वि.सं.२०८१ जेठ ६ आइतवार

सुन तस्करी प्रकरण : केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एआइजी ज्ञवालीविरुद्ध उजुरी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीविरुद्ध उजुरीकाे पहिराे लागेकाे छ । तत्कालीन सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यलाई कारबाही गर्दै ज्ञवालीलाई सीआइबीको जिम्मेवारी दिइएको थियो।

बज्राचार्यलाई भने प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिएर सरुवा गरिएको थियो।

सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनको सरुवा गरिएको थियो।

सिआईबीका प्रमुख कारबाहीमा परे

उनलाई कारबाही गरिएपछि ज्ञवालीले सीआइबी सम्हालेका थिए। जबकी उनलाई पनि सुनकाण्डमा जोडिएका व्यक्तिले रकम माग नै गरेको आरोप समेत लगाएका थिए।

उनलाई सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका जीवन चलाउनेले आईजिपी बन्न एक करोड मागेको आरोप लगाएका थिए। त्यतिमात्र होइन, ज्ञवाली केही समय अगाडि शैक्षिक प्रमाणपत्र र नागरिकताबारे विवादमा तानिएका थिए।

उनीमाथि शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पनि गरेको थियो।

गत चैत १० मा वसन्त कुँवर आईजीपी नियुक्त हुँदा ज्ञवाली पनि दौडमा थिए। तर, विवादित भएपछि उनी पछि परेका थिए। पछि गएर सो मुद्दामा उनले सफाई पाएका थिए। यस्तै अहिले पनि उनीविरुद्ध अहिले पनि गृहमन्त्रालय र राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।

६० किलाे सुन प्रकरणमा सिआइबीका डिएसपी रुगम कुँवरकाे साँठगाँठ

अवैध सुन पैठारी तथा संगठित अपराधसम्बन्धी मुद्दामा फरार रहेका जीवन चलाउनेसँग एआइजी ज्ञवालीको ‘मिलेमतो’ रहेको भन्दै उजुरी परेको हो।

उजुरीमा ज्ञवालीलाई छानबिनको दायरामा ल्याई कानुनी कारबाहीको पनि माग गरिएको छ। एआईजी ज्ञवालीमाथि आरोपसहित निवेदन परेपछि यस विषयमा आवश्यक छानबिन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गरिएको राज्य व्यवस्था समितिले जानकारी दिएको छ।

निवेदनमा ज्ञवालीले फरार चलाउनेसँग पैसा मागेको, चलाउने र ज्ञवालीबीच पटकपटक फोनसम्पर्क भएको, सीआईबीले पक्राउ गर्न लागेको भनी सूचना दिई भाग्न सहयोग गरेको, दुईबीच मिटरब्याजमा पैसा लेनदेन हुने गरेको, ज्ञवालीको सुन तस्करसँग साँठगाँठ भएको र यही क्रममा पटकपटक दुबई गएको, नेपाली नागरिकता नत्यागी प्रहरी कर्मचारीको रुपमा कार्यरत ज्ञवालीले अमेरिकाको ग्रीनकार्ड लिएको जस्ता आरोप लगाइएको छ।

‘ज्ञवाली हाल नेपाल प्रहरी निकायमा कार्यरत रहेको अवस्थामा नेपाली नागरिकतासमेत त्याग नगरी अमेरिकाको ग्रिन कार्ड लिएको बुझिएको हुँदा नेपाल प्रहरीमा कार्यरत रहन अयोग्य रहने अवस्थामा निजले अवैध सुन पैठारी तथा संगठित अपराधसम्बन्धी मुद्दामा प्रमाण नष्ट गर्नकै लागि भनी केन्द्रीय अनुसन्धान ब्युरोमा कामकाजका लागि शक्ति केन्द्रमा दौडधुप गरी स्थान प्राप्त गरेको भन्ने तथ्य पुष्टि हुन आउँछ,’ निवेदनमा उल्लेख छ।

आरोपित स्वयं चलाउनेले पनि यही चैत २ मा विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीमा एआईजी ज्ञवालीमाथि गम्भीर आरोप लगाएका थिए।

तत्कालीन आईजीपी बढुवाको प्रतिस्पर्धामा ज्ञवालीले आफूसँग आईजीपी बन्नका लागि भन्दै १ करोड रुपैयाँ मागेको दाबी गरेका थिए। चलाउनेले आफूलाई भाग्न ज्ञवालीले नै सूचना दिएको बताएका थिए। तर, ज्ञवालीले भने चलाउनेले आफूमाथि लगाएको आरोप अस्वीकार गर्दै आएका छन्।

सोही कारण सीआईबीमा ज्ञवालीको सरुवा पनि विवादमा परेको थियो। रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएपछि ज्ञवालीलाई मन्त्रिपरिषद्बाट निर्णय गराएर सीआईबी प्रमुखमा सरुवा गरिएको थियो।

गृहमन्त्री लामिछाने निकट रहेका ज्ञवाली उनकै आडमा संगठन नै ध्वस्त बनाउने अभियानमा सक्रिय रहेकोसमेत चर्चा चलेको छ।

उनले हालका प्रहरी महानिरीक्षक (आइजीपी) लाई पाखा लगाएर आफू बन्ने खेलसमेत रच्न थालेको बताइन्छ।