वि.सं.२०८२ मंसिर ४ बिहीवार

बझाङका बस चालककाे दादागिरी : राम्रो हाेटलमा नखुवाएर मनपरी गर्दै खाना खुवाउने !

बझाङ । बझाङबाट बाहिरिने र भित्रिने बसका चालकहरूले दादागिरी शैलीमा यात्रुलाई खाना खुवाउने क्रममा मनपरी व्यवहार गर्ने गरेको यात्रुहरूले गुनासो गरेका छन्।

बस चालकहरूले दिउँसो होस् वा राति, आफ्नै मनपरी ढंगले बस रोकी जुनसुकै होटलमा खाना खुवाउने गरेको आरोप यात्रुहरूले लगाएका छन्।

यात्रुहरूको भनाइमा चालकहरूले धेरैजसो अवस्थामा राम्रो र सफा होटलका सट्टा आफैं मिलेमतो गरेका होटलमा मात्रै बस रोकी यात्रुलाई खाना खान लगाउँछन्। यो समस्या नयाँ भने होइन। वर्षौंदेखि यात्रुहरूले यस्तै किसिमको पीडा सहनु परेको उनीहरूको भनाइ छ।

बझाङ भित्रिने र बाहिरिने अधिकांश बसले भातकाडा क्षेत्रतर्फका होटलहरूमा खाना खुवाउने गर्छन्।

ती होटलहरूमध्ये कतिपयमा बस चालकहरूको आफ्नै ‘नियम’ कायम भएको यात्रुहरूको दाबी छ। एउटै होटलमा एकैपटक दुई–तीनवटा बसले यात्रु उतार्दा होटलको क्षमताभन्दा बढी भीड हुने, खाना पाउन ढिलो हुने र सेवाको गुणस्तर कमजोर हुने गरेको उनीहरूले बताएका छन्।

पहिलेदेखि उक्त क्षेत्रमा होटलको संख्या कम थियो, जसका कारण सबै बसहरू एउटै होटलमा रोकिन बाध्य थिए।

तर अहिले भातकाडा क्षेत्रमा प्रशस्त होटल खुलेका भए पनि चालकहरूले अझै पनि आफ्नै स्वार्थपूर्तिका लागि पुरानै होटल रोज्ने गरेको यात्रुहरूको आरोप छ।

खाना खुवाउने क्रममा भात राम्रोसँग नपाक्ने, कहिलेकाहीँ औषधि मिसावट भएको शंका लाग्ने, रोटी समयमा नदिने जस्ता समस्या बारम्बार देखिने गरेको यात्रुहरूको भनाइ छ।

हामी बाध्य भएर त्यही होटलमा खानुपर्छ, विकल्प छैन, एक मस्टा गाउँपालिकाका यात्रुले दुखेसो पोखे।

सादा खानाको २ सय लग्ने र मासु खानाको ३ सय लगेपनि पैसा अनुसारको खाना नै नखुवाउने यात्रुले बताएका छन् ।

यात्रुहरूले बस चालक र सहचालकहरूलाई यात्रुको स्वास्थ्य र सुरक्षाप्रति संवेदनशील हुन आग्रह गरेका छन्।

उनीहरूका अनुसार यात्रु भनेका भगवान हुन्, त्यसैले उनीहरूको सम्मानका साथ सेवा गर्न सबै चालकहरू जिम्मेवार हुनुपर्छ।

यस्ता समस्या बझाङमा मात्र नभई सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पनि देखिँदै आएको यात्रुहरूको गुनासो छ।

सम्बन्धित निकायले यस विषयमा निगरानी र आवश्यक कारबाही गर्नुपर्ने माग समेत यात्रुहरूले गरेका छन् ।