वि.सं.२०८२ मंसिर १ सोमवार

खापुङको इगोमाथि कार्कीको न्याय: विश्व अधिकारी बढुवा सिफारिस

लामो समयदेखि बढुवाबाट वञ्चित एसएसपी विश्व अधिकारीलाई अखेर न्याय मिलेको छ। आज बसेको प्रहरी बढुवा समितिको बैठकले अधिकारीलाई डिआइजी (DIG) पदका लागि सिफारिस गरेपछि प्रहरी संगठनभित्र ठूलो राहत र खुशी छाएको छ।

यसअघि तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले अधिकारीलाई बढुवामा रोक्दै अन्याय गरेको आरोप लागेको थियो। बढुवाको क्रमसूचीमा अधिकारी नम्बर १ मा रहेका भए पनि, व्यक्तिगत मनोमानी र इगोका कारण खापुङले उनलाई रोकिदिएका थिए।

खापुङको सो कदमलाई प्रहरी संगठनभित्रै अत्यधिक आलोचना गरिएको थियो। धेरैले गाउँले एसएसपीलाई डिआइजी बनाउन अधिकारीको हक खोसिएको घटना भनेर व्याख्या गरेका थिए। यसै कारण उनका निर्णय र नेतृत्व शैली विवादित बनेका छन्।

नयाँ प्रहरी प्रमुख कार्की नेतृत्वमा बसेको बढुवा समितिको बैठकले प्रक्रिया, योग्यता र सिनियोरिटीको आधारमा न्यायसंगत निर्णय लिएको बताइएको छ। कार्कीको नेतृत्वमा आएको यो कदमलाई सही व्यक्तिले न्याय पाएको सकारात्मक पहलकदमीका रूपमा हेरिएको छ।

प्रहरी संगठनभित्र अधिकारीको व्यावसायिकता, इमान्दारी र क्षमताको प्रशंसा गर्दै धेरैले बधाई दिएका छन्।