वि.सं.२०८१ साउन १० बिहीवार

वडाध्यक्ष सुरेश शाहीका हर्कतका कारण वडावासी र कर्मचारी दुवै आजित

ललितपुर महानगर वडा १५ का वडाध्यक्ष सुरेश शाहीका अयोग्य हर्कतका कारण जनता र कर्मचारी दुवै आजित हुने गरेका छन् । कुनै पनि विषयमा अल्प जानकारी मात्र राख्न सक्ने वडाध्यक्ष शाहीको योग्यताका कारण वडावासी र वडामा कार्यरत कर्मचारीले हैरानी व्यहोर्नु परेको छ ।

आर्थिक वर्षको अन्त्यमा वडा कार्यालयमा बहाल कर तिर्न आउने व्यवसायीको चाप बढिरहेको छ । वडाध्यक्ष शाहीले कुनै पनि व्यवसायीको कर आफ्नो अनुमति बिना स्वीकृत नगर्नु भनेर कर्मचारीलाई उर्दी जारी गरेका छन् । सबै प्रकृया पुरा गरेर आउने व्यवसायीको समेत बिना कुनै तर्क वा कारण वडाध्यक्ष शाहीले कर तिर्न नै रोक लगाइदिने गरेका छन् । प्रकृया पुरा गरेर आएका व्यवसायीहरुको कर्मचारीले कर लिएर रसिद दिइसकेको हकमा समेत वडाध्यक्ष शाहीले सही गर्न नमान्दा व्यवसायीले नै प्रकृयागत झन्झट व्यवहोर्नु परेको छ ।

कर्मचारी पनि वडाध्यक्ष शाहीले किन कर तिर्न नदिएको भन्ने बारे जानकार छैनन् । न त उनीहरु वडाध्यक्षको उर्दीमा खुसी छन् न त कर नै तिर्न नपाएका व्यवसायीलाई कुनै जवाफ दिन सकिरहेका छन् । हुन् त वडाध्यक्ष शाहीलाई पनि के कुरामा व्यवसायीलाई कर तिर्न मिल्दैन र अबको प्रकृया के भन्ने जानकारी नै छैन । न त शैक्षिक योग्यता न विषयवस्तुको जानकारी भएका वडाध्यक्ष शाहीसँग काम गर्नै गाह्रो परेको कर्मचारीहरु बताउँछन् । वडाध्यक्षलाई सम्झाउन र बुझाउनै गाह्रो भएको पनि कर्मचारीहरुले बताए ।

प्राय वडाध्यक्षकै कार्यकक्षमा भेटिने युवा वडा सदस्यहरु पनि वडाध्यक्ष शाहीले गरेका हर्कतको विरुद्व चुइक्क बोल्ने ल्याकतसमेत राख्दैनन् । आफूलाई आशा गरेर भोट दिएका वडावासीलाई वडाध्यक्षले दिएको अनावश्यक दुःख टुलुटुलु हरेर बस्ने बाहेक वडा सदस्यको कुनै काम नभएको एक सेवाग्राहीका रुपमा वडा कार्यालय आएका व्यवसायीले बताए ।

निर्वाचित भएको सुरुवाती समय देखि नै वडाध्यक्ष शाहीका विभिन्न हर्कतहरुको वडावासीहरुले सामना गरिरहेका छन् । वडाध्यक्ष शाहीले सार्वजनिक जग्गामा रहेको रुखहरु कटान गरेको विषय यतिबेला अख्तियार दूरुपयोग अनुसन्धान विभागमा अनुसन्धानको क्रममा रहेको छ ।