काठमाडौं । मधेस प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) उमा चतुर्वेदीका विश्वासपात्र रहेका बरिष्ठ सई कुवेर खतिवाडा पिए हुन् । तर, उनले मधेसका जिल्लाहरुमा आर्थिक आतंक नै मच्चाएका छन्।
मुख्यतयः सिरहा, धनुषा, महोत्तरी र सप्तरी, पर्सा, बरा, सर्लाही रौतहटलगायतको विभिन्न नाकाहरुमा आर्थिक आतंक मच्चाएको पाइएको छ । डिआईजी चतुर्वेदीको रुम पार्टनर समेत रहेका उनीदेखि मधेस प्रदेशका जिल्लाका एसपीहरू समेत डराउने गर्दछन् ।
त्यसैले सबै आर्थिक कारोबारको जिम्मेवारी र घुमुवाको नेतृत्वको जिम्मेवारीमा रहेका उनलाई डिआईजी चतुर्वेदीको आशिर्वादमा घुमुवाको उठन्तीका लागि खटाउने कमाण्डर बनाइएको थियो ।
खतिवडालाई रकम उठाउन सहयोग गर्नका लागि मधेश प्रदेशमा कार्यरत केहि सादा पोसाकका प्रहरीहरु रहेका छन् । उनीहरु पनि मधेश प्रदेश आठवटै जिल्लामा रकम उठाउन सक्रिय छन् ।
त्यतिमात्र नभएर डिआईजी चतुर्वेदीलाई गुमराहमा राखेर खतिवडाले जुवा पनि संचालन गर्ने गरेको गुनासो पनि छ ।
उनले तस्करसँग पनि पैसा उठाउने गरेको बताइएको छ । मधेस प्रदेशमा पछिल्लो समय लत्ताकपडा, चिनी, मल, केराउ, लागूऔषध, पाउडर दूध, काजु, कवाड जस्ता सामाग्रहीहरु तस्कर भइरहेको छ । तस्करीको लाइन मिलाउने काम यिनै घुमुवाहरुले गर्ने गरेका छन् ।
जसले गर्दा तस्कर र खतिवडाबीच सम्बन्धसमेत प्रगाढ भएको बताइन्छ ।
बरिष्ठ सई खतिवडा उनै व्यक्ति हुन् जो पिए भएर पनि घुमुवा नाम बेचेर पैसा उठाउने गरिरहेका छन् ।
जबकी यसअघि घुमुवाको रुपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्णदेव साहलाई दिएपनि अहिले सई खतिवडालाई दिएका छन् ।
बरिष्ठ सई खतिवाडा पावर लगाएर घुमुवाको कमाण्डर बन्न सफल भएका हुन् ।



























