वि.सं.२०८१ जेठ ७ सोमवार

‘लिम्पिया फर्स्ट एसईई विशेष’ फुटसलको उपाधि विद्यार्जुनलाई

'आयोजक' लिम्पिया ‘ए’ उपविजेता

लिम्पिया नेशनल स्कुलले आयोजना गरेको एसईई विशेष फुटसलको उपाधि विद्यार्जुनले जितेको छ । शनिबार लिम्पिया कै फुटसल एरेनामा भएको फाइनलमा आयोजक लिम्पिया ‘ए’लाई हराउँदै विद्यार्जुनले ट्रफी उचालेको हो ।

लिम्पिया ए’सहित विट्स एकेडेमी, विद्यार्जुन र राइज अप ‘लिम्पिया फर्स्ट एसईई विशेष’ फुटसल टुनामेन्टको सेमीफाइनलमा पुगेका थिए । शनिबारै फाइनल टोली र सेकेन्ड रनरअपको टुंगो लागेको थियो । चार सेमीफाइनलिष्ट मध्ये राइज अप फाइनल चरणमा पुग्न सकेन ।

सेमीफाइनलको फाइदा उठाउँदै विट्स एकेडेमी भने सेकेण्ड रनरअप हुन सफल भयो । फाइनलमा पुगेको लिम्पिया फाइनलमा सम्हालिन नसक्दा उपाधि गुमायो । नकआउट चरण मै बलियो प्रतिष्पिर्धीका रुपमा देखिएको विद्यार्जुनले ट्रफी मात्रै उचालेन, २० हजार नगद पुरस्कार तथा मेडल समेत प्राप्त गर्‍यो। फर्स्ट रनरअप अर्थात् उपविजेता भएको लिम्पिया ‘ए’ ले १० हजार, ट्रफी, मेडल, प्रमाणपत्र र तेस्रो भएको विट्स एकेडेमीले नगद ५ हजार तथा ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

यस्तै, बेष्ट किपर, हाइयष्ट स्कोरर तथा बेष्ट प्लेयरले छुट्टै सम्मान तथा मेडल प्राप्त गरे ।

विजेता टोली एवं खेलमा उत्कृष्ट नजिता हासिल गर्ने खेलाडी, प्रशिक्षक एवं रेफ्रीहरुलाई गोकर्णेश्वर नगरपालिका ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, लिम्पिया नेशनल स्कुलका प्रिन्सिपल मदनराज रेग्मी लगायतले एक समारोहबीच सम्मान एवं पुरस्कार प्रदान गरे ।

खेलाडी सम्मान तथा प्रतियोगिता समापन समारोहमा वडाध्यक्ष सुवेदीले लिम्पियाले खेल जगतलाई बढी माया गरेकोमा स्यावासी दिए । यस्तै, लिम्पियाका प्रिन्सिपल रेग्मीले वडाध्यक्ष एवं नगर प्रवक्ता समेत रहेका सुवेदीकै सक्रीयताका कारण आफुहरुले खेल लगायत अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिन सकेको भन्दै आगामी दिनमा सुवेदीलाई नै नगरपिताका रुपमा हेर्न चाहेको अपेक्षा प्रकट गरे ।

समापन कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, सहयोगी संघ संस्था एवं विभिन्न पाठशालाका शिक्षक एवं फुटसल प्रेमीहरु सहभागि भए । शुक्रबार र शनिबार दुई दिन चलेको प्रतियोगितामा काठमाडौंको उत्तरपूर्वी भेग तथा अन्य क्षेत्रका स्कुल, कलेज, क्लव एवं अन्य संस्था गरेर २३ टोली सहभागि थिए ।