंदो परिवेश, वढ्दो प्रविधिको विकाससँगै नेपाली पत्रकारिता क्षेत्र जति चलायमान हुनुपर्ने हो त्यति हुन सकेको छैन । त्यसो नहुनुका विविध कारण हुन सक्लान् । तर, विषयवस्तुको हल्काफुल्का जानकारी, मिथ्या एवं आग्रह पूर्वाग्रहले ग्रसित नेपाली पत्रकारिता क्षेत्रलाई सामाजिक सञ्जालको बाढीले झण्डै किनारा लगाउन बाँकी छ । मूलधार भनिएका सञ्चारमाध्यमले अर्थ राजनीति एवं नीति निर्माण तहका सतही कुरा समेट्न बाहेक जनचासो र सामाजिक बेतिथिका विषयवस्तु चिल्याउनै सकेका छैनन् ।

तर, खप्तडटिभीको एक वर्षे अनुभवले जनचासोका विषय मात्रै उठान गर्न सकेका खण्डमा पनि आम सञ्चारमाध्यममार्फत् भएका प्रगति यत्रतत्र देखिने कुरामा विश्वस्त बनाएको छ । यहि हो, खप्तडटिभी डटकमले पाएको उचाई ।

आगामी दिनमा पनि प्रचारमुखि अर्थात् टेलिङ न्यूजलाई महत्व नदिई आम जनचासोलाई केन्द्रमा राखेर मुलुकको आर्थिक, सामाजिक एवं साँस्कृतिक विकासक्रममा आइरहेका अवरोधलाई चिर्ने र सम्भावनाका मार्गहरुको चित्रण गरिदिने अभिभारा बोक्ने यसै विशेष सम्पादकीयमार्फत प्रतिवद्धता जाहेर गदर्छौँ । साथै, यात्राक्रममा यहाँहरुको सल्लाह, सुझाव एवं साथ सहयोगका लागि हार्दिक अपिल गर्दछौँ ।