वि.सं.२०८१ माघ २६ शनिवार

लहरो तान्दा पहरो गर्जियो : एआईजीसहित ६ जना डिआईजीकाे जन्ममिति फरक-फरक..!

जन्ममिति विवादमा तानिए (डीआईजी) अशोक सिंह

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले उमेर झुक्याएर जागिर खाइरहेको भन्दै एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेर मिडियाबाजी गरिरहेको छ ।

डिआईजी सिंहविरुद्ध संगठनकै उच्च तहमा रहेका अधिकारीहरुले यसरी चरित्रहत्या गराएका छन् कि मानिलिउँं उनी ठूला अभियुक्त हुन्, जो गैरकानूनी रुपमा डिआईजीको रुपमा अझै वहाल छन् ।

आईजीपी धिरजप्रताप सिंहले नै उनलाई एसएसपीबाट डिआईजीमा बढुवा गराए । तर, त्यो बेलामा उनको जन्ममिति फरक भएको किन हेरिएन ? स्रोतबाट प्राप्त विवरण अनुसार डिआईजी सिंहको जन्ममितिमा १ वर्ष ६ महिना २४ दिन फरक परेको देखिन्छ । डिआईजी सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएको छ ।

उनको सिटरोल र शैक्षिक योग्यतामा जन्ममिति २०२५/९/१६ छ भने नागरिकतामा २०२४/२/२२ भएको प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखाना उल्लेख छ । जवकी उनले २०४२/२/२२ मा लिएको नागरिकतामा उनको उमेर १८ वर्ष लेखिएको छ ।

त्यसैगरी एआईजी दिवेश लोहनीको पनि जन्ममिति ६ महिना २६ दिन फरक भेटिएको छ । उनको सिटरोलमा २०२४/६/२९ रहेको छ भने नागरिकतामा २०२५/१/१५ तथा शैक्षिक योग्यतामा २०२४/६/१९ उल्लेख गरिएको छ ।

डिआईजी नलप्रसाद उपाध्यायको पनि जन्ममिति ६ महिना १४ दिन फरक भेटिएको छ । उपाध्यायको सिटरोल र नागरिकतामा २०२४/४/१९ तथा शैक्षिक योग्यतामा २०२४/११/३ उल्लेख गरिएको छ ।

अर्का डिआईजी मोहन आचार्यको सिटरोल र शैक्षिक योग्यतामा २०२४/१०/१७ रहेको छ भने नागरिकतामा २०२४ साल मात्र उल्लेख गरिएको छ । डिआईजी मसउद आलम खाँको पनि ५ महिना १ दिन जन्ममिति फरक रहेको पाइएको छ । खाँको सिटरोलमा २०२५/७/१२ रहेको छ भने नागरिकतामा २०२५/१२/१३ तथा शैक्षिक योग्यतामा २०२५÷७÷११ उल्लेख गरिएको छ । उनकोे सिटरोल, नागरिकता र शैक्षिक योग्यता सबैमा जन्ममिति फरक–फरक रहेको पाइएको छ ।

त्यसैगरी डिआईजी श्यामलाल ज्ञवालीको पनि जन्ममिति ५ महिना ५ दिन फरक रहेको पाइएको छ । उनको सिटरोल र शैक्षिक योग्यतामा २०२५/५/२६ रहेको छ भने नागरिकतामा २०२४/१२/२१ उल्लेख छ । ज्ञवालीले भने आफ्नो सबै कागजपत्रमा एउटै जन्ममिति २०२५/५/२६ रहेको र विवादमा ल्याउनका लागि झुटो विवरण सार्वजनिक गरिएको दावी गरेका छन् ।

अर्का डिआईजी किरण बज्राचार्यको पनि जन्ममितिमा २९ दिन फरक भेटिएको छ । उनको सिटरोल र नागरिकतामा २०२५/९/१६ उल्लेख छ भने शैक्षिक योग्यतामा २०२५/८/१७ उल्लेख भएको पाइएको छ ।

उमेर झुक्याएको भन्दै डीआईजी सिंहविरुद्ध बागबजारका विश्वप्रकाश भेटवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

डिआईजी सिंहको मात्र नभई अन्य अधिकारीहरुको पनि सेवा प्रवेश गर्दाको उमेर, नागरिकता र सिटरोलमा जन्ममिति फरक–फरक भेटिएपछि आईजीपी धिरजप्रताप सिंह कानुनी परामर्शमा जुटेको बताइएको छ ।

प्रहरीमा अहिले डिआईजीबाट एआईजीमा बढुवाका लागि अस्वस्थ चलखेल भइरहँदा संगठनभित्र एकले अर्कोलाई हिलो छ्याप्ने प्रवित्ति मौलाएको छ ।

आधा दर्जन अधिकारीहरुको उमेर फरक देखिएपछि गृह सचिव विनोद प्रकाश सिंह पनि कानूनी परामर्शमा जुटेको स्रोतले बतायो ।

प्रहरी प्रवक्ता डिआईजी पोषराज पोखरेलले भने, प्रहरी अधिकारीहरुको जन्ममिति फरक परेको छानविनको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।

उनले अहिले चर्चामा रहेको डिआईजी अशोक सिंहमाथिको छानविनको बारेमा पनि अनभिज्ञता प्रकट गरे ।