अंग्रेजी पात्रोअनुसार ९ मार्च २०२२ मा जन्मिएको खप्तडटिभी डटकम । आज फेरि आफ्नो साहसी यात्रामा फर्किएको छ। २०२२ देखि आम नागरिकका पक्षमा आवाज उठाउने, सत्ताको दुरुपयोग भण्डाफोर गर्ने र मूलधारका तथाकथित ठूला सञ्चारमाध्यमका खोलभित्र लुकेका भ्रम चिर्ने यो अभियान केही समयका लागि बन्द रहनु पर्यो। कारण? प्राविधिक मात्र होइन, प्रायोजित षड्यन्त्र।
९ मार्च २०२५ मा एकाएक खप्तडटिभी बन्द हुनुका पछाडि सामान्य प्राविधिक समस्या मात्रै थिएन । त्यो एक योजनाबद्ध साजिश थियो। केही शक्तिकेन्द्र-निकटका गिरोहहरूले डोमेन होल्डमा राख्न गुगलमा दबाब सिर्जना गरे। उद्देश्य थियो । जाेखिम पत्रकारिताको यो बलियो स्वरलाई चुप गराउने, नागरिक सचेतनाको यो माध्यमलाई निष्क्रिय बनाउने।
तर सत्यलाई कति समय चोख्याएर राख्न सकिन्छ र ?
आज, २ जुन २०२५ बाट खप्तडटिभी फेरि जागेको छ। अब पहिलेभन्दा अझ सशक्त, अझ निडर र अझ खोजीपूर्ण ढंगले अघि बढ्नेछ। हामीले थुप्रै ‘महाठग’ र सामाजिक विकृति फैलाउने कथित सभ्यहरूको मुखुण्डो च्यात्यौं। यिनै कारणले हाम्रो आवाज बन्द गर्न खोजिएको हो।
हामी झुकेनौं, बिकेनौं, र अब झन् बोल्नेछौं!
कतिपयले आफूलाई ‘अमरुक पत्रकार’ ठान्छन् । तर तिनका रिपोर्टहरू खोक्रा, पदीय पहुँचमा भर पर्ने र सतही छन्। उनीहरूलाई सिधा प्रश्नहरू गर्न डर लाग्छ। खप्तडटिभीले कहिल्यै नझुक्ने ढंगले आफ्ना समाचार पस्केको छ । प्रमाणसहित, साहससहित।
हामीले उठाएका प्रायः सबै मुद्दाहरू सत्यताको नजिक छन् । केहि टुंगोमा पुगिसके, केही अध्ययनरत छन्। तर हामीले कहिल्यै पनि ‘आधा समाचार’ पाठकमा पुर्याएका छैनौं। यसै कारण, हाम्रा समाचार अन्य थुप्रै न्यूजपोर्टलहरूले कपि गरेर प्रकाशन गरेका छन्।
तर खप्तडटिभीले कहिल्यै अरूका रिपोर्टको भर लिएन, कहिल्यै सस्तो लोकप्रियताका लागि अरूको काँध चढेन।
यो पुन: सञ्चालन, केवल पुनरागमन होइन, यो आन्दोलनको पुनरुत्थान हो!
पछिल्लो तीन वर्षको यात्रामा हामीले नथाकी नथाकी सत्ताको चरम दुरुपयोग उजागर गर्यौं । चाहे त्यो प्रहरीभित्रको लागूपदार्थ कारोबार होस्, राजनीतिक पहुँचमा आधारित ‘हनी ट्र्याप’ काण्ड होस् वा बैंक र सहकारीको करोडौं भ्रष्टाचार । हामीले बोलेका छौं, लेखेका छौं र देखाएका छौं।
र आज हामी पुनः अविचलित संकल्पसहित फर्किएका छौं।
खप्तडटिभी: नागरिक पत्रकारिताकाे किल्ला
खप्तडटिभीले सधैं सिटिजन जर्नालिज्मको पक्षमा बोल्दै आएको छ। गाउँगाउँका आवाज उठाउँदै सहरका शक्ति केन्द्रहरूलाई झस्काउने सामग्री प्रकाशन गर्दै आएको छ। पत्रकारिता केवल शहरका बैठकमा सीमित रहनु हुँदैन । हामीले यो मान्यता व्यवहारमा उतार्यौं।
तर यिनै कारणले हामीमाथि कानुनी फन्दासमेत लगाइयो । अनगिन्ती मुद्दा लगाइयो। थुन्न खोजियो। रोक्न खोजियो।
तर खप्तडटिभी कुनै गुट, दल, धर्म, जात, पेसा वा शक्ति केन्द्रको मुखपात्र होइन। हामी सत्यका सेवक हौं। हामी प्रश्नकर्ताका प्रतिनिधि हौं।
आज हामी फेरि बोलिरहेका छौं, फेरि लेखिरहेका छौं
र सत्ताका आडमा डोमेन होल्ड गर्ने, सर्च इञ्जिनलाई गुमराहमा पार्ने, हाम्रा स्रोतहरू अवरुद्ध गर्ने जो कोही पनि खबरदार! तपाईंको षड्यन्त्र ढिलो वा चाँडो पर्दाफास हुनेछ।
खप्तडटिभी डटकम फेरि संचालनमा आएको छ । यो केवल वेबसाइट खुलेको सूचना होइन, यो एउटा चेतावनी हो । अब हामी अझै गहिराे खोतल्नेछौं, अझै खुलस्त बोल्नेछौं।
जय पत्रकारिता!
जय नागरिक अधिकार!
जय खोज पत्रकारिता!