लोकतन्त्रमा जनता नै राज्यको शासन व्यवस्थाको पहिलो निर्णायक हुन्छन् । सही निर्णय गर्न जनतालाई सही सूचना चाहिन्छ । जनप्रतिनिधि, कर्मचारी तथा सार्वजनिक निकायहरू सबै जनताप्रति जबाफदेही हुनु पर्दछ । त्यसैले सार्वजनिक निकायका निर्णय, कामकारबाही, बजेट इत्यादि सम्पूर्ण सूचना जनताले पाउनुपर्छ जुन लोकतान्त्रिक अधिकार नै हो ।
यही मान्यता अनुसार सूचनाको हकको प्रचलन सुरु भएको हो सामान्य अर्थमा सूचना माग्ने र दिनुपर्ने अधिकार नै सूचनाको हक हो भन्न सकिन्छ ।
मानव अधिकारको घोषणापत्र धारा १९ ले ‘प्रत्येक व्यक्तिसँग विचार स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अधिकार छ । बिना कुनै हस्तक्षेप मत वा विचार मान्ने, राखे वा ग्रहण गर्ने र कुनै सीमाको बन्देज बिना कुनै पनि माध्यमद्वारा सूचना र विचार खोज्ने, पाउने र फैलाउने अधिकार प्रत्येक व्यक्तिलाई हुनेछ’ भनिएको छ ।
तर बझाङको सुर्मा गाउँपालिकाको शिक्षा शाखामा भने सूचना लुकाइन्छ । सार्वजनिक सूचना प्रवाह गर्न शिक्षा प्रमुख कविन्द्र बोहरा इच्छुक छैनन् । सर्वसाधारण जनतालाई त शिक्षा प्रमुख बोहराले सूचनाबाट वञ्चित गर्दै गुमराहमा राखनेका छन् नै, उनी सञ्चारकर्मीलाई पनि सूचना दिनबाट भाग्ने गरेका छन् ।
हामीले समाचार संकलनका क्रममा बोहरालाई थुप्रै पटक फोन गर्याैँ । उनले फोन उठाउने छाँटकाँट देखाएनन् । केही प्रश्न लेखेर म्यासेजमा पठायौँ, उनले प्रश्न हेर्न भ्याए तर जवाफ दिन इच्छा देखाएनन् । उनको जवाफ नआई सकेपछि जवाफ आउँदा ठाउँदिने निर्णयमा पुगेर (शिक्षामा बेथितिका चाङ, शिक्षा प्रमुख जिम्मेवारीबाट बिमुख) समाचार सम्प्रेसण गर्यौँ । जब, समाचार बाहिरियो त्यसपछि बोहरा झस्किए । हतार हतार फोन गरेर समाचारमा आपत्ति जनाए । हामीले प्रश्न गर्याैँ, यतिका समय तपाईंलाई प्रश्न गर्दा कुन निन्द्रामा हुनुहुन्थ्यो?
हाम्रो समाचार प्रभावले आत्तिएका बोहराले मातहतका कर्मचारीलाई विद्यालय व्यवस्थापन समिति गठन गर्ने सम्बन्धमा पत्र काट्न लगाए ।
बोहराले शैक्षिक प्रशासनमा अब्बलता देखाउन नसकेको स्थानीयको जिकिर छ । गाउँपालिका शिक्षा शाखा प्रमुखको मिलेमतोमा सुर्मा माध्यमिक विद्यालय थकुन्नाडा र धल्देऊ माध्यमिक विद्यालय सैनगाँउमा पुरानो कार्य समितिको पदावधि सकिएको दुई बढी भइसक्दा पनि नयाँ समिति गठन गरेको छैन ।
यसबाहेक पनि दिवा खाजा, सेनेटरी प्याड, छात्रवृती, विद्यालय भवन निर्माण, मसलन्द, शैक्षिक सामाग्री तथा कार्यालय सामाग्री खरिद, करार शिक्षक नियुक्तिमा शिक्षा प्रमुख बोहराले अनुचित लाभ उठाउने गरेको जानकार बताउँछन् ।
बोहराको आर्थिक जीवन अपादर्शी छ । सेवा प्रवेश गरेको केही वर्षमै उनले जोडेको जग्गा जमिन, बैंक व्यालेन्स तथा भड्कीलो जीवन शैलीले उनी माथि आर्थिक अनियमितताको शंका उब्जाएको छ । हामीले बोहरालाई पुनः प्रश्न गरेका छौँ, तपाईंको आय स्रोतबाट यत्तिको सम्पत्ति जोड्न कसरी सम्भव भयो ? उनले कुनै जवाफ दिएका छैनन् ।
यस्ता कयौं घटनाहरु बझाङमा धेरै छन् । त्यो जर्जरताको श्रृंखला केही दिनमै खप्तडटिभीमा आउँदैछ ।