वि.सं.२०८१ असोज २६ शनिवार

बझाङको छविसपाथिभेरा गाउँपालिकामा आर्थिक घोटाला, अख्तियारमा पर्‍यो उजुरी

कामै नगरी पैसो कुम्ल्याउने पूर्वमन्त्री भानुभक्तका छोराकै कन्सल्टेन्सी

बझाङको छविसपाथिभेरा गाउँपालिकामा पूर्व जनप्रतिनिधि, कर्मचारी तथा कन्सलटेन्टहरु मिलेर एक करोड ४ लाख ७० हजार बढी घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

उजुरीकर्ताले उनीहरुलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।
आर्थिक वर्ष २०७६–०७७ मा सुजुकी डी’म्याक्स कार खरिद गर्दा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ परिपालना नगरेको र सवारी साधनको मूल्य यकिन नै नभई खरिदको स्वीकृति दिएको जिकिर गरिएको छ ।

सुजुकी डी’म्याक्सको हाल बजार मूल्य ६० लाख छ । खरिदकर्ता र आपूर्तिकर्ताबीचको मिलेमतोमा त्यतिबेलै ७४ लाख ८० हजार ७ सय २३ रुपैयाँ मूल्य कायम गरिएको छ । त्यसरी कार खरिद गर्दा करिब १५ लाख घोटाला गरेको ठहर्छ । यो बोलकबोलमा एउटालाई कर चुक्ताको प्रमाण पेश गर्न लगाएर दोश्रोको बोलपत्र स्वीकृत गरी ठाडै १,८५,७८६ रकम बढी भुक्तानी गरेको देखिन्छ ।

कुरो त्यति मात्रै होइन, परामर्श सेवाको लागत अनुमान तयार गरी प्रतिस्पर्धाको माध्यमले खरिद गर्नुपर्ने ऐनको व्यवस्था लत्याएर काम गरेको भेटिएको छ । यस्तै, पालिकाले सडक र नदीजन्य पदार्थ उत्खननको लागि २ योजनाहरुको प्राविधिक परामर्श गरिदमा १९ लाख ९९ हजार ३१७ खर्चिएको छ ।

परामर्श सेवा लिंदा पनि एउटै प्रकृतिको कार्य एकै दिनमा खण्डखण्ड पारेर ५ लाखको सीमाभित्रका हाते कोटेशन लिई खरिद कार्य गरेको र एउटै कार्यको लागत अनुमान अनुकुल नहुने गरी टुक्रयाएको देखिन्छ ।

पालिकाले मष्टा इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिमार्फत जुटेरा घना जयपृथ्वी नगर मेल्लेख सडकको डीपीआर शीर्षकमा १२ लाख ९९ हजार ४३५ भुक्तानी गरेको छ । त्यस्तै, एउटै व्यक्ति संलग्न आवास इन्जिनियरिङ्ग कन्सल्टेन्सीमार्फत (आईई स्टडी अफ एसजीएस) बालुवाटार सेतीनदी क्षेत्र १ नदीजन्य पदार्थ उत्खननका नाममा ६ लाख ९९ हजार ८८२ भुक्तानी लिएको रेकर्ड छ ।

यसरी विनाप्रतिस्पर्धा १९ लाख ९९ हजा ३ सय १७ भुक्तानी गरेको छ, पालिकाले । अचम्म के भने ? रकम भुक्तानी लिएर झ्वाम भइसक्यो डीपीआर प्रतिवेदन हालसम्म पेश भएको छैन । यो विषयलाई महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ ले समेत कैफियतमा राखेको छ ।

यसमा तत्कालीन पालिका अध्यक्ष अक्कल बहादुर धामी, कर्मचारीहरु र मष्टा इन्जिनियरिङ कन्सल्टेन्सी तथा आवास इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालकको मिलेमतो रहेको निवेदकको जिकिर छ ।

राजनीतिक पहुँचको आडमा राज्य कोष दोहन
सानोतिनो आँट भएकाहरुले राज्य कोषको रकम यति सजिलै झ्वाम पार्न सक्दैनन् । त्यसका लागि कि ठूलै अपराधिक गिरोह चाहिन्छ भने कि राजनीतिक पहुँचको दुरुपयोग । छविसपाथिभेरामा पनि त्यही भयो ।

मिलेमतोमा टेन्डर पारेर राज्यकोष लुट्ने काम नेताकै घरबाट भयो भन्दा हुन्छ ।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका नेता एवं बझाङबाट प्रतिनिधि सभा सदस्य भानुभक्त जोशी कै घरबाट यस्तो घिनलाग्दो कार्य भयो । यसमा मुछिएको मष्टा इन्जिनियरिङ कन्सल्टेन्सी भानुकै जेठा छोरा लोकेन्द्र जोशीको हो । र, आवास इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत लामो हात गर्ने पनि भानु कै छोरा लोकेन्द्र हुन् ।

बाबुको राजनीतिक पहुँच दुरुपयोग गरेर छोराले राज्यलाई ‘ठेङ्गा’ देखाएको यो नै पहिलो घटना नहोला । तर, दुई चार लाखको परियोजनालाई पनि ठूलै राहत मान्नुपर्ने दुरदराजमा जनताका प्रतिनिधिले दिउँसै रात पार्नु महापराध हो ।

त्यसै त भानुभक्त पटक–पटक संसद पुगे पनि अर्थात् मन्त्री नै भए पनि बझाङको विकासका लागि सिन्कोसम्म नभाँचेको आरोप खेप्दै आएका छन् । उल्टै छोराले नाक काटेपछि सक्किगो नि ! माननीयको इज्जत कहाँ पुग्यो, भन्नुस् त ? यतिबेला भानुभक्त एकीकृत समाजवादीबाट संघ सरकारको क्याविनेट सदस्य अर्थात् मन्त्री बन्ने लाइनमा छन् । यस्तो अवस्थामा उनलाई वर्तमान सरकारले मन्त्री बनाइदिए झन् उनका छोरा, परिवार र आसेपासेको दादागिरी कस्तो होला ?

‘सल्लाहखार’राखेर झ्वाम
सुदूरपश्चिम प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ (पहिलो संशोधन समेत)ले पालिका प्रमुख तथा उपप्रमुखले सल्लाहकार राख्न पाउने व्यवस्था गरिदिएपछि चोरलाई चौतारो भने झैँ भइदियो ।

गाउँपालिका अध्यक्षले कानूनी सल्लाहकारको रुपमा दमन बहादुर भण्डारीलाई नियुक्त गरी ३ लाख भुक्तानी गरेका छन् । गैर कानूनी रुपमाले मनपरी रकम भुक्तानी दिने र लिने तत्कालीन गाउँपालिका अध्यक्ष तथा कानून व्यवसायी भनिएका दमन बहादुर भण्डारीलाई समेत कारबाही गरिनु पर्ने माग निवेदकले गरेका छन् ।