वि.सं.२०८१ जेठ ६ आइतवार

छाप किर्ते : गोजीमा संगठन, घाम लाग्दा कारबाही अस्ताउँदा नियुक्ति

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को पूर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय समितिमा चरम समस्या देखिएको छ ।

समितिका अध्यक्ष टोपेन्द्र खड्काले गोजीमै लेटरहेड बोक्दै हिंडेर चौताराचौतारामा कारबाही र नियुक्ति गर्दै हिंडेपछि समस्या देखिएको हो ।

२०७९ साउन २३ गते राष्ट्रिय समितिका अध्यक्ष खड्का र प्रमुख सचिव सन्दिप पुनले अनुशासनहिन र संगठनको नीति विपरितको काम गरेको र प्रतिष्ठामा आंच ल्याएको भन्दै पूर्वी जिल्ला अध्यक्ष अमर मण्डललाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेका थिए ।

मण्डललाई कारबाही गरिएपछि २०८० जेठ २४ गते अध्यक्ष खड्काले रिक्त रहेको पूर्वी जिल्लाको संयोजकको जिम्मा रामकृष्ण यादवलाई तोकेका थिए ।

यादवलाई खड्काले संयोजकको जिम्मेवारी तोकेको म्यासेज सामाजिक संजाल फेसबुक म्यासेन्जरबाट पठाएपछि प्रमुख सचिव पुनले भोलिपल्ट संगठनको लेटरहेडमा यादवलाई जिम्मेवारी तोकेको पत्र पठाएका थिए ।

खड्काले फागुन १३ गते फेरी आफैंले साधारण सदस्य समेत नरहने गरि कारबाही गरेका मण्डललाई हुकुम-प्रमांगीबाट संयोजक तोकेको पत्र पठाएका छन् । साधारण सदस्य समेत नरहेका व्यक्ति एकैपटक कसरी संयोजक हुन सक्छ ? भन्दै अखिल (क्रान्तिकारी) मा तिब्र असन्तुष्टि देखिएको छ ।

राष्ट्रिय समिति कै कतिपय सदस्यहरु आर्थिक विचलन र चन्दा असुलीबाट प्रेरित भएर संगठनलाई बद्नाम गर्ने कार्य गरिएको हुँदा खड्कालाई बर्खास्त गर्नु पर्ने माग उठाउन थालेका छन् । उक्त संगठन निकट स्रोतका अनुसार मण्डललाई पुनर्नियुक्तिको सन्दर्भमा संगठनभित्र कुनै छलफल भएको छैन ।

राष्ट्रिय समितिको संयोजक बनाईएका यादवलाई के कति कारणले हटाईयो त्यसको जवाफ खोज्दै समितिका केहि जिम्मेवार सदस्यहरु संगठनको केन्द्रिय कार्यालय नै पुगेका छन् । केन्द्रिय कार्यालयले संगठन विधिमा चल्ने र व्यक्तिको मनोमालिन्य नचल्ने बताएको छ । खड्काको अराजकतावादी शैलीबाट प्रमुख सचिव पुन लगायत बहुमत कमिटी असन्तुष्ट भएको बताईन्छ । घामलाग्दा नियुक्ति दिने, अस्ताउन लाग्दा कारबाही गर्ने भन्दै केहिले सदस्यले व्यंग्य समेत हानेका छन् ।

यहि सन्दर्भमा प्रमुख सचिव सन्दिप पुनलाई जिज्ञासा राख्दा उनले भने, ‘अमर मण्डललाई पूर्वी जिल्लाको संयोजकको जिम्मेवारी तोकिएको छैन । अहिले पनि संयोजक रामकृष्ण यादव हुन् । बाहिर आएको भनेको नियुक्ति पत्रमा संगठनका अध्यक्षको हस्ताक्षर र छाप नै फरक छ । संगठनको छाप किर्ते गर्ने, लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही हुन्छ । संगठनको नाम, छाप लगायतका आधारभूत विषयमा संगठनभित्र छिटै प्रशिक्षण चलाउंछौ ।