काठमाडौँबाट बझाङ जाँदै गरेका साइपाल एफएम बझाङका पत्रकार गणेश धामीमाथि सोमबार डडेल्धुराको भातकाँडा क्षेत्रस्थित एक होटलका तीन जनाको समूहले हातपात, धम्की र अभद्र व्यवहार गरेका छन् ।
बझाङ्गी समाज काठमाडौद्वारा आयाजित शुभकामना तथा साैराइ कप २०८२ काे भलिबल प्रतियोगिता समापनपछि खप्तड यातायातको बसमार्फत बिहान करिब साढे १० बजे बझाङतर्फ जाँदै गरेका धामीमाथि भातकाँडा क्षेत्रकै ‘सान्दार’ नामक भट्टको होटलमा घटना भएको हो।
यात्रुहरूलाई खाना खुवाउन बस त्यही होटलमा रोकेपछि उनीमाथि आक्रमण गरिएको धामीले बताए।
धामीका अनुसार होटलका तीन जना व्यक्तिहरू बसभित्रै आएर उनलाई बाहिर निस्कन दवाव दिँदै “घिसारेर निकाल्नु नपरोस्” भन्ने किसिमका धम्की दिएका थिए। त्यसपछि उनीहरूबाट मोबाइल समेत कब्जा गरी, अघिल्लो समाचार मेटाउन जबर्जस्ती गराइएको थियो। “उनीहरूले मेरो घाँटी समातेर बसबाट बाहिर निकाले, जथाभावी गाली गरे, मुछे, धम्की दिएकाे धामीले बताए।

पत्रकार धामीमाथि समूहले जबर्जस्ती भिडियोसमेत खिचेको र अपमानजनक शब्द प्रयोग गर्दै बदनाम गर्ने प्रयास गरेको उनले आरोप लगाए। घटनाकै समयमा उपस्थित बसका चालक वा सहचालकले आफूलाई कुनै प्रकारको सुरक्षा नदिएको धामीको गुनासो छ।
धामीले केही दिनअघि यात्रुहरूले बस चालकमाथि राम्रो होटलमा नल्याई मनपरी ढंगले खाना खुवाउने गुनासोसम्बन्धी समाचार सम्प्रेषण गरेका थिए। उक्त समाचारप्रति असन्तुष्ट भएकै कारण आफूमाथि यो आक्रमण भएको उनको भनाइ छ।
यस्तो थियोे समाचार
बझाङका बस चालककाे दादागिरी : राम्रो हाेटलमा नखुवाएर मनपरी गर्दै खाना खुवाउने !
“मैले कुनै होटल विशेषलाई लक्षित गरेर समाचार लेखेको थिइनँ। यात्रुहरूको प्रत्यक्ष अनुभूति र गुनासो आधार बनाएर तथ्यसहित समाचार लेखेको थिएँ,” उनले भने। “तर तीन जनाको समूहले पत्रकारितामाथि नै प्रहार गरेजस्तो हुँदै मेरो मानमर्यादामाथि असभ्य व्यवहार गरे।
उनीका अनुसार आफू एक्लै भएकाले प्रतिकार गर्न नसकेको, मौन रहनुपरेको र यात्रुको रूपमा मात्र सुरक्षित भएर बझाङ पुग्न सोचेर चुप बसेको बताए। “म पत्रकार हुँ, गल्ती हुन सक्छ, तर गलत गर्दिन। सत्य घटनालाई समेटेर लेखेको मात्र हुँ,” धामीले भने।
घटना बझाङ पुगेपछि कानुनी प्रक्रियाबाट अघि बढ्ने धामीको भनाइ छ।
आक्रमण, जबर्जस्ती, धम्की र मोबाइलमा हस्तक्षेप जस्ता कार्यहरू नेपालका प्रचलित कानुन अनुसार फौजदारी अपराधमा पर्छन्।
घटनाबारे सम्बन्धित निकाय, पत्रकार महासंघ र सुरक्षासँग सम्बन्धित निकायलाई माैखिखरुपमा जानकारी दिइसकेको धामीले बताएका छन्।





























