चितवनस्थित वडा प्रहरी कार्यालयमा कार्यरत केही सादा पोसाक (सिभिल) प्रहरीमाथि होटल व्यवसायीहरूले विभिन्न किसिमका रक्सी तथा नगद रकम माग्ने गरेको आरोप लगाएका छन्।
होटल व्यवसायीहरूकका अनुसार केही सिभिल प्रहरीहरूले पटक–पटक होटल तथा रेष्टुरेन्टमा पुगेर रक्सी तथा नगद रकम माग्ने गरेका छन्।
यस सम्बन्धमा एक भिडियो समेत सार्वजनिक भएको छ। भिडियोमा देखिएका गतिविधिबारे प्रहरी संगठनकै बदनाम भएको छ। भिडिओमा २ जना व्यक्ती गएर रक्सी र पैसा मागेका छन्।
जुनकुरा रक्सी पसल संचालकले समेत बताएका छन्। वडाको प्रहरी भनेर आएपछि एक बोतल रक्सी र रुपैयाँ दिएर पठाएको हो। वडा प्रहरी कार्यालय नारायणगढका इन्स्पेक्टर छन् कुशराम कार्की।
उक्त रक्सी र नगद माग्न इन्स्पेक्टर कार्कीले पठाएका थिए वा आफै गएका थिए त्यो पछि थाहा होला। तर, इन्सपेक्टर कार्की विवादित प्रहरी अधिकृत हुन्। कार्की थर भएकै कारण प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको बदनाम गराएर नारायणगढ प्रहरीको विश्वसनीयता माथि नै धज्जा उडाइरहेका छन्।
इन्स्पेक्टर कार्कीको विगत
त्यतिमात्र नभएर वडा प्रहरी कार्यालयको टोलीमाथि उजुरी लिएर पुगेका सर्वसाधारणले प्रहरी प्रशासनले आफ्नो अनुकूल वा फाइदा हुने विषयमा मात्र चासो दिने, अन्यथा बेवास्ता गर्ने गरेको आरोप समेत छ।
नारायणगढ वडा प्रहरी कार्यालयमा उजुरी दिएका एक स्थानीयले आफ्नो चोरी भएको सामानबारे प्रमाणसहित जानकारी गराउँदा समेत प्रहरीले आवश्यक चासो नदिएको गुनासो गर्दै हामीसमक्ष आइपुगेका थिए।
चितवनको मुख्य व्यापारिक केन्द्र नारायणगढमा सुरक्षाको जिम्मेवारी पाएको वडा प्रहरी कार्यालयका प्रमुख कार्कीको कार्यशैलीप्रति स्थानीय व्यवसायी, सर्वसाधारण र यातायात मजदुरहरूले तीव्र असन्तुष्टि व्यक्त गर्दै आर्थिक चलखेल र शक्तिको दुरुपयोग बढेको आरोप लगाएका छन्।
नारायणगढ क्षेत्रका दोहोरी साँझ, रोधीघर र होटलहरूबाट मासिक रूपमा निश्चित रकम असुली हुने गरेको तथ्य पनि बाहिर आएको छ।
व्यवसायीहरूका अनुसार प्रहरीले तोकेको समयमा रकम नबुझाएमा प्रहरी टोली आफैं व्यवसायभित्र प्रवेश गरी ग्राहकलाई त्रसित बनाउने र व्यवसाय नै बन्द गराउनेसम्मको हर्कत गर्ने गरेको छ।
प्रहरी महानिरीक्षक कार्कीको नाममा इन्स्पेक्टर कार्कीको आतंक नै छ । इन्स्पेक्टर कार्कीले आईजीपीको भतिज हो भन्दै थर्काउनेसमेत गरेको व्यवसायीहरु बताउँछन्।
खप्तडटिभीको प्रश्न : छानबिन हुन्छ कि आरोप दबाइन्छ ?
व्यवसायीहरूले सार्वजनिक गरेका आरोप र भिडियोले नारायणगढ प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ।
यस घटनामा सार्वजनिक भएको भिडियोको प्राविधिक परीक्षण, भिडियोमा देखिएका व्यक्तिको पहिचान, उनीहरूको प्रहरीसँगको सम्बन्ध, रक्सी तथा रकम कसले माग्यो र कहाँ पुग्यो भन्ने विषयमा निष्पक्ष छानबिन आवश्यक देखिन्छ।
साथै, प्रहरी निरीक्षक कुशराम कार्कीको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता थियो/थिएन भन्ने विषयमा समेत स्पष्ट अनुसन्धान हुनुपर्छ।
आरोप सही भए दोषीमाथि कारबाही हुनुपर्छ, गलत भए आरोप लगाउने पक्षबाट प्रमाणसहित खण्डन हुनुपर्छ।
प्रहरी नागरिकको सुरक्षा गर्ने संस्था हो। प्रहरीकै नाममा व्यवसायीबाट रक्सी वा नगद उठाउने वातावरण बनेको हो भने त्यो कुनै एक व्यक्तिको मात्र विषय होइन, सम्पूर्ण प्रहरी संगठनको विश्वसनीयतासँग जोडिएको प्रश्न हो।
यस विषयमा चितवन प्रहरी र वडा प्रहरी कार्यालय नारायणगढको आधिकारिक प्रतिक्रिया प्राप्त भएपछि खप्तडटिभीले समाचारलाई थप अद्यावधिक गर्नेछ।































