वि.सं.२०८१ भदौ २८ शुक्रवार

डुब्न लागेको सिन्सियरको नयाँ पलान, मौका पाउनासाथ बचतकर्ताको रकम लिएर कुलेलम ठोक्ने..!

आफ्नो बेइमानी छोप्न अनेक गर्दै सिन्सियर, सञ्चालक कागभन्दा बाँठा

काठमाडौं उत्यकामा मीठा र आकर्षक नारा राखेर खोलिएका केही सहकारीहरुको लुट धन्दाले प्रहरीले भन्ने गरेको गुण्डाराजलाई पनि चक्मा दिनसक्छ । खप्तड टिभीको खोजबाट यस्ता धेरै रहस्यहरु क्रमशः पर्दाफास हुँदैछन ।

राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड को–अपरेटिभ लिमिटेडमा यतिखेर भीड लागेको छ ।

सिन्सियरले गरेको लगानी डुबेपछि बचतकर्ता र सेयरधनीहरुमा उछाल आएको छ । उनीहरुको रातको निद्रा र दिनको भोक मेटिसकेको छ । सिन्सियरमा पैसा निकाल्ने जानेको लर्को लागेको छ । सिन्सियरमा सर्वसाधारण र व्यापारीले बचत गर्न छोडिसकेका छन् । सिन्सियरले कहाँ कर्जा लगानी गरेको छ ? त्यो लगानी कस्तो अवस्थामा छ ? बचतकर्ताले खप्तडटिभीले प्रकाशन  गरेकाे समाचारबाटै थाहा पाइसकेका छन् ।

२१ वर्षे थोत्रा ट्याक्सीमा सिन्सियरको करोडौं लगानी छ । सरकारले २० वर्ष कटेका कालो प्लेटको सवारी साधन विस्थापन गर्ने निर्णय गरिसकेको छ । यता, त्यस्ता गाडी बाटामा गुड्न पाँउदैनन् । त्यसको रोड परमिट र दर्ता खारेज गर्ने भनेर राजपत्रमा प्रकाशित भइसकेको छ । सिन्सियरले लगानी गरेको थोत्रा ट्याक्सीबाट १४ देखि १६ लाख असुल्नु छ । बाटामा गुड्न नपाउने भएपछि त्यो ट्याक्सी के काम ? कबाडीमा बेच्दाखेरि २० हजार पनि आँउदैन् ।

सहकारीले पैसा उठाउने र कर्जा लगानी गर्ने कार्य क्षेत्र हुन्छ ? सरकारले दिएको कार्य क्षेत्रभन्दा बाहिर गएर पैसा उठाउन पनि पाँउदैन् । लगानी गर्न पनि पाँइदैन् । तर, सिन्सियरले सरकारको यो नियम मानेको छ त ? सहकारी विभागले छानबिन गर्नुपर्ने भएको छ । कानुनलाई धोती लगाएर सिन्सियरले शाखा नखोलिकन देशैभरिबाट बचत उठाउँदै आएको छ । तर, यसकाे कार्यक्षेत्र भने काठमाडाैं र ललितपुरमा मात्रै रहेकाे छ । यता, धितो पनि देशभरको रोक्का राख्दै आएको छ । यो त गैरकानुनी भएन् र ? नागरिकताको आधारमा ७७ जिल्लाका स्थानीयबाट सिन्सियरले पैसा उठाउँदै आएको छ ।

सिन्सियरले सहकारी खोलेर सबै गैरकानुनी काम गरेको छ । सिन्सियरले २० लाखको जग्गालाई घुस खाएर त्यति नै कर्जा लगानी गरेको छ । अहिले किस्ता नतिर्दा बढेर त्यो ४० लाख पुगिसकेको छ । जग्गाको किनबेच त ठप्प छ । सेयरमा पनि उही नै छ । सेयरमा पनि घुस खाएर धमाधम लगानी गरियो । अहिले सेयरको मूल्यमा स्वाटै गिरावट आएको छ । बढी ब्याज दिने ललिपप देखाउँदै सिन्सियरले बचतकर्ता तान्यो । घुस खाँदै कर्जा दिएर जिल्लाजिल्लाको घरजग्गा रोक्का राख्यो ।

सिन्सियरले आफ्नो कालो कर्तुत सक्दो ढाकछोप गर्यो । तर, जब सिन्सियरको लगानी जोखिममा पर्यो, यो पनि छर्लङ्ग बाहिर आएको छ । आफू डुबेपछि, सहकारीमा बचतकर्ताको भीड बढेपछि सिन्सियरले हिजाे आर्थिक अभियान राष्ट्रिय दैनिक सञ्चारमाध्यममा प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ,‘हामी डुबेका छैनौं । सेयर सदस्य र बचतकर्ताहरुले निर्धक्क भएर कारोबार गरौं ।’ यो भन्नुको कारण धेरै कोट्याइरहन आवश्यक पनि पर्दैन् । यसअघि गौतमश्री, शिवशिखर, कान्तिपुर, सिभिल, लाँलीगुरास, देउराली, एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडलगायत सहकारीहरुले पनि हामी डुबेका छैनौं भनेर प्रेस विज्ञप्ति निकालेका थिए ।

कतिले त भेलासमेत गरेका थिए । अहिले त्यसको नतिजा त सबैले देखेका छन् । सम्पूर्ण सहकारी त डुबिहाले । कुनैको सञ्चालक जेलमा छन् कुनैको फरार छन् । सरकारले शुरुमै नबुझ्दा अहिले सञ्चालक समात्न कति ग्राह्रो भइरहेको छ । बचतकर्ताहरुको पनि रुवावासी भएको छ । सिन्सियरले पनि बचतकर्ता र सेयर सदस्यलाई अलमलाउने काम गरिरहेको छ । सिन्सियरका सञ्चालक समितिका पदाधिकारीहरुको जतिसुकै सम्पत्ति भएपनि बचतकर्तालाई के काम लाग्छ र ?

गौतमश्रीका सञ्चालकले आफ्नो सम्पत्ति बेचेर भएपनि पैसा फिर्ता गर्ने आश्वासन दिएका थिए । अहिलेसम्म कति बचतकर्ताले रकम फिर्ता पाए त ? शिवशिखरले पनि त्यही नै भनेको छ । तर, कार्यालय नै बन्द गरेर कुलेलम ठोकेका सञ्चालकलाई कहाँ गएर खोज्ने ? सहकारीका सञ्चालक र कर्मचारीहरुलाई सरकारले निगरानीमा राख्न ढिलाइ भइसकेको छ । अहिले कतिपय सहकारीका सञ्चालकहरुले आफ्नो नाममा भएको सम्पत्ति धमाधम आफन्तको नाममा पास गरेको छ्याप्छ्याप्ती बाहिर आएको छ ।

बचतकर्ताले रगतपसिना गरेर राखेको बचतमा मोजमस्ती गरेका सहकारीका सञ्चालकहरुले आफू बच्नका लागि यो कार्य गरिरहेको पाइन्छ । भोलि प्रहरीले पक्राउ गरेपनि सम्पत्ति फिर्ता गर्न नपरोस् भनेर यो अप्नाएका हुन् । सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्य पनि आफूले भ्रष्ट्राचार गरेर जोडेको सम्पत्ति लुकाउनतिर लागेका छन् । बढी सेवाशुल्क, घुस, मँहगो ब्याज र अर्कोलाई उठीबास लगाएर जोडेको अंकुत सम्पत्ति लुकाउनु त स्वाभाविकै हो ।

२०४८ सालमा सहकारी ऐन बनाइयो । सरकारले सर्वसाधारणलाई परेको बेलामा राहत होस् भन्ने उद्धेश्यले सहकारी खोल्न दिने निर्णय गर्यो । अहिले एउटै घरमा पाँच वटासम्म सहकारी छन् । सहकारीहरु च्याउ उम्रेझैं उम्रिए तर नियमन भएन् । बजार प्रतिनिधिहरुले नै सहकारी दर्ता गरेर सञ्चालनमा ल्याएको पाइन्छ । बजार प्रतिनिधिलाई त कसरी ठग्ने ? यो राम्ररी थाहा हुन्छ नि त । सरकारले सहकारी खोल्न इजाजत दिएदेखि नै यो क्षेत्रमा एकदमै बेतिथि छ ।

आफ्नो नातेदार मिलेर सहकारी दर्ता गर्ने अनि आफूलाई पुग्नेबित्तिकै बचतकर्ताको रकम कुम्ल्याएर कुलेलम ठोक्ने । विगतदेखि वर्तमानसम्म आँउदा यो प्रमाणित भइसकेको कुरा हो । विगतमा अलिअलि सहकारी भागेको सुनिन्थ्यो, अहिले त यो क्रम ह्वात्तै बढेको छ । जसले सहकारी दर्ता गर्न इजाजत दियो, उसले नियमन गर्न जानेन् । एउटा नागरिकताको आधारमा भकाभक सहकारी दर्ता गरियो । जसको नतिजा अहिले बचतकर्ताहरुले भोगिरहेका छन् ।

सहकारीहरु गुण्डाको भकारी बन्न पुगेको छ । तर, कहाँ छ सरकार ? बजारमा बुझ्ने हो भने दुई थरीले सहकारी खोलेका छन् । एकातर्फ बैंकबाट अवकाश प्राप्त व्यक्तिहरुले सहकारी सञ्चालन गरेको पाइन्छ । अर्कोतर्फ बजार प्रतिनिधि भइहाले । यिनीहरुलाई कसरी बचतकर्ता र ऋणीलाई चुस्ने ? राम्ररी थाहा छ । बचतकर्ताको पैसा हिनामिना गरेर, ऋणीलाई चुसेर, घुस खाएर, मँहगो ब्याज लिएर, उनीहरुको जायजेथो खाइदिएर सहकारीका सञ्चालकहरु अरबपति बनेका छन् ।

सहकारी एक नम्बरको दलाली बन्यो । यता सहकारीका सञ्चालक, कर्मचारी मोटाउने उता बचतकर्ता र ऋणीहरु सोत्तर बन्ने । सहकारी ठग संस्था हो भन्ने कुरा सरकारले बुझेको छैन् । बचतकर्ताको विस्तारै आँखा खुलेको छ । सहकारीमा बचत गर्नेहरु चालमचुर्लम्म डुबे, उनीहरु सुकुम्बासी बने । सहकारीबाट ऋण लिनेहरु पनि विस्थापित भएका छन् । अर्बपतिहरु रोडपति बनेका छन् । सहकारीले सडकछापको संख्या ह्वात्तै बढायो । गरिबीको दर नेपालमा थप बढ्यो ।

देशभर जति सहकारी छन्, तिनको एउटै उद्धेश्य हो,‘बचतकर्ता र ऋणीलाई डुबाउने, आफू जुका मोटाएझैं मोटाउने ।’ जनताको नजरबाट भन्ने हो भने सहकारीहरु ठग हुन् । यिनीहरु संस्था होइनन्, लुटेरा हुन् । यद्यपि, राज्य हात बाँधेर बसेको छ । सहकारीबाट पीडित बनेकाहरु लाखौं छन् । पाइलैपिच्छे सहकारी पीडित भेटिन्छन् । यसमा सिन्सियर पनि थपिने भो । सिन्सियरका बचतकर्ताको हाल बेहाल हुने निश्चित छ । हिजो सिन्सियरले अरुलाई च्याप्थ्यो, आज आफैं च्यापिने अवस्थामा पुगेको छ ।

सिन्सियरका कारण लाखौं विस्थापित भएका छन् । अरुलाई बिल्लीबाठ बनाएर सिन्सियरका तीन हर्ताकर्ताले तिनकै पैसामा रजाँइ गरे । अब पालो सिन्सियरको आएको छ । आफ्नो कर्तुत अझैपनि ढाँक्न सक्छु र सरकारबाट बच्न सक्छु कि भनेर सिन्सियरका तीन हर्ताकर्ता राजनीतिक दलको घरमा धाइरहेका छन् । सिन्सियरका हर्ताकर्ता हामी व्यक्तिगत सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गछौं भन्छन् । यिनीहरुको नौटंकी कतिञ्जेल चल्दो रहेछ ? हेर्दै जाऔं ।

बचतकर्ताले बेलैमा होस् पुर्याउन जरुरी छ । भोली पुर्परोमा हात राख्नुभन्दा पहिल्यै होश पुर्याउने बेश । दैनिक सयौं सहकारी भागिरहेका छन्, बन्द भइरहेका छन्, त्यसैले सिन्सियरका बचतकर्ता र सेयर सदस्य पहिले नै चनाखो हुन जरुरी देखिएको छ ।