वि.सं.२०८१ साउन ४ शुक्रवार

काण्डको भुमरीमा महराका बाबुछोरा : चिनियाँसँग ५० करोडको डिल, सुन तस्करीको आरोपले हैरान् !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सुन हराएको सन्दर्भमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा जोडिएका छन्।

ई–सिगरेटभित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी भएको घटनामा भन्सार कर्मचारीका साथै महराका बाबुछोरा डामिएका हुन्।

प्रहरीको सिआइबीले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदन अनुसार महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर भन्सार कार्यालयमा रहेको ई–सिगरेट लिलामी गर्न दबाब दिएका थिए।

सिआइबीले सरकारी वकिल कार्यालयलाई अनुसन्धान गरी बुझाएको प्रतिवेदनमा महराका बाबुछोरा र सुन आयातकर्ता चिनियाँ नागरिक एवं अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित उल्लेख गरेको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार पूर्वसभामुख महरा र उनका छोरा राहुल महरा सुन ल्याउने समूहसँग सम्पर्कमा रहेको देखिन्छ।

सिआइबी स्रोतका अनुसार महरा बाबुछोराले भन्सारका कर्मचारीलाई फोन गरेर त्यहाँका सामान आफ्नो व्यापारिक साथीको भएको र त्यसलाई लिलामीमा राखिदिन आग्रह गरेका थिए। प्रहरीले अनुसन्धानका क्रममा कल डिटेल (सिडिआर) बाट महरा बाबुछोराको कनेक्सन पत्ता लगाएको हो। प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनमा उनीहरूको मोबाइल नम्बर नै उल्लेख गरिएको छ।

भन्सारमा रहेको ई–सिगरेट सुन ल्याउने समूहमा चिनियाँ नागरिक लुई, वाङ दाओजिङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, राहुल महरालगायतले सम्पर्कसूत्रको काम गरेको स्रोतको दाबी छ।

बलात्कार काण्डमा जेल बसेर सफाई पाएका पूर्वसभामुख महरा यसअघि पनि चिनियाँ व्यापारीसँग ५० करोड मागेको विषयमा विवादित बनेका थिए। २०६७ भदौ १८ गते परिचय नखुलेका एक चिनियाँ व्यापारीसँग उनले ५० करोड मागेको एउटा अडियो टेप सार्वजनिक भएको थियो।

अडियोमा महराले प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरिद गर्नुपर्ने र त्यसका लागि ५० करोड नेपाली रुपियाँ आवश्यक परेको बताएका छन् । अडियो संवादमा महराले चिनियाँ नागरिकलाई ५० करोड नेपाली रुपियाँ प्राप्त गर्नका लागि आफू सिङ्गापुर, हङ्ककङ अथवा चीनको छेन्दु सहरमा मिटिङका लागि आउन तयार रहेको बताएका थिए ।

भारतबाटै प्रसारण हुने नेपाली भाषाको टिभी च्यान ‘नेपाल वान’मार्फत ब्रेक भएको उक्त टेप बारे महराले ‘यो वार्ता झुटो’ भनेर प्रतिक्रिया दिए पनि अहिलेसम्म त्यो अडियोको आधिकारिक परीक्षण हुन सकेको छैन ।

हङ्ककङ गएको प्रसङ्गसमेत जोडिएको उक्त टेप प्रकरणसँगै महरा विवादको भूमरीमा परेका थिए । त्यसलाई उनले स्पष्ट पार्न कहिलेपनि चाहेनन् । यस बिषयमा बुझ्न खप्तडटिभीले बारम्बार पूर्वसभामुख महरालाई सम्पर्क गर्दा उनको नम्बरमा सम्पर्क हुन सकेन ।