लामो समयसम्म धैर्य गरिरहेका बचतकर्तालाई पैसो दिनुको साटो उल्टै धम्काउँदै थर्काउँदै हिँडेका छन्, उनी । खप्तडटिभीमा उनका हर्कतको समाचार बाहिरिएपछि उनले बचतकर्तालाई सम्बोधन गर्नुको साटो सामाजिक सञ्जाल फेसबुक लगायतबाट धम्काउने तथा ब्लक गर्ने हर्कत गर्न थालेका छन् ।
हर्कबहादुर जस्ता अटेरी सञ्चालक कै कारण अहिले कयौँ सहकारी उतानो परेका हुन् । बचतकर्ता स्वयंले हामी पनि फसेको ऋण रकम उठाउन हिँडिदिन्छौँ तपाइँहरु टिम बनाएर अघि बढ्नस् भनेर काँध हाल्दा समेत मूर्खतापूर्वक छलकपट गर्ने हर्कबहादुरलाई अब हत्कडी लाग्न मात्रै बाँकी छ । उनले धेरै ठगे, धेरै झुक्याए, धेरै घुमाए,, बचतकर्तालाई ।
अध्यक्ष / हर्क कठायत
हर्कले चाहे के हुँदैन र ? बचतकर्ताले साथ दिएका छन् । कर्मचारीले अफिस कुरे कै छन् । उनले धेरै होइन, आफैं संस्थाको हाकिम भएर आफ्नै श्रीमतीलाई विना आधार ऋण दिई अहिलेसम्म सुक्को नतिर्ने अनित राईको पाता फर्काउन सकेको भए पनि राहत हुने देखिन्छ । अनितलाई कारबाही गर्ने यो मात्रै एउटा आधार होइन । उनले नियमानुसार चलाउन पाउने सीमा समेत नाघेर श्रीमतीलाई ऋण दिन भ्याएका रहेछन् ।
राईबारे संस्थाले सहकारी विभागमा गुनासो मात्रै हाल्ने हो भने पनि उनको पाता फर्किन सक्छ । सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायका अनुसार सञ्चालकहरुले ४९ प्रतिशतसम्म चलाउन पाउने भए पनि विना धितो वा सेयर सदस्य नभएकाहरुलाई ऋण दिए भाँटे कारबाही हुन्छ । तर, संस्थाका जिम्मेवार व्यक्तिहरुले विभागमा गुनासो गर्न आउनु पर्ने उपाध्यायको भनाइ छ ।
म्यानेजर /अनित राई
रियल गोर्खाको हेड अफिसका म्यानेजर तथा बोर्ड पदाधिकारी राई बचतकर्ताको नजरमा मात्रै फरार छन् । राधेराधे सेवा कार्यालयकी म्यानेजर पुजनी श्रेष्ठ र उनका श्रीमान तथा हर्क कठायत स्वयंको सम्पर्कमा भने छन् । त्यस्ता जाली तथा फटाहलाई कारबाही गर्नुको साटो हर्कबहादुर जग्गाको कारोबार गरेर लगानी फिर्ता गरिरहेको छुँ भन्दै बाहिरबाहिरै घुमिरहेका छन् । त्यही चक्करमा उनले यो पल्ट संस्थाको साधारण सभा समेत गराएका छैनन् । जनताको पैसामा कतिसम्म मनपरी गर्न सकेका हँ ?
म्यानेजर / पुजनी श्रेष्ठ
२०७७ असोज १३ गते अनितले श्रीमती रिन्जु कार्कीका नाममा ऋण लिएको फाइल जोरपाटी सेवा कार्यालयको दराजमा थन्किएको छ । ६ महिनामा सावा व्याजसहित सबै रकम फिर्ता गर्ने भनी नेपाली कागजमा तमसुक गरेर अहिलेसम्म १ सुक्को तिरेका छैनन्, श्रीमान् श्रीमती दुबैले । ऋण दिनलाई मात्र जबरजस्ती बनाइएको रिन्जुको खातामा अहिले जम्मा २ सय ३८ रुपैयाँ मात्र छ । एउटा दराज खोतल्दा यस्ता हर्कत भेटिए भने । त्यसरी ६ महिनामा तिर्ने भनिएका कयौँ ऋणका फाइलहरु यत्रतत्र छन् । धत् बचतकर्ताको फ्टया किस्मत् । यस्ता सहकारीमा लाखौँ लगानी गरेछन् । नराम्ररी फसेछन् नि, विचराहरु ।
अहो, ऋण लिनलाई कस्तो हतार । तमसुकमा ठेगाना नै गल्ती लेखिएको भेटियो । स्थायी ठेगाना इलामको रोङ गाउँपालिका ६ लेख्नु पर्ने ठाउँमा इलाम जिल्ला इलाम गाउँपालिका भनेर लेखिएको छ । अनितको मतदाता परिचयपत्रमा स्थायी ठेगाना इलाम रोङ गाउँपालिका ६ भनी उल्लेख छ । अस्थायी ठेगाना भने काठमाडौं महानगरपालिका ३२ जडिबुटी भनिएको छ । जडिबुटीमा उनको आफ्नै घर भन्ने हल्ला छ ।
वास्तविकता के हो ? डण्डा लागेको दिन उनी आफैंले बताउने छन् । तर, ऋण लिंदा गरेको कागज अनुसार उनकी श्रीमतीले ऋण नतिरेका खण्डमा उनको नाममा भएको जायजेथा लिलाम गरेर भए पनि असुल्ने भनिएको छ । तर, अगुवा नै भगुवा भएपछि ऋण उठाइदिने कसले ? कागजमा सयकडा १६ प्रतिशतका दरले व्याज बुझाउने भनी कबुल गरेका छन्, अनितका बुढाबुढीले ।
त्यति मात्रै होइन, महिनाको ५ हजार ४०० किस्ता बुझाउने भनी कागज गरेकामा अहिलेसम्म हजार त के ? एक सुक्को पनि तिरेका छैनन् । अनि हर्कबहादुर जी यो लुट नभई के हो त ? तपाइँलाई त प्रश्न गर्न वा सल्लाह दिनै हुँदैन । उल्टै नेता वा खल्तीका पत्रकारको धम्की दिइहाल्नु हुन्छ । यस्तो तरिकाले कहाँ हुन्छ ? झिकाउनुस् अनित राईलाई । कुन दुलोमा छन्, राई । अनि कुन दुलोमा हुनुहुन्छ, तपाईं । आउनुस् मैदानमा ।
नाम सत्यमोहन, साथ असत्यलाई
सुदूरपश्चिमको बझाङबाट आफ्नो भविष्य बनाउन भनी काठमाडौं आएका सत्यमोहन जोशी पनि हर्कबहादुर टोलीको एक सदस्य हुन् । अघिल्लो श्रृंखलामा उनी छुटे । बचतकर्ताले सबैको आयो, लोनमा काम गर्ने सत्यमोहन छुटे नि, भनेर प्वाक्क भनिहाले । अनि सत्यमोहनलाई नसम्झिएर भो त ? उनी जोरपाटी सेवा कार्यालयमा मार्केटिङ अफिसरको रुपमा काम गरिरहेका थिए । कर्जाको मान्छेले जागिर छोडेपछि उनले कर्जाको पनि भारी बोके । अन्तिममा फसाद भइहाल्यो ।
सत्यमोहन नाम गरेका उनले असत्यलाई साथ दिएको फल अहिले आफैं भोगिरहेका छन् । काम धाम छैन, लठ्ठक भई हिँडिरहेका छन् । उनी आफैंले स्वीकारेको कुराः सुटबुट लगाएका सहकारीका जागिरदारहरुलाई हेरेर उत्सापूर्वक सहकारी छिरेको म अहिले भिजेको विरालो भएको छुँ । संस्था ठिकठाक हुँदा ठाँटै थियो । बेइमानीले सीमा नाघेपछि यो दुर्दशा भयो । अहिले ढाँट्दै छल्दै हिँड्नु परेको छ ।
खप्तडटिभीसँग उनी भन्छन्, ‘ढाँट्ने छल्नेमा विद्यावारिधि नै प्राप्त गर्न योग्य बनाइदिएको छ, रियल गोर्खाले । हामीलाई झुठ बोल्न सिकाउने माड्साव चाँहि हर्क सर नै हो ।’ यस्तो बर्बादीपछि पनि शिर ठाडो पारेर हिँड्न सक्नुहुन्छ र ? हर्कबहादुर जी ? साँच्चै रिसेन्ट्ली कता हुनुहुन्छ तपाईं ?