वि.सं.२०८३ वैशाख ७ सोमवार

सत्यको पक्षमा अविराम यात्रा

खोज पत्रकारिताको चार वर्षे यात्रा

गुरू गणेश मिडिया प्रालिद्वारा सञ्चालित खप्तडटिभी डटकम आज तेस्रो वर्षको यात्रा पार गरेर चौथो वर्षमा प्रवेश गरेको छ । यो केवल समय घडी घर्किएको अंक गणितीय तथ्य मात्र होइन, सत्य खोजेर तथ्य पस्किने जिम्मेवार पत्रकारिताको इतिहास निर्माणको महत्वपूर्ण अध्याय हो ।
तीन वर्ष अर्थात् १,०९५ दिन । यो एउटा अवधि अर्थात् दिनहरुको गिन्ति मात्रै होइन; अन्याय, अत्याचार, भ्रष्टाचार, वेथिति र दुराचारविरुद्ध लगातार चलाइएको शब्द–संघर्षको महाभियान हो ।

खप्तडटिभी डटकमले मनायो पहिलो वर्षगाँठ (फाेटाे फिचर)

राज्य संरचनाभित्र व्याप्त विकृतिहरू, राजनीतिक दलका शक्ति केन्द्रभित्र गोप्य रूपमा भइरहेका अनैतिक क्रियाकलाप र समाजको तल्लो तह अर्थात् भुइँतहमा दबाइएका आवाजलाई बुलन्द गर्ने ज्यूँदो जाग्दो मसाल हो, खप्तडटिभी ।

यातायात मजदुरहरूको पीडा, स्वरोजगार व्यवसायीको चित्कार, सहकारी बचतकर्ताको वेदना, भुइँमान्छेमाथि राज्य संयन्त्रको निरन्तर उपेक्षा र बलशाली बाहुबलीहरुको दादागिरीको पर्दाफास गर्ने प्रतिबिम्ब अर्थात् पानीपथ एवं ऐना हो ।

९ मार्च २०२२ मा अंग्रेजी पात्रो अनुसार जन्मिएको यो डिजिटल सञ्चार माध्यमले सुरुवातदेखि नै एउटा स्पष्ट प्रतिवद्धता लिएको छ, सत्यका पक्षमा उभिने र अन्यायकाविरुद्ध आगो ओकेल्ने । तर सत्यको पक्ष लिनेहरुलाई यो संसारमा सहज छैन । कठिन र कष्टकर यात्रा सत्य बोल्नेहरुको नियती नै हो । तर, सत्य बोल्नेहरु सफल नै हुँदैनन् भन्ने चाँहि होइन । विलम्ब भए पनि अन्तिममा विजय सत्य कै हुन्छ ।

आफ्नै मुद्दामा सिन्सियरको लज्जास्पद हार, खप्तडटिभीकाे जीत

कष्ट सहनेहरु नै समाजका लागि सच्चा पैरवी गर्न सक्छन् । जसको उदाहरण यस अनलाइन पोर्टलका अध्यक्ष तथा प्रकाशक गणेश विक स्वयं हुन् । मानवीय धर्म र कर्तव्य बोधको सिलशीलामा समाचारबाट सत्य उजागर गर्दा पटक–पटक हत्कडी लगाइएका विकले जति नै सुकै बाधा आइलागे पनि आफ्नो कर्म र पत्रकारिताको धर्म छोडेनन् । झन्, तीख्खर भएर निरन्तर सक्रियताको अभ्यासमा छन् । समाजलाई विकृतिविरुद्ध सचेत गराउन खोज्दा प्रतिवादीका रुपमा कयौँ पटक अड्डा अदालत धाउनु पर्‍यो, त्यसको लेखाजोखा नै छैन ।

खप्तडटिभी दोस्रो वर्षमा : ‘नियामक एवं राज्यतहबाट गरिने कचिङ्गल बन्द गरियोस्’

स्वनियमनकारी निकायले कारबाही गरिसकेका कयौँ केस तथा मामिलाहरु नियमित अदालतमा खिचेर कयौँ पल्ट थुना भोग्नु पर्यो । राजनीतिक पहुँच, पैसा र पावरको दुरुपयोग गरेर दुर्गमबाट आफ्नो सुन्दर भविष्य निर्माणका लागि संघीय राजधानी छिरेको एक नव युवालाई बाहुबलीहरुले त दुःख दिए नै राज्यले समेत विभेदमाथि विभेदको पुरस्कार दिइरहयो ।

खप्तडटिभी पुन: सञ्चालनमा : सत्ताकाे फन्दामाथि खप्तडटिभीको घनघाेर चोट

नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक र पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । तर, व्यवहारमा त्यसको प्रत्याभूत सायदै कसैले गरेका होलान् । प्रकाशक तथा पत्रकार विकको हकमा त्यो कुनै पनि बेला वा बखतमा लागू भएन ।

खप्तडटिभी डटकम तेस्रो वर्षमा, संघर्षका ७३० दिनको स्मरण

एउटै प्रकृतिको विषयमा समाचार लेख्दा कुनै सञ्चारमाध्यमका प्रकाशकले सफाइ पाए । तर, सोही विषयको समाचार प्रकाशन गरेका विकलाई फौजदारी कसुर ठहर्ने कुराले नेपालको न्याय प्रणालीमाथि प्रश्न उठाएको छ ।

 

जेनजी आन्दोलनको आवरणमा नेपालका न्यायलयमा भएको आगजनी त्यसैको प्रतिक्रिया पनि हुनसक्छ । समाचार लेखेकै भरमा पत्रकारमाथि फौजदारी कसुर प्रमाणित गर्ने कुरा आफैंमा प्रेस स्वतन्त्रताको संवैधानिक अधिकारको वर्खिलाप हुँदै हो, प्राकृतिक न्यायको सिद्धान्त अनुसार न्याय निरुपण सेलेक्टिभ हुनु हुँदैन । ता कि जात, थर, भूगोल वा वर्गको आधारमा फरक फरक फैसला होस् ।

 

यो अवस्थामा पनि आमसञ्चार विषय अध्ययन गर्न बझाङको दुर्गम भूभागबाट काठमाडौं छिरेका एक दलित नव युवामाथि साधिएको विभेदले राज्य व्यवस्था कति नागरिकमैत्री छ भन्ने तथ्यको पर्दा उघारेको छ ।

कानूनको रोहमा पक्राउ परेर थुनामा बसेको व्यक्तिलाई गरिने व्यवहार र फरारी म्याद गुजारेर अदालतमा उपस्थित हुने व्यक्तिलाई गरिएको व्यवहारले पनि यहाँ न्यायलयभित्र कति असमानताले जरा विछ्याएको छ भन्ने थाहा हुन्छ । यदि न्यायालय स्वयं शक्तिशाली, पहुँचवाल, विचौलिया र सम्भ्रान्त वर्गको दबाब तथा प्रभावमा परिरहने हो भने न्यायालयप्रति नागरिकको भरोसा मर्छ नै समाज थप अधोगतिमा जाने खतराले डेरा जमाउँछ ।

त्यस्तो अवस्थाको अन्त्यले मात्रै लोकको हित हुन्छ र लोकले साँच्चिकै लोकतन्त्रको जयजयकार गर्ने छन् । अन्यथा, काजजी बाघकै कथा मात्रै हुनेछ, हामीले ल्याएको लोकतन्त्र ।

पत्रकारिताको मूल धर्म नै प्रश्न उठाउनु हो, सत्य खोज्नु हो । र समाजलाई सही सूचना समयमै दिएर हमेसा सचेत गराउनु हो । यहि जिम्मेवारीको बोध गर्दै खप्तडटिभीले आगामी यात्रामा अझ निर्भिक भई सशक्त ढंगले सामाजिक विचलन र नैतिक पतनका विषयहरू उजागर गर्नेछ ।
सवैभन्दा सर्वोपरी मानिएको राजनीति विग्रिए देशै वर्वाद हुन्छ भन्ने कुराको उदाहरण थाहा पाउन अन्त कतै जानु परेन, भदौ २३ र २४ को जेनजी आन्दोलनलाई फर्केर हेरे पुग्छ ।

उच्च नैतिक चरित्रको अपेक्षा गरिने राजनीतिक नेतृत्व स्वयं अनैतिक व्यवहारमा लिप्त हुँदा समाजले कस्तो उदाहरण सिक्ने ? कानूनले वैवाहिक बलात्कार जस्ता गम्भीर विषयलाई अपराध मानेको अवस्थामा परस्त्रीगमन जस्ता नैतिक प्रश्नहरूबारे सार्वजनिक बहस हुनु अपराध कसरी हुन सक्छ ? खप्तडटिभीले उठाएका यस्ता समाचार कसरी फौजदारी कसुरको मानक हुनसक्छन् ?

यदि राजनीतिक दलहरूले आफ्ना नेताहरूका लागि आचारसंहिता बनाएका छन् भने त्यसको पालना किन नहुने ? यदि त्यो केवल कागजमा सीमित छ भने त्यो आचारसंहिता किन ? अनि नागरिकले विश्वास गरेर आफ्नो भविष्यका लागि गरिएको बचत अपचलन गर्ने बैंक तथा सहकारीको दादागिरी किन ? भनेर प्रश्न गरिनु फौजदारी कसुर हुने हो भने गम्भीर प्रकृतिका अपराध गर्नेहरुमाथि के कति कारणले कसुर स्थापित हुन नसकेको ?

यी केवल एउटा मिडियाका प्रश्न होइनन्, यी सिंगो समाजका प्रश्न हुन् । जो अनुत्तरित छन् । नागरिकले यी प्रश्नको उचित जवाफ नपाएसम्म खप्तडटिभीको खोज अभियान निरन्तर जारी छ ।
यो चार वर्षे यात्रामा साथ दिने सम्पूर्ण पाठक, दर्शक, शुभेच्छुक, सहयोगी र आलोचकहरूप्रति हामी कृतज्ञ छौं । तपाईंहरूको विश्वास, साथ र समर्थन नै हाम्रा लागि ब्रम्हास्त्र हो । आगामी दिनमा पनि सत्य, सामाजिक न्याय र निमुखाको आवाज नै खप्तडटिभीको मूल अभियान हुनेछ । यो, केवल प्रतिवद्धता मात्रै होइन, अविराम यात्रा हो ।

सधैँ खप्तडटिभी डटकमको साथमा रहनुहोस् ।

धन्यवाद ।