पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड को-अपरेटिभ लिमिटेडको ब्रह्मलुट बाहिरिएको केही समयपछि त्यसका अध्यक्ष, सञ्चालक र कर्जा अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा एकैपल्ट उजुरी परेको छ ।
सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्यको नामै किटान गरेर अख्तियार र सम्पत्ति शुद्धीकरणमा एकैपल्ट उजुरी परेको हो ।
उनीहरुले सिन्सियरमा स्थापना कालदेखि एकलौटी कब्जा जमाएर करोडौँ ठगि गरेको र अकुत कमाएको भन्दै निवेदकले सम्पत्ति छानविनका लागि दुबै निकायसमक्ष माग गरेको बताइएको छ । अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले दिएको जानकारी अनुसार राजेन्द्रभक्त र राजेश संस्थाको स्थापना कालदेखि नै सिन्सियरलाई पेवा बनाइरहेको भए पनि कर्जा अधिकृत कर्माचार्य जोडिएको १५ वर्ष मै काठमाडौंमा घर जग्गा जोडेको जिकिर निवेदकले गरेका छन् ।
सिन्सियरमा बसेर ब्रम्हलुट गर्ने यि तीनै ‘मनु’हरु काठमाडौं बासी नै हुन् । काठमाडौं बासी भएपनि सिन्सियरमा आउनु भन्दा पहिले तीनै जनाको साथमा फुट्या’कौडी पनि नरहेको बताइन्छ । पृथ्वीनारायणले काठमाडौं विजय गर्दा गोरखाबाट काठमाडौं आएको खड्का ‘काजी’ बताउने राजेश खड्का सुरुवाती दिनमा पुतली सडक पैदलै आउजाउ गर्थे । बढ्तै भए साइकलसम्म चढ्थे । र, कलंकीमा उनका बाउबाजेले घरद्वार जोडिसकेका थिएनन् । तर, अहिले करोडौंको सम्पत्तिमाथि राइँदाइँ छ, उनको । कलंकीमा आलिशान महल भएपनि बसाई छ, हाउजीङको ।
राजेन्द्रभक्त काठमाडौंको मुटु क्षेत्र मानिने इन्द्रचोकका स्थानीय भए पनि सिन्सियर हराभरा हुनुभन्दा पहिले उनको पनि ताल उही थियो । अहिले उनी रोपनी रोपनीमा बनेको आलिशान महलमा बस्छन् । निवेदकको जिकिर अनुसार बाउबाजेका दिनमा इन्द्रचोकको इन्द्रचोक मै थचारिएका उनलाई सिन्सियरले महाराजगन्जको रजगज दिलायो । अचम्म के भने, सिन्सियर मै धितो राखिएको जग्गा सकारेर उनले त्यो महल ठड्याएको खबर छ । धितो सकार्ने यो कुन् तरिका हो ? ऐन कानून वा संस्थाको नियम विनियमले उनलाई सजिलै यस्तो गर्न दिए छ ! यसैलाई त भन्छन् होला नि, ‘भाग्यमानीको भुतै कमारो’, कि कसो ?
अनि कर्जा अधिकृत मीराको प्रगति पनि चाख लाग्दो छ । ढल्कुको पीडादायी बसाईबाट उनले पनि अहिले आफ्नो जीवनमा राम्रै डेन्टिङपेन्टिङ गराएकी छन् । १५ वर्षअघि उनी एउटा निजी मेडिकलमा महिनाको १० वटा हजार तलब थाप्थिन् । राजेन्द्रभक्तको भक्त भए कै कारण सिन्सियरले उनको जीवन हराभरा बनाइदिएको छ, अहिले । मेडिकलमा काम गर्ने मुन्छे राजेन्द्रभक्तको नजरमा अब्बल कर्जा अधिकृत ठहरिइन् । इन्ट्रेस्टिङ छैन त कुरो ?
यस्तै योग्यता भएका व्यक्तिहरुले फाइनान्स चलाए । पढलेख कम भएकाहरुलाई महँगो दर र व्याजमा ट्याक्सी भिडाएर अकुत कमाए । ट्याक्सी राखेर कर्जा दिँदा चर्को सेवा शुल्क, महँगो व्याज र साथमा घुस खाएपछि भइएन त रातारात धनाड्य ? बिचरा ! ति ट्याक्सी चालक किस्ता तिर्दैमा गयो, जीवन । न बन्यो घरबार, न भइयो गाडी साहु । सँधै भर ट्याक्सी ड्राईभर ! त्यो पनि लाष्टाँ चिलिम् ।
उजुरी परेसँगै सिन्सियरले ट्याक्सी धितो राखेर १० लाख ऋण दिँदा २५ हजार त ठाडै घुस माग्ने गरेको रहस्योद्घाटन भएको छ । २० हजार सेवा शुल्क, २० देखि २६ प्रतिशतसम्म ब्याज । चुर्लुम्मै हुनलाई यो भन्दा धेर किन चाहियो र ?
घर जग्गा कारोबार र सेयर कारोबारमा पनि घुसै घुस । एक करोडको जग्गा राखे ६० लाख ऋण । ६० मा ५ लाख त घुस । हैट ! तीन किस्ता बुझाउन चुक्यो कि धितो लिलाम् । अनि, जिन्दगी चिलिम् । यसरी सिन्सियरको एक पछि अर्को पोल खुल्दै गएको छ भने उजुरीको विषयलाई लिएर सिन्सियरका कार्यकारी सञ्चालक राजेश खड्काको प्रतिक्रिया लिँदा खप्तडटिभीलाई कुनै प्रतिक्रिया जनाएनन् ।
समाचार प्रभाव
सेयर भिडाएर लामो समय कुनै हिसाब किताब नगरेको सिन्सियरले खप्तडटिभीको समाचार प्रभावका कारण कयौँलाई सेयर फिर्ता र हिसाब रापसाफ गरेको छ ।
ऋणको बहानामा सिन्सियरले पहिले पहिले सेयर भिडाउँथ्यो । सेयर प्रमाणपत्र बाँडेपछि हिसाब गर्ने चलन थिएन । खप्तडटिभीमा समाचार आएपछि र सहकारी विभागमा उजुरी पर्दैछ भन्ने खबर पाएपछि सिन्सियरका कार्यकारी सञ्चालक खड्काले त्यसरी सेयर लिएका केहीलाई घरमै वा उनीहरुको कार्यक्षेत्रमै प्रतिनिधि पठाएर सेयर फिर्ता गरेका छन् ।
त्यसरी सेयर रकमको हिसाब बुझ्ने मध्येका एक ‘… कुँवर’ कुनै समय २५ हजारका दरले वर्षदिनसम्म किस्ता बुझाउँदा सावा जम्मा २ हजार घटेको सुनेपछि चक्कर खाएर ढलेका थिए । र, बल्ल उनले सिन्सियरको लुतोले छोडेको प्रतिक्रिया दिएका छन् । तर, ०६८–०६९ मा त्यसरी सेयर लिएका उनलाई लामो समयपछि पनि सिन्सियरले गतिलो पैसा भने दिएको होइन । केही बचत खातामै थियो, उनले भने, ‘५५ कित्ता सेयर लिएको लामो समय वित्दा पनि मैले जम्मा जम्मि १५–१६ हजार पाएँ । को नि के हिसाबले दिएको हो, मैले बुझिन । कागजमा दस्तखत गर भन्यो । गरिदिएँ । उसले आजबाट तपाईसँगको साइनो सकियो भन्यो । मैले धन्यवाद भनेँ ।’
सिन्सियरले आफ्ना कर्तुतविरुद्ध पीडितहरु जागेको देखेपछि त्यो ज्वाला कम गर्न बर्सौँ बेवास्ता गरेका पीडितहरुलाई अहिले लोभ प्रलोभ वा डर धम्की देखाएर पञ्छाउने रणनीति लिएको छ । उसले समाचार लेखेकै भरमा ‘गुण्डा’ परिचालन गरेर खप्तडटिभीका प्रधान सम्पादकमाथि भौतिक (त्यो पनि सामूहिक)आक्रमण गर्न लगाएको थियो ।
भौतिक आक्रमणपछि मात्रै सिन्सियरले नेपाली प्रेस जगतको नियामक प्रेसकाउन्सिल नेपालमा ‘खण्डन’का लागि पत्राचार गरेको थियो । सिन्सियरको यस प्रकारको रवैयाप्रति प्रेसकाउन्सिल समेत पूर्ण जानकार भइसकेको छ भने पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ र समाजवादी प्रेस संगठन नेपाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालले यस कार्यको भत्र्सना गरिसकेका छन् ।
याे पनि…..