वि.सं.२०८२ माघ २९ बुधवार

सिआईबीका प्रमुख कारबाहीमा परे

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)का प्रमुख किरण बज्राचार्यमाथि सुन तस्करीमा संलग्नलाई बचाएको आरोप लागेको छ ।

६० किलाे सुन प्रकरणमा सिआइबीका डिएसपी रुगम कुँवरकाे साँठगाँठ

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करीमा संलग्न रहेकाहरुलाई जोगाएको आरोपमा उनलाई कारबाही गर्न समेत सिफारिस गरेको छ ।

आयोगले सीआईबी प्रमुख बज्राचार्यसहित सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागिय कारबाही गर्न सिफारिस गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आयोगले तयार पारेको प्रतिवेदन आज बिहानै प्रधानमन्त्रीलाई बुझाएर विभागीय कारबाही स्वरुप एआईजी बज्राचार्यलाई सीआईबी प्रमुखको जिम्मेवारीबाट मुक्त गर्ने तयारी गरेका हुन् ।

त्यस्तै आयोगले अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलाई पनि विभागिय कारबाही गर्न सिफारिस गरेको छ । एआईजी बज्राचार्यले पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारी र पूर्वप्रहरी महानिरीक्षक तथा एमाले नेता सर्वेन्द्र खनाललाई उन्मुक्ति दिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

सुन तस्करीमा राजनीतिक, प्रशासनिक र सुरक्षा निकायका शक्तिशाली अधिकारीको जालो तोड्न माग गर्दै तत्कालीन प्रतिपक्षी एमाले र रास्वपाले गत साउनमा एक महिना संसद् अवरुद्ध गरेपछि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको थियो । तर आयोगले सुन तस्करीमा माओवादी र एमालेका नेताहरूमाथि कारबाही नगरेको भन्दै प्रहरीमाथि प्रश्न गरेको छ ।

सुन तस्करसँग सोझै सम्पर्कमा रहेको भन्दै अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीलाई आयोगले दोषी मानेको छ । त्यस्तै अभियोजनमा त्रुटि गरेकामा काठमाडौंका जिल्ला न्यायाधिवक्ता जनकप्रसाद घिमिरे र वासुदेव शर्मालाई विभागीय कारबाही गर्न आयोगले सिफारिस गरेको छ ।

पूर्वसभामुख महरा र पूर्वप्रहरी महानिरीक्षक खनाल सुन तस्करीमा संलग्न रहेको बयान आए पनि उनीहरूमाथि सीआईबीले अनुसन्धान नगरेको नेपाल प्रहरी, गृह मन्त्रालय र आयोगका अधिकारीहरूको भनाइ छ ।

६१ किलो सुन तस्करीका अभियुक्त जीवन चलाउने र पूर्वआईजीपी खनालबीच कारोबारी सम्बन्ध रहेको सूचना पाए पनि सीआईबीले खनालमाथि अनुसन्धान गरेको थिएन । त्यतिमात्र होइन, चलाउने पक्राउ परेपछि उनले खनालको संलग्नताको विषयमा दिएको बयानको कागज च्यातेर उनलाई छाडिएको र पछि चलाउने नै फरार भएको प्रहरी अधिकारीहरूको भनाइ छ ।

चलाउनेलाई उम्काउन सहयोग गरेको विषय प्रतिवेदनमै उल्लेख भएपछि गृहमन्त्री लामिछाने आक्रामक रुपमा नेपाल प्रहरीको उच्च तहमा व्यापक जिम्मेवारी हेरफेरको तयारी गरेको स्रोतको दाबी छ ।