सुस्मिता सुनार, काठमाडाैं ।
दुई करोड ५० लाखको चेक लिएर भ्रष्टाचार मुद्दामा दोषी ठहर प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादव फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत रहेका बेला भ्रष्टाचार मुद्दामा दोषी ठहर प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादवले स्वयं आफ्नो रोहबरमा टासी शेर्पाको नाममा १ करोड २५ लाख र चाईनिज नागरिक मामिङको नाममा १ करोड २५ लाख बराबर रकम चेक प्रहरी कार्यालयमा काट्न लगाएका थिए । अहिले एसपी यादव ती दुवै चेक लिएर बेपत्ता छन् ।
यादवले चेक काट्न लगाए । तर जसको नाममा चेक बनेको थियो, उनीहरुले चेक पाएनन् । आफ्नै अगाडि तयार पारिएका चेक नदिएर एसपी यादव भागेको पीडितले बताएका छन् । चेक तपाईं किन राख्ने ? हामी नै लान्छौँ भन्दा उतिबेला यादवले प्रहरी कार्यालयमै सुरक्षित राखिदिन्छु भनेका थिए ।
उल्टै उनले रकम समेत उठाउने जिम्मा मेरो भयो भनेर सम्बन्धित व्यक्तिलाई आश्वासन समेत दिएका थिए । प्रहरीले नै पैसा उठाइदिने भयो भनेर चेकवाला दुबै जना मख्ख परे । तर, एसपी यादवले चेकै बोकेर कुलेलम ठोक्लान् भन्ने चाल पाउन सकेनन् । अहिले उनी पहिला पैसा चाहियो, अनि मात्रै चेक दिन्छु भनिरहेको पीडितले बताएका छन् ।
यसबारे खास कुरा के हो ? भनी बुझ्न खोज्दा एसपी यादवले खप्तडटिभीको फोन उठाएनन् । महिना दिनसम्म पनि उनी सम्पर्कमा आएनन् । अन्य व्यक्तिसँग आफुले चेक बनाउन लगाएर सहयोग गरेको तर चेक आफुले नराखेको बताउँदै हिँडेको खबर छ ।
काण्ड के हो ?
सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका १ घर भई हाल भक्तपुर जिल्ला बस्ने जित बहादुर श्रेष्ठ र विश्व बस्नेत । यि दुई र चिनियाँ नागरिक मामिङ र टासी शेर्पासँग व्यापारका लागि सहमति भएको थियो । सहमति अनुसार दुई जना चिनियाँले २ करोड ५० लाख रुपैयाँ जित श्रेष्ठ र विश्व बस्नेतलाई दिएको भनिएको छ ।
पछि जित र बस्नेतको नियत खराब देखियो । लगानी फसेपछि ति चिनियाँ ट्वाँ परे । र, छट्पटाउँदै एसपी यादव भाठाउँ पुगे । पैसा फिर्ता दिन उनीहरुले बारम्बार गरेको अनुरोध जित र बस्नेतले सुनेनन् । चिनियाँलाई यि दुईले घरी सिन्धुपाल्चोक घरी कता गर्दै फनफनी घुमाए । सिन्धुपाल्चोक पुगेका बेला दुई पक्षलाई राजी गराएर तिनै एसपी यादवले चेक दिलाउनेसम्मको नाटक मञ्चन गरे । तर, पीडितले न चेक पाए न पैसा । पछिल्लो समय चेक एसपीले नै बोकेर गायब भएको कुरा आइरहेको छ ।
६ महिनाभित्र हिसाब मिलान गरिसक्ने भनी भएको सहमतिको म्याद समेत गुग्रिसकेको पीडितले बताएका छन् । उनीहरुले कानूनी बाटोमार्फत असुली गर्ने भनिरहे कै बेला एसपी गायब भइदिएका छन् ।
खास कुराः प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादव पुष ५ गते बर्खास्तीमा परेका थिए। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत रहे कै बेला यादवको जागिर चट भएको थियो ।
भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले डण्डा बर्साएपछि एसपी यादवको जागिर चट भएको हो । रुपन्देहीमा डीएसपी हुँदा २०७० मा आर्थिक अनियमितता गरेको भन्दै यादवविरुद्ध भ्रष्टाचार मुद्दा परेको थियो ।
आर्थिक अनियमितता र लागु औषध मुद्दा पैसा लिएर मिलाएको पाइएको भन्दै अख्तियारले यादव र हवल्दार ढकबहादुर गुरुङविरुद्ध मुद्दा चलाएको थियो। अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनीहरु दुबै जना निलम्बनमा परे ।
त्यतिबेला निलम्बनमा परेका उनी विशेष अदालतले सफाइ दिएपछि पुनः सेवामा फर्किए पनि सर्वोच्चको डण्डाबाट बच्न सकेनन् । विशेष अदालतको सफाइविरुद्ध सरकारी वकिल कार्यालय सर्वोच्च पुगेको थियो।
सर्वोच्चले साढे ७ वर्षपछि फैसला गर्दै एसपी यादव र हवल्दार गुरुङलाई दोषी ठहर गरेको थियो । २२औं पटकसम्म पेशी चढेको यो मुद्दामा गएको पुस ५ मा फैसला भएको हो । सर्वोच्चले विशेष अदालतको फैसला उल्टाउदै यादव र गुरुङलाई दोषी ठहर गर्यो।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई दोषी ठहर गरको हो। सर्वोच्चले दोषी ठहर गर्दै तिन महिना कैद र जरिवाना समेतको दुबै सजाय सुनाएको थियो ।
काण्डै काण्डले घेरिएका यादव
प्रदेश प्रहरी कार्यालय सुर्खेतमा रहँदा एसपी यादव निलम्बनमा परे । उनले बडीगार्ड र चालकमार्फत् ट्राफिकमा रहँदा रकम असुल्ने गरेको भन्दै कारबाही खेपेका हुन् । भनसुन गराएर यादवले निलम्बन फुकुवा गरे ।
२०५५ मा राष्ट्रिय अनुसन्धान विभागबाट सेवा प्रवेश गरी २०५८ सालमा प्रहरीमा स्थानान्तरण भएका यादव २०७६ असोजदेखि २०७७ भदौसम्म कर्णाली प्रदेशको ट्राफिक प्रमुख भएर बसे ।
प्रहरी वृत्त ललितपुर सातदोबाटोको प्रमुख हुदाँ र सिन्धुली प्रहरी प्रमुख हुँदा पनि उनी विवादमा तानिए । उनीमाथि सिन्धुलीमा गाँजा तस्कर र क्रसर व्यवसायीबाट रकम असुली गरेको आरोप थियो। उनी जहाँ गयो त्यहिँ काण्ड गर्दै हिँडे । अहिले भागेका छन् ।